कुलपति तिवारीलाई सम्मान

समाधान संवाददाता २०८२ वैशाख ६ गते १९:०२

लेखनाथ । नागरिक परोपकार समन्वय संस्था कास्कीले गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त भएका प्रा. डा. इन्द्रप्रसाद तिवारीलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ ।

Advertisement

नयाँ वर्ष २०८२ को अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट कुलपतिमा नियुक्त हुनु भएका संस्थाका पूर्व सल्लाहकार तथा आजीवन सदस्य तिवारीलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको हो ।

कार्यक्रममा कुलपति तिवारीले गण्डकी विश्वविद्यालयको शैक्षिक विकासका लागि यस प्रदेशभित्र रहेका सबै सामाजिक संघ–संस्थाको सहकार्यमा अगाडि बढाउने र उच्च शिक्षाका लागि अन्य प्रदेशबाट पनि गण्डकी प्रदेशमै आउने गरी शैक्षिक गुणस्तरको विकास नै आफ्नो लक्ष्य रहेको बताएका थिए ।

सोही अवसरमा संस्थाका संरक्षक एवं वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, निवर्तमान अध्यक्ष चिरञ्जीवी तिवारी, सल्लाहकार बाबुराम गिरीले गण्डकी विश्वविद्यालयले खुलामुखी शिक्षा र स्वदेशमै रोजगार सिर्जना हुने खालको शिक्षा दिन सक्नुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष देवराज पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शिवराज सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया