सम्पादकीय—आध्यात्मिक पर्यटनको सम्भावना

पोखरालाई भौगोलिक एवं पर्यटकीय दृष्टिमा चिनाउने धेरै सम्पदा छन् । माछापुच्छ्रे हिमालको फेदीमा फेवाताललाई काखमा लिएर बसेको पोखरा आफैमा प्रकृतिको सुन्दर उपहार हो । पोखरा आसपासका विभिन्न डाँडाकाँडाले यसको महत्वलाई अझै उचाइमा पुर्याइदिएको छ । नजिकैको सराङकोट, पुम्दीकोट, काहुँडाँडा लगायत धार्मिक एवं ऐतिहासिक महत्वका स्थानले पोखरालाई साँच्चै पोखरा बनाउन सहयोग गरेका छन् ।
यस्तै आस्थाको केन्द्र हो महाप्रभुधाम । कास्कीको आर्वा क्षेत्रस्थित महाप्रभुधाम नेपाली धार्मिक इतिहास र जनविश्वासको एक गहिरो स्रोत हो । १ सय १० वर्षअघि यहाँ ६ महिनासम्म सञ्चालन गरिएको कोटीहोम तथा त्यसको अवशेषस्वरूप सुरक्षित हवन कुण्डले यसको ऐतिहासिक महत्वलाई पुष्टि गरेको छ । स्वर्गद्वारी आश्रमबाट आएका कोपिला नन्दस्वामी महाप्रभुले सञ्चालन गरेको यज्ञ, गाइदान र समर्पणको परम्पराले यो स्थललाई कर्म, त्याग र धार्मिक चेतनाको आदर्श केन्द्र बनाएको छ । यही कारणले आज पनि हजारौं तीर्थालु यो स्थलमा आस्थापूर्वक आउने गरेका छन् ।
धामसँग जोडिएको किंवदन्ती, गुफा र पोखरी, चराचुरुंगी र जनावरहरूसँग सम्बन्धित कथाहरुले यसको आध्यात्मिक शक्ति र स्थानीय विश्वासलाई अझ बलियो बनाएका छन् । यसबाहेक वरिपरिका शिव, गणेश, र राधाकृष्ण मन्दिर, रतन पाण्डे थान र मणिद्वीपजस्ता स्थलहरूले यस क्षेत्रलाई बहुआयामिक धार्मिक पर्यटकीय गन्तव्य बनाउने सम्भावना देखिन्छ । साथै, बालाचतुर्दशीमा लाग्ने मेला, शतबीज छर्ने चलन र पूजाआजासँगै जोडिएको मौलिक परम्पराले यहाँको सांस्कृतिक गहिराइलाई उजागर गर्छ ।
महाप्रभुधामको भौगोलिक स्थान, समुद्री सतहदेखि २ हजार मिटरको उचाइमा रहेको, लालीगुराँसले ढाकिएको डाँडो, अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले गर्दा यसको प्राकृतिक सौन्दर्य पनि कम छैन । पर्यटकका लागि पोखराबाट आधा घण्टामा पुगिने दूरीमा यस्तो धार्मिक तथा प्राकृतिक सौन्दर्ययुक्त क्षेत्र हुनु पर्यटन विकासको दृष्टिले निकै लाभदायक आधार हो । पोखरा महानगरपालिका र स्थानीयको प्रयासमा संरचना निर्माण, बाटो पिच गर्ने काम र विस्तृत परियोजना प्रतिवेदन तयार हुनु सकारात्मक संकेत हुन् ।
तर, यस्तो सांस्कृतिक सम्पदायुक्त स्थललाई केवल भावनात्मक रूपमा मात्र नभई योजनाबद्ध विकास र संरक्षणको दृष्टिले पनि हेर्नु आवश्यक छ । धार्मिक पर्यटनको अपार सम्भावना बोकेको यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन स्थानीय, प्रदेश तथा संघ सरकारबीच सहकार्य अपरिहार्य छ । आस्थाको केन्द्र भएकाले यसको दीगो प्रवद्र्धन, व्यवस्थापन र प्रचारप्रसारमा सबै पक्षको सक्रियता अबको प्रमुख कार्यभार हुनुपर्छ ।
तपाईको प्रतिक्रिया