दलित, जनजाति प्रधानमन्त्री बनेको हेर्ने सपना छः डा. बाबुराम भट्टराई

समाधान संवाददाता २०७६ मंसिर ९ गते १३:१०

समाधान संवाददाता
पोखरा

समाजवादी पार्टीले उम्मेदवार धर्मराज गुरुङका पक्षमा जनमत सिर्जना गर्न र्‍याली तथा चुनावी सभा गरेको छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको मुखमा आइतबार भएको चुनावी सभामा समाजवादीका शीर्ष नेता सहभागी भएका छन् ।

सभालाई सम्बोधन गर्दै समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनजाति, दलित, थारु र मधेसी समुदायबाट देशमा प्रधानमन्त्री भएको देख्ने सपना रहेको सुनाए । खसआर्य समुदायमा पहिचानसम्बन्धी केही भ्रम रहेको बताउँदै भट्टराईले सदीयौंदेखि उत्पीडनमा परेका जनजाति, दलित, मधेसी, थारु लगायतबात अब देशमा प्रधानमन्त्री बन्नुपर्ने उनको भनाइ थियो ।

Advertisement

कतिपय मान्छेले बाबुराम त मधेसतिर गए भनेर भ्रम फैलाइरहेको पनि उनले उल्लेख गरे । ‘अस्ति गोरखा जाँदा १ जना बाहिनीले गाडी रोकेर मलाई छोडिदिनुहुन्छ भन्नुभयो । गाडीमा चढेपछि के छ त भनेर सोध्दा उहाँले दाइलाई भोट त हालेकै हो । अहिले के गर्ने खै, दाइ त मधेसतिर जानुभो भन्छन् सबैले भन्नु भो । मैले किन बहिनी मधेस जान हुँदैन । मधेस हाम्रो होइन र भनें,’ भट्टराईले भने, ‘खै यहाँ त सबैले बाबुराम त मधेसतिर लाग्नु भो भन्छन् भनिन् । एउटा गाउँको किसान महिलामाथि यस्तो भ्रम छरिएको छ । आफ्नो देशको भूभाग, आधा जनसंख्या तराई मधेसमा बस्छ, जसले अन्न नदिने हो भने हाम्रो पेट भरिँदैन । अनि बाबुराम भट्टराई मधेस गयो, उपेन्द्र यादव मधेसी भयो भन्ने ? यसरी भ्रमको राजनीति गरेर हुन्छ ?’

उपेन्द्रले नेपाली ठहरिनका निम्ति नेपाली भाषा बोल्नै पर्ने अनि पहाडेले चाहिँ नेवारी, मैथिली, थारु, बोल्न नपर्ने ? उनको प्रश्न थियो । श्रीमती नेवार, छोरी आधा नेवार, नातिनातिना हुँदा आफ्नो परिवारमा दुई तिहाइ नेवार हुँदै जाने भइसकेको बताउँदै भट्टराईले पुरानो सोच पालेर नबस्न खसआर्यलाई आग्रह गरे ।

Advertisement

उनले नेपालमा दलित, मधेसी र जनजातिबाट देशमा प्रधानमन्त्री भएको हेर्न सपना रहेको सुनाए । ‘अहिलेसम्म देशमा ३८ जना प्रधानमन्त्री भए । म ३५ औं प्रधानमन्त्री भएँ । अहिलेसम्म प्रमुख कार्यकारी पदमा मरिचमान श्रेष्ठबाहेक जनजातीको प्रधानमन्त्री किन बनेन ? मधेसको मान्छे किन प्रधानमन्त्री भएको छैन । एउटा थारु किन प्रधानमन्त्री भएको छैन ? एउटा दलित किन प्रधानमन्त्री भएको छैन ? महिला किन प्रधानमन्त्री भएको छैन ?’ भट्टराईले भने, ‘मेरो सपना छ, मेरै जीवनकालमा देख्न चाहन्छु, एउटा जनजातिको छोरो प्रधानमन्त्री होस्, एउटा दलित प्रधानमन्त्री होस्, एउटा मधेसी प्रधानमन्त्री होस्, त्यसपछि बल्ल नेपाल एकताबद्ध हुन्छ । यसलाई पागलपन भन्नुहोस् या वैज्ञानिक दृष्टिकोण भन्नुहोस् ।’

हेलमेट लगाएर झार उखेल्न ठूलो लगानी खर्चिएको भताउँदै भट्टराईले केपी शर्मा ओलीमा कुनै पनि भिजन नै नभएको बताए । रवीन्द्र अधिकारी बाँचेको भए धेरै कुरा गर्ने बताउँदै भट्टराईले गणतन्त्रमा नातावाद भन्ने नहुने उनको भनाइ थियो ।

सरकारमा पनि संघर्ष नै चलिरहेको छः उपेन्द्र
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी सरकारमा पनि संघर्ष नै गरिरहेको बताएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थमन्त्री रहेको उपेन्द्रको कानुन मन्त्रालयमा सरुवा भएको छ । समाजवादीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ ।

‘हामी संघर्ष गरिरहेका छौं । भन्नुहोला, सरकारमा पनि बस्ने र संघर्ष पनि भन्ने ? सदनमा पनि संघर्ष गरिरहेका छौं । सरकारमा पनि संघर्ष चलिरहेको छ । सडक संघर्षलाई मूल संघर्षका रुपमा लिएका छौं,’ यादवले भने ।

धर्मराजलाई भोट माग्दै यादवले संघीयतालाई बलियो बनाउन समाजवादीले काम गर्ने बताए । सुशासन कायम गर्न, सबैखाले विभेद अन्य र पछौटेपनलाई समाप्प गर्दै समाजवादको बाटोमा देशलाई लैजान काम गर्ने बताए ।

नेपालको अर्थतन्त्रमा गोर्खाहरूको ठूलो योगदान रहेको उनको भनाइ थियो । विज्ञ र तिनै गोर्खाहरूको प्रतिकका रूपमा इन्जिनियर धर्मराजलाई कास्की–२ मा उठाएक यादवले बताए । संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उम्मेदवार धर्मराज गुरुङ लगायतले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया