१३ औं सागः मैदान, प्यारापिट धमाधम निर्माण हुँदै

तस्बिरः सुदर्शन रञ्जित
समाधान संवाददाता, पाेखरा
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आउन अब १० दिनमात्रै बाँकी छ । खेल पोखरा, काठमाडौं र जनकपुरमा हुने तय छ । पोखरा रंगशालामा हुने तय भएको महिला फुटबलका लागि अहिले मैदान पुनर्निर्माण भइरहेको छ ।
खेल आउन जम्मा १० दिनमात्रै बाँकी छँदा महिला फुटबल हुने रंगशालाका लागि बिहीबारमात्र पोखरामा दुबो आइपुगेको छ । पुनर्निर्माण भइरहेको रंगशाला मैदानका लागि कम समयमामात्रै दुबो आउँदा महिला फुटबल ‘प्रभावित’ हुने देखिएको हो । मैदानको दुबो अहिले निर्माण कम्पनीले नेपाल प्रहरीको सहयोगमा विस्थापन गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।
मैदानमा दुबो रोपेको २ हप्तामामात्रै खेलका लागि उपयुक्त हुने प्राविधिकको भनाइ छ । तर, खेल सञ्चालन हुन अब करिब १ हप्तामात्रै बाँकी छ । १३ औं सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति, पोखरा सदस्य राजेश गुरुङ भने खेल अवधिभर थप दुबो ‘स्ट्यान्डबाई’ हुने भएकाले खेललाई कुनै असर नपु¥याउने बताउँछन् ।
‘प्रत्येक दिन खेल हुन्छ । दुबोका कारण मैदान र खेललाई असर नपार्न खेल प्रत्येक खेल सकिएपछि मैदान मर्मत काम हुन्छ,’ बिहीबार रंगशाला निरीक्षणमा निस्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीलाई ब्रिफ्रिङ गर्दै गुरुङले भने, ‘साग महिला फुटबल सार्न चलखेल भइरहेको छ । हामी त्यसो हुन दिन्नौं ।’ उनले प्रत्येक खेलपश्चात ‘स्ट्यान्डबाई’ दुबोले रातभर भए पनि मैदान मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रंगशाला पुननिर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । मैदानका लागि दुबो पनि भारतबाटै ल्याइएको हो । यसअघि पटकपटक गरी दुबो नेपाल ल्याउँदा ६३ लाख रुपैयाँ खर्च भइसकेको निर्माण पक्षको भनाइ छ ।
मैदानका लागि पहिलो पटक कलकत्ताबाट ल्याइएको बर्मुडा दुबो ‘माटोसहित विदेश पठाउन नमिल्ने’ भारतीय नीतिका कारण भन्सारमा करिब १ हप्ता रोकिएको थियो । जसका कारण ल्याइएका दुबोमा खराबी देखिएकाले फेरि मगाउनु परेको जेभीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले जानकारी दिए । पटकपटक गरी अहिलेसम्म करिब ८६ हजार स्क्वायर फिट दुबो मैदानमा बिच्छ्याइसकिएको छ । तर, अधिकांश दुबो सुकेपछि पुनः विस्थापन गर्नु परेको हो ।
दुबोका लागि कोलकाताबाटै भारतीय प्राविधिक झिकाइएको थियो । उनीहरु करिब १ महिनादेखि नै पोखरामा छन् । पहिलो चरणमा असोज ९ गते पोखरा आइपुगेको दुबो अहिले हरियो भइसकेको छ । हाल विस्थापन भइरहेको दुबो सर्न भने केही समय लाग्ने देखिन्छ । तर, म्यानेजर बराल भने केही दिनमै दुबो सर्ने दाबी गर्छन् । उनले भने, ‘बाँकी रहेका दुबो बिहीबार साँझसम्मै विस्थापित गरिसक्छौं । त्यसपछि मेसिनले काटेर रोलर लगाउँदै मल छर्किंदै गरेपछि केही दिनमै हरियो हुन्छ ।’
महिला फुटबलका लागि अहिले अर्को चुनौती प्यारापिट भएको छ । करिब १० हजार सिट क्षमताको प्यारापिट बनाइने बताइए पनि हाल पहिलो चरणमा ३९ सय क्षमताको मात्रै प्यारापिट जडान गरिँदैछ छ । प्यारापिटका लागि आवश्यक पर्ने स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड समयमा नआइपुग्दा जडान कार्य पनि प्रभावित भएको हो ।
रंगशाला प्यारापिटका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड ३ दिनअघि मात्रै पोखरा आइपुगेको हो । प्रोजेक्ट म्यानेजर दीपक बरालका अनुसार पहिलो चरणमा जडान भइरहेको ३ दिनभित्र सकिनेछ । तर, बाँकी प्यारापिटका लागि अझै समय लाग्ने देखिएको उनको भनाइ छ ।
‘हामीले ए, बि, सि क्याटेगोरी बनाएर प्यारापिट जडान गर्दैछौं । सोही योजनाअनुसार अहिले ३८ सय क्षमताको प्यारापिट जडान भइराखेको हो,’ बरालले भने, ‘बाँकी क्याटेगोरीका प्यारापिट केही दिनमा जोड्न सुरु गर्छौं । त्यसलाई अझै थप समय लाग्छ ।’ उनले मैदानको बाहिरी भागमा बन्न लागेको सिन्थेटिक एथ्लेटिक ट्रयाक पनि बन्न बाँकी रहेको जानकारी दिए । साग खेल अन्तर्गत पोखरामा हुने तय भएका ९ खेलमध्ये खेलाडी अभावका कारण प्याराग्लाइडिङ नहुने भएपछि ८ वटामात्रै हुने भएका छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया