गण्डकी प्रदेश सभामा दिपक मनाङ्गे ‘भुत’

समाधान संवाददाता २०७५ माघ १६ गते ११:४७

गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठक पनि सोमबार सपथ खाएका राजीव गुरुङ(दीपक मनाङे) माथि नै बढी केन्द्रित भयो । सोमबार सपथ लिएर भोलिपल्ट पहिलो पटक संसद छिरेका मनाङेले आफूमाथिको व्यंग्य र विरोध स्वतन्त्र लेखिएको कुर्चीमा बसेर सुनें ।

संसदको दायाँ भागमा सत्ता पक्ष सांसद बस्ने पंक्तिको पुछारमा स्वतन्त्र लेखिएको कुर्ची राजीवका लागि तयार गरिएको थियो । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपालका नेताले राजीवको सपथप्रति आपत्तिमात्रै जनाएनन्, सभामुखले विवेकको नाममा लोकतान्त्रि मूल्य मान्यताको खिल्ली उडाएको समेत बताए ।

कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले मनाङेको सपथले संसदीय मर्यादा कमजोर भएको आरोप लगाए । उनीहरुले बैठकमा विशेष समय लिएरै सपथ प्रकरणको विरोध जनाए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले राजीवलाई सपथ खुवाएर सभामुखले गलत निर्णय गरेको आरोप लगाए । कानुनी अधिकारका नाममा सल्लाह नै नगरी सुटुक्क सपथ खुवाइएकोप्रति उनले आपत्ति जनाए । राजनीतिक दवाबमा परेर सभामुखले संसदको गरिमा घटाएको उनको भनाइ थियो ।

Advertisement

राष्ट्रिय जनमोर्चाका संसदीय नेता कृष्ण थापाले पनि सपथप्रति दलका तर्फबाट आपत्ति जनाए । जनप्रतिनिधि विवादित हुन नहुने तर्क राख्दै थापाले भने, ‘जनप्रतिनिधि धोएको मुलाजस्तो सेतो हुनुपर्छ र उसमा नैतिकता हुनुपर्छ ।’ नयाँ शक्तिका हरिशरण आचार्यले विवादित विषयमा निर्णय गर्दा पुराना नजिरहरु हेर्नुपर्नेमा त्यसो नगरिएको बताए । यसरी सपथ होला भनेर नसोचेको उनको धारणा थियो ।

मंगलबारको बैठकमा शून्य समयमा डोबाटे बिक र विशेष समयमा कुमार खड्काले जिपी श्वासप्रश्वास अस्पताललाई सरकारले नसमेटेको बताइरहँदा संघीय सरकारले यसको सम्बोधन गरिसकेको थियो । सांसद खड्काले संघीय सरकारको काम र आचरण अलोकन्त्रिक बन्दै गएको बताए । प्रदेश सभा सदस्य मणिभन्द्र शर्माले निर्माणाधीन पोखरा–बागलुङको अवस्थाबारे सरकारलाई सचेत गराए ।

Advertisement

सांसद विनोद केसी राजीवको सपथ र सरकारको बचाउमा बोले । सांसद इन्द्रलाल सापकोटाले बागलुङको ढोरपाटन र निसीखोला आसपासमा हिमपातले टेलिफोन र बिजुली नै बन्द भएको जानकारी गराउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

मंगलबारको बैठकले २ महत्वपूर्ण विधेयकलाई छलफलपछि विधायन समितिमा पठाएको छ । पर्यटनमन्त्री विकास लम्सालले प्रस्तुत गरेको औद्योगिक व्यवसाय विधेयक र ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक बैठकमा छलफलपछि दफावार छलफलका लागि विधेयक समितिमा पठाएको हो । विधेयकमाथि छलफल गर्दै सांसद मीनप्रसाद गुरुङ र डोबाटे विकले साना तथा ठूला लगानीकर्तालाई प्रोत्साहन र उद्यमको विकास गर्ने गरी विधेयक आएको बताए ।
ताल संरक्षण तथा विकास प्राधिकरण विधेयकमाथि छलफल गर्दै सांसद राजीव पहारीले प्राधिकरणले ताल, कुण्ड पोखरी लगायतको संरक्षण र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

भारतीय गाडी चढेर संसद छिरे राजीव
सोमबार सपथ लिएका सांसद राजीव गुरुङले मंगलबार पनि चर्चा र सबैको ध्यान ताने । पहिलो उनी पहिलो पटक संसद छिर्दै थिए, दोस्रो उनी भारतीय नम्बर प्लेटको गाडी चढेर दलबलसहित संसद पुगेका थिए ।

सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद हातभित्र छिर्न दिइन्छ । तर, मंगलबार भारतीय नम्बरको गाडीमा संसद भवनको पार्किङमा सांसद राजीव पुगेका थिए । यो विषय सांसदका बीच चर्चा चलिरहेको थियो । सुरक्षार्थ खटिएका प्रहरी पनि अलमलमा परे । प्रदेशसभा सुरक्षाका लागि खटिएका सई चन्द्रबहादुर खत्रीले ‘माननीय नै चढेर आएको गाडी कसरी रोक्ने ?’

बीआर ०६ पिडी ७५२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा १ सांसदले भने, ‘संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।

उनले अगाडि थपे ‘यो भाइहरुको गाडी हो । भाइ पनि होइन भाइको दिदीको, देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ?’ यो खबर सचिवालयसम्म र जिल्ला प्रहरी कार्यालयसम्म पुगेपछि मंगलबार संसद हातादेखि बाहिर पार्किङ गर्ने र अरु बेला आउन नदिने भनियो ।

भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ । उनले त्यो शुल्क बुझाएको बताउँदै भने, ‘मैले शुल्क तिरेर चढेको छु । देशले भारतको सहयोग लिन हुन म गाडी चढ्न नि नपाउने ।’ आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भारतीय नम्बर प्लेटको गाडी वा अरु कस्ताकस्ता गाडी भित्र आउन दिने भनेर नियम बसाल्ने बताए ।

तपाईको प्रतिक्रिया