गाह्रो भए कांग्रेस बाहिरिन्छ, प्रधानमन्त्रीकै टिम बनाऔं : विश्वप्रकाश शर्मा

समाधान संवाददाता २०८२ वैशाख ४ गते १७:४६

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले काम गर्न कांग्रेसका कारण अप्ठ्यारो परेको हो भने प्रधानमन्त्रीले खुलेर भन्न आग्रह गरेका छन्।

उनले कांग्रेस सत्ता साझेदार भए पनि सरकारका कमजोरीप्रति प्रश्न गर्नुपर्ने भूमिकामा रहनुपर्ने बताए। सरकारको सफलताका पक्षमा बोल्नु आफ्नो दायित्व भएको समेत उनले स्पष्ट पारे।

“कांग्रेस सरकारबाट बाहिरिए पनि विपक्षीको हैसियतमा होइन, सत्ता पक्षकै बेन्चमा बसेर सहयोग गर्नेछ। साथसाथै कमजोरीप्रति प्रश्न पनि गर्नेछ,” उनले भने, “भोलि कांग्रेसको प्रधानमन्त्री भएमा कांग्रेसको टिम हुनेछ, एमाले बाहिर बसेर सहयोग गर्नेछ, र कमजोरीप्रति प्रश्न उठाउनेछ।”

Advertisement

शर्माले प्रधानमन्त्री जसको हो, सरकार पनि त्यसकै टिमले चलाउनु उपयुक्त हुने धारणा राखे। उनले भने, “जो प्रधानमन्त्री, उसैको टिम बनाऔं। यदि कांग्रेसका मन्त्रीहरूले काम गर्न गाह्रो पारेका छन् भने प्रधानमन्त्रीले भन्नुपर्छ।”

उनले एमाले नेतृत्वको सरकार हुँदा एमालेले पूर्ण टिम बनाएझैं कांग्रेस नेतृत्वमा पनि त्यसरी नै अघि बढ्न सकिने बताए। “बरु, साना दलसँग सहकार्य गरेर कांग्रेस बाहिरिन तयार हुन्छ,” उनले भने।

Advertisement

सरकार सफल होस् भन्ने चाहना राख्दै शर्माले गलत कामप्रति सतर्क गराउने भूमिका निर्वाह गर्ने बताए। सबैभन्दा राम्रो उपाय भनेको सरकारको गति बढाउनु नै भएको उनको भनाइ थियो।

“सरकार ढिलो भयो भनेर इफ–बट या इन्तु–परन्तु गर्नुको सट्टा गति बढाउनेतर्फ लाग्नुपर्छ,” उनले भने, “दोषारोपण गरेर फाइदा हुँदैन।”

तपाईको प्रतिक्रिया