फौजी इन्जिनियरको चुनाव मोह

समाधान संवाददाता २०७६ मंसिर ३ गते १४:५१

अमृत सुवेदी
पोखरा

‘लु है म त भोट माग्न आयो । नेपालमा कुनै पनि पोलिटिकल पार्टीले राम्रो काम गरेन । जम्मैले देशको सिस्टम बिगार्‍यो । म सिस्टम बदल्नुपर्छ भनेर भोट माग्न आएको छु,’ धर्मराज गुरुङले मतदाता फकाउँदै थिए ।

पोखरा–१५ हिमाली टोलमा सोमबार बिहान गुरुङ लवजमा मतदातासँग भोट माग्दै गरेका यी व्यक्ति हुन्, नेपाल समाजवादी पार्टीका उम्मेदवार । लामो समय बेलायती सेनाको रुपमा काम गरेका यी फौजी देशमा बिग्रेको राजनीतिक तथा सुशासनको सिस्टम देखेर मन पालेको बताउँछन् । देशको बिग्रेको सिस्टम बदल्ने जोसका साथ कास्की क्षेत्र नम्बर २ मा चुनावी प्रचारमा अभियानमा छन्, धर्मराज ।

Advertisement

१५ वर्ष युनाइटेड नेसनमा काम गरेका समाजवादीका उम्मेदवार धर्मराजको भोट माग्ने शैली भिन्न छ । बीच्चबीच्चमा अंग्रेजी शब्द मिसाउँछन् । गुरुङ लवजमा ठेट कुरा बोल्छन् । लामो समय ब्रिटिस आर्मी र युएनमा इलेक्ट्रिेक इन्जिनियरका रुपमा काम गरेका धर्मराज आश्वासन ज्यादा आश्वासन बाँड्दैनन् । यो गर्छु, त्यो गर्छु भन्दैनन् ।

भोट माग्ने शैलीमा अभिनय देखिँदैन, बनिबनाउ हरफ घोकेर घरदैलो गरिरहेका देखिएनन् । भन्छन्, ‘म त गुरुङको छोरो धेरै बोल्न जान्दैना हेर्नुस् । देश क्वालिटी नभएर बिग्रेको हो । पार्लियामेन्टमा क्वालिटी मान्छे चाहिन्छ । मैले धेरै देशको विकासलाई देख्यो । अनि नेपाल हे¥यो । हैन नेपाल त बिग्रने भयो भनेर दुख लाग्यो । यसपालि भोट हातमा हाल्नुस्, म सरकारलाई संसदमा पुगेर भन्छु ।’

Advertisement

धर्मराज अब नेपालमै समाजसेवा गर्छु भनेर फर्केको १० वर्ष भएछ । अनि नेपाल फर्किएको केही समयमै कसरी उनले समाजवादी पार्टी रोजे र उम्मेदवार बने त ? धर्मराजले यसको राज खोले ।

उनी झन्डै डेढ वर्षअभिमात्रै बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालमा जोडिएका रहेछन् । ‘बाबुरामसँग भेटें, कुरो गरें । मेरो विचार मिल्यो । मलाई सबैभन्दा एट्राक्सन के भयो भने उहाँको सिम्प्लिसिटी । मलाई पनि त्यस्तै पन पर्छ,’ उनले भने, ‘सामान्य जीवन नै बाँच्ने हो । म पनि नाटकझाटक जान्दैन ।’

बाबुरामसँग भेट्नुअगाडि बाबुरामको नेतृत्वमा काठमाडौंको सडक फराकिलो बनाएको पनि चाल पाएपछि धर्मराज उनीसँग आकर्षित भएका रहेछन् । बाबुरामसँग कुरा मिल्नुको अर्को कारण, इन्जिनियरिङ फिल्ड पनि रहेछ । ‘उहाँ इन्जिनियरिङ फिल्डको मान्छे म पनि त्यही फिल्डमा लामो समय बितायो । हामी मिल्यो र केही नयाँ गर्न सक्यो भने देशको सिस्टम बदल्न सकिएला भनेर पार्टीमा लागें,’ धर्मराजले भने, ‘संघीय समाजवादीसँग पार्टी मिल्यो र अहिलेको चुनाउमा मलाई टिकट मिल्यो ।’

संसदमा पुगेर कानुन बनाउनुपर्ने सांसदले अरुअरु काम गरेकै कारण देशले फड्को मार्न नसकेको उनको ठम्याइ छ । सांसदले नीति बनाउने त्यही नीतिअनुसार विकास निर्माणदेखि सारा काम चल्नुपर्नेमा नेपालमा नेताले भनेअनुसार सबै काम चलेकाले विकास नभएको गुरुङ बताउँछन् ।

ब्रिटिस आर्मी र युएनमा धर्मराजले इलेक्ट्रिक डाटाबेसमा काम गरेका रहेछन् । ‘म इलोक्ट्रोनिक्स र आइटी इन्जिनियर हुँ । मैले युएनमा अफिसलाई कसरी प्रभावकारी बनाउने, टेलिकम्युनिकेसनको काम गरें । कसरी डाटाबेसमा काम गर्ने भन्ने अनुभव गरें, सबको प्रोफइल बनाएर कसरी प्लानिङअनुसार काम गर्ने भन्ने काम गरें’ धर्मराजले भने, ‘सबैभन्दा महत्वपूर्ण नै कम्युनिकेसन हो । हाम्रो देश कम्युनिकेसनमा धेरै कमजोर छ । नेपालमा डेटा म्यानेजमेन्ट साह्रै दया लाग्दो छ ।’

गतिलो सांसद चुनिएर नगएकै कारण आज प्राविधिक क्षेत्रमा काम गरेका हजारौं युवा पलायन भइरहेको र हरदिन विदेश जाने प्रक्रिया अगाडि बढाइरहेको धर्मराजको बुझाइ छ ।

विश्वका थुप्रै देश डिजिटल युगमा प्रवेश गरिरहेका बेला नेपाल कहाँनेर भनेर गर्न सरकारका निकायलाई हेरे पुग्ने उनी बताउँछन् । ‘कसले कसको जग्गा खाइदियो । अरुकै नाममा गराइदियो भनेर समाचार आउँछ । सप्पै लालपूर्जा नक्सा, डिजिटलाइज गरेर डाटा बैंकमा राखियो भने पो हुन्छ,’ धर्मराजले भने, ‘नेपालमा स्ट्रक्चर नै बनेको छैन । एउटा पोलिटिकल स्ट्रक्चर भताभुंग छ, अर्को सुशासन र विकासको स्ट्रक्चर नै छैन ।’

सुशासनका लागि ढिलासुस्ती र घुस खाने कर्मचारीलाई तत्काल फालेर अर्को हाजिर गर्न सक्ने खुबी सरकारमा हुनुपर्ने उनको विदेशी अनुभव । घरदैलोका क्रममा धर्मराजले देश नातावाद, कृपावाद, पार्टीवादले बन्न नसकेको बताउँदै अब त्योभन्दा माथि उठ्न आग्रह गर्छन् ।

युनाइटेड नेसनमा काम गर्दा रुवान्डा, केन्या, इथियोपिया, जिम्बाबे जस्तै धेरै अफ्रिकन गरिब भनिएका देशको सरकार र त्यहाँ प्रणालीलाई नियालेको गुरुङले सुनाए । ‘गरिब भनेको त्यो देशहरुले पनि अहिले आर्थिक वृद्धिदर र विकासमा फड्को मारिरहेको छ । मैले देखेको केही न केहीको रुवान्था, इथियोपिया जस्ता देशले अहिले आर्थिक वृद्धिदर बढाइरहेका छन्,’ धर्मराजले भने, ‘तर, नेपालको विकासे मोडल नै ठिक भएन ।’

विकास र सुशासनका लागि पोजेटिभ अधिनायकवाद चाहिने अनुभव आफूले गरेको गुरुङले बताए । ‘जसले विकास निर्माण गर्दैन र जनतालाई दुख दिने काम गर्छ, तिनलाई फिल्टर गर्दै लैजानुपर्छ,’ उनले भने, ‘राम्रो कामका लागि हुने अवरोधले पनि यहाँ विकास भएन ।’

चुनावमा चन्दा उठाएर करोडौं पैसा खर्च गर्ने र सांसद भएपछि त्यो पैसा उठाउन लाग्ने भएकाले देश बिग्रिएको गुरुङले बताए । ‘मलाई कसैले पैसा दिन्छु भने पनि लिन्न । किनकी पैसा दिनेको त्यहाँ स्वार्थ जोडिन्छ,’ धर्मराजले मतदातासामु आग्रह गरे, ‘इलेक्सन जितेपछि मात्र जनतासम्म पुगेर संवादबाट केके आवश्यकता छ, के गर्ने भन्ने प्ल्यान गरेर पेश गर्ने हो । चुनाव जितेपछिमात्र प्रोजेक्ट बनाउने हो । यहाँ भोट मान्न आउँदा पनि यो गर्छु, त्यो गर्छु भनेर झुठो कुरा गरेका छन् । आश्वासन नपत्याउनुस् । पैसा नलिनुस्–नदिनुस् ।’

आफ्नो ४ पुस्तादेखि समाजसेवा र निस्कलंक परिवार भएको धर्मराजको दाबी छ । उनकाअनुसार धर्मराजका बाजे नेपाली सेनामा कालीबहादुर पल्टनका वैद्य थिए । अवकासपछि उनकै पहलमा पोखरा अर्मलामा वैद्यखाना चलाएका थिए । ‘मलाई वैद्यको नाति भनेर जम्मैले चिन्थ्यो । मेरो बुवा चाहिँ भारतीय सेना हुँदा लडाइँका बेला जर्मनले पक्रेर लग्यो र इटालीबाट भाग्नुभएछ । उहाँ ९ महिना त जंगलमा घाँस नै खाएर बाँचेर फर्केपछि गाउँकै सेवा गर्नुभयो । म पनि एउटा अनुभव बटुलें, नोकरी गरेर समाजसेवामै फर्केको छु,’ उनले भने, ‘मलाई १ रुपैयाँको लोभ छैन । समाजसेवासँगै राजनीति पनि गर्नुपर्छ भनेर आएको हुँ ।’

जवानी र लोमो समय उमेरको ऊर्जा विदेशमा खर्च गरेर अहिले राजनीतिमा आयो भन्छन् नि ? प्रश्नपछि उनी अलि कड्किए । ‘मैले के देशलाई बिगारेको छु । म विदेश बसेर कमाए पनि देशको योगदान गरेकै थिएँ । ब्रिटिस सेनाबाट अवकास लिएपछि युनाइटेड नेसनमा नेपाली बनेर अनुभव बटुलें,’ उनले भने, ‘बरु देशमा भाकाले राम्रो राजनीति नगरेर अब मेरो ठाउँबाट पनि प्रयार गर्नुपर्छ भनेर आएको हुँ ।’

नेपालको राजनीतिक संस्कार नबदलिएसम्म देश नबदलिने धर्मराजको बुझाइ छ । राजनीतिक संस्कार बदल्न जनताले आफूलाई जिताउनेमा उनले विश्वास व्यक्त गरे । ‘यहाँ एउटै पार्टी र मान्छेलाई सधैं भोट हाल्ने कल्चर अन्त्य हुनु जरुरी छ,’ उनले भने, ‘यसपालि जनताले हात चिह्नमा भोट हाल्नेछन् ।’ आफू बोलेर होइन काम गरेर देखाउने मान्छे भएको धर्मराज बताउँछन् ।

शिक्षित युवाले देशको राजनीति बदल्नुपर्ने उनको पनि बुझाइ छ । तर, पार्टीको प्रभावका हिसाबले कास्की क्षेत्र नम्बर २ मा समाजवादीको पक्षमा ठूलो मत आउने देखिँदैन । तर, उनले बढी नै मत ल्याउने आधार देखेका छन् ।

जातीय सम्बन्धले पनि केही मत तान्ने समाजवादीको अनुमान छ । गुरुङहरुको जिल्ला भनेर चिनिने कास्कीमा यस पटकको उपनिर्वाचनमा एक जना पनि गुरुङ छैनन् । अर्को धर्मराजको जन्मघर अर्मला अर्थात कास्की क्षेत्र नम्बर २ को उपल्लो क्षेत्रबाट पनि अरु उम्मेदवार चुनावी मैदानमा छैनन् । यसका आधारमा पनि धर्मराजलाई हौसला मिलिरहेको छ ।

यसअघिको चुनावमा संघीय समाजवादी पार्टी र नयाँ शक्तिका बेग्लाबेग्लै उम्मेदवार थिए । अहिले यी १ पार्टी १ भएका हुन् । गएको निर्वाचनमा संघीय समाजवादी कास्की २ मा ३ सय ४० मत ल्याउँदै पाँचौं भएको थियो भने र नयाँ शक्ति २ सय ८३ मत ल्याउँदै छैटौं भएको थियो । समाजवादी सत्ता साझेदार गरिरहेको मुलुकको तेस्रो पार्टी हो । २ पार्टी १ भएर निर्वाचनमा जाँदा पनि कास्कीमा जित्ने संभावना नजिक नरहेको विश्लेषक बताउँछन् ।

समाजवादीका धर्मराज भने भन्छन्, ‘जनताले नेकपा सरकारले राम्रो काम गरेन भनिरहेका छन् । अनि जनता शिक्षित पनि भइसके । काम गर्ने मान्छे खोजिरहेका छन् । चुनाव हो, मैले जित्न पनि के बेर भो र ?’

तपाईको प्रतिक्रिया