विकाससँगै पर्यावरणीय विनाश

समाधान संवाददाता २०७६ मंसिर ६ गते १६:२४

सुन्दरकुुमार थकाली
जोमसोम

समुन्द्री सतहदेखि २ देखि ५ हजार मिटरको उचाइमा रहेको मुस्ताङ पछिल्लो समय वातावरण तथा पर्यटन पदमार्ग विनाशले संकटमा पर्न थालेको छ । सरकारले सञ्चालन गरिरहेको अपरिपक्व विकाससँगै पर्यावरणीय क्षेत्रमा नकारात्मक प्रभाव परेको हो ।

पर्यटनक्षेत्रलाई असर हुनेगरी सरकारले अवैज्ञानिक ढंगबाट सडक सञ्जाल विस्तार गर्दा समस्या भएको छ । मुस्ताङको कृषि र पर्यटनले धानिएको जीवनस्तर संकटमा पर्दै गएको हो । मुस्ताङका महत्वपूर्ण पर्यटकीय पदमार्ग संकटमा परेको छ । छोटो तथा लामोदुरीको पर्यटकीय पदमार्ग स्थलमा सडक जोडिएको र मासिएकाले पर्यटकको बसाई न्यून हुँदै जान थालेको छ । अवैज्ञानिक सडक विस्तारले हिमाली क्षेत्रको प्राकृतिक सम्पदा र पर्यटनमा असर पुर्‍याएको छ । स्थानीय क्षेत्रमा शाखा सडकले पर्यटकको पदयात्रा गर्ने दुरी छोटिएको एक्याप जोमसोमले जनाएको छ । यसअघि ३ साता लाग्ने राउन्ड अन्नपूर्ण पदयात्रा अब ४ दिनमै सीमित भएको छ । लमजुङको बेसी सहरदेखि अप्पर मनाङसम्म र मुस्ताङको मुक्तिनाथदेखि पोखरासम्म सडक जोडिएकाले पर्यटकको बसाई घटेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

Advertisement

सयाैंको संख्यामा सवारी साधन मुस्ताङ भित्रिन थालेपछि कार्बन उत्र्सजनको मात्रा वृद्धि भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर यसैको कारण हुन पुगेको स्थानीयहरु बताउँछन् । चिसो भूगोलको तापक्रम दर वृद्धि भएकाले हिमालको सौन्दर्यता घट्दै गएको छ भने असन्तुलित हावापानीले कृषि र पशुपालन व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको छ । प्रकृति संरक्षण र विकास द्वन्द्वले मुस्ताङमा विभिन्न प्रकोप देखा पर्न थालेको छ । हरिया सम्पदा र जंगल फडानीले प्राकृतिक बनस्पती र बन्यजन्तु पलायन भइरहेको छ ।

तिलिचो ताल नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तब्य हो । छिमेकी जिल्ला मनाङ हँुदै विदेशी पर्यटक तिलिचो पुग्छन् । फर्कदा मेशोकोन्दो, नमखुलेक हँुदै घरपझोङको ठिनी ओर्लन्छन् । पर्यटकीय दृष्टिकोणले महत्व मानिएको तिलिचो ताललाई सहज हुने गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक खन्न थालिएको छ । ३ वर्षअघिदेखि सुरु भएको यो कच्ची सडक नमखुसम्म पुग्दैछ । जोमसोमदेखि ३ दिनको पैदलमा तिलिचो पदयात्रालाई सडकको माध्यमले दुरी न्यून गर्न थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले सडक विस्तारले तिलिचोको महत्व घटाउन खोजिएको बताए । सडक विस्तारले गन्तब्य घट्ने र प्राकृतिक स्रोत र सम्पदाको नष्ट हुने दावी गरे । उनले सडक विस्तारसँगै हिमालहरुको स्वरुप र पदमार्गहरु औचित्यहिन हुने बताए ।

Advertisement

मुस्ताङको घरपझोङ गाउँपालिकामा रिङरोड सडक विस्तार भइरहेको छ । ढुम्बादेखि चिमाङसम्म भीर र जंगल फोडेर डोजर चलाइएको छ । घरपझोङको मार्फादेखि पुल निर्माण गरे सहजै पुग्न सकिने चिमाङलाई जोड्न पछिल्लो समय रिङरोड विस्तार गर्न थालिएको हो । सडकका लागि डोजरले बाटो खनेपछि नीलगिरि देखिने पाखो फुस्रो देखिन थालेको छ । गोर्खा भूतपूर्व सैनिक तेज थकालीले विकास पूर्वाधार सञ्चालन गर्दा वातावरण संरक्षणमा ध्यान दिनुपर्ने जनाए । उनले घरपझोङमा रिङरोड आवश्यक नपरेको बताए । उनले विकास पूर्वाधारमा जोड दिनाले कृषि र पर्यटन व्यवसायमा असर पुगेको उल्लेख गरे ।

विदेशी पर्यटकका लागि महत्वपूर्ण मानिएको नेपालकै अग्रपंक्तिको राउन्ड अन्नपूर्ण पदमार्ग हो । समयक्रमसँगै राउन्ड अन्नपूर्ण पदमार्गको महत्व घटेको छ । उपल्लो मनाङदेखि थोरङलापास हुँदै पर्यटक मुक्तिनाथ निस्कन्छन् । मुक्तिनाथदेखि ठाडो उकालो हिँडेपछि थोरलाफेदी आईपुग्छ । पर्यटन दृष्टिले महत्वपूर्ण थोरङला फेदीसम्म सडक पु¥याउन थालिएको छ । केही वर्षदेखि सडक खन्न सुरु भएको यो कार्यक्रम जनगुनासो बढेपछि रोकिएको छ । एक्यापका कार्यालय प्रमुख दाहालले थोरङलामा सडक लैजान नहुने तर्क गरे । थोरलापास पर्यटकीय हिसावले संसारमा चिनिएको र यसको प्राकृतिक नेचर बिग्रने गरी सडक विस्तार गर्दा मुस्ताङलाई नै क्षति हुने दावी गरे । यस्तै, बारागुङको छुसाङदेखि कागबेनीसम्म मुख्य राजमार्ग सडक जोडिएको छ भने छुसाङदेखि तेताङसम्म सडक जोडिएको छ । पछिल्लो समय सरकारले उपलब्ध गराएको विभिन्न पूर्वाधार विकास अन्तर्गत तेताङदेखि झोङ हँुदै मुक्तिनाथसम्म सडक विस्तारको क्रम छ । तेताङ र छुसाङका लागि मुक्तिनाथ आउजाउमा कुनै समस्या देखिन्न, तर तेताङदेखि मुक्तिनाथसम्म पदमार्ग ओझेलमा पर्ने गरी सडक विस्तार गरिएकामा एक्याप चिन्तित छ ।

उपल्लो मुस्ताङमा पनि पदमार्ग संकटमा छ । कागबेनीदेखि लोमान्थाङसम्मको पदमार्गमा ४ ठाउँमा सडकले छोएको छ । मुस्ताङ हँुदै मनाङ निस्कने ४ वटा पदमार्गमा सडक परेकाले पर्यटन व्यवसायमा असर पुग्ने देखिएको हो । पर्यटन मन्त्री योगेश भट्टराईले धार्मिक स्थल दामोदरकुण्डसम्म सडक पुग्ने बताएपछि वातावरणीय क्षेत्रमा यसको वहस सुरु हुनुपर्ने एक्यापले जनाएको छ । उक्त क्षेत्रमा पर्ने यारा, घारा र सुर्खाङ लगायतका स्थानमा सडक पु¥याउने तयारी भएकाले विकास पूर्वाधारले प्रकृति विनास गर्ने भएको स्थानीयको चिन्ता बढेको छ ।

तपाईको प्रतिक्रिया