‘आचारसंहिता पालना गर्न प्रतिबद्ध’

समाधान संवाददाता २०७६ मंसिर ९ गते १३:२६

समाधान संवाददाता
पोखरा

कास्की २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्न प्रतिबद्धता जनाइएको छ । निर्वाचनमा सहभागि राजनीतिक दलले सर्वदलीय बैठकमा आचारसंहिता उल्लघंन गर्न नदिन आफैंबाट सुधारको खाँचो औल्याएका छन् ।

कास्कीमा विशेष गरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट आचारसंहिता उल्लंघन भइरहेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन कार्यालय कास्कीमा उजुरी दिइरहेको सन्दर्भमा पनि बैठक बसी साझा प्रतिबद्धता जनाइएको हो । चुनाव नजिकिँदै जाँदा मतदातालाई प्रभावमा पार्ने काम रोक्न समेत सर्वदलीय बैठकले सहमति गरेको छ ।

Advertisement

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले निर्वाचनको मिति नजिकिँदै जाँदा सबै दलहरुले स्वस्थ्य रुपमा भाग लिनुपर्ने बताए । निर्वाचनमा कहाँ कसरी आचारसंहिता उल्लघंन भइरहेका हुन्छन् त्यसबारे आफैंलाई हेक्का नरहने हुँदा तत्काल सम्पर्क गरेर सुझाव दिन अध्यक्ष थापाले आग्रह गरे । ‘कास्कीको उपनिर्वाचनलाई मोडल चुनावको रुपमा सम्पन्न गर्नुपर्छ,’ उनले भने ।

सत्तापक्षका दलबाट विकास निर्माणका नाममा भइरहेका आचारसंहिता उल्लघंनका विषयलाई बैठकमा राखिएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । ‘फिर्केखोलाको मापदण्डमा भएको महानगरसहितको सम्झौता, वडा १५ मा बाँडिएको कम्मलका विषय लगायत अन्य केही विषय राख्यौं,’ उनले भने, ‘आगामी दिनमा त्यस्ता विषय नदोहोर्‍याउन समहति भएका छ ।’ निर्वाचनप्रति जनताको विश्वास बढ्ने गरेर उपनिर्वाचन सम्पन्न गराउन कांग्रेससहितका दल सहमत भएको उनले बताए ।

Advertisement

‘कोही कसैले पनि भोलिका दिनहरुमा आचारसंहिता उल्लघंन नगर्ने गरी जाने र भएमा जहाँको तहीँ करेक्सन गरेर जाने कुरामा प्रतिबद्ध छौं,’ सभापति केसीले भने, ‘सत्तापक्षकालाई अझ जिम्मेवार भएर आचारसंहिता पालना गर्न भनेका छौं ।’

बैठकमा सहभागी कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले निर्वाचनलाई स्वच्छ, पारदर्शी र धाँधलीरहित बनाउन सबै दलले नियम मान्नुपर्ने बताए । ‘मतदातालाई प्रभावमा पार्ने गतिविधि सबै दलले रोक्नुपर्छ,’ उनले भने, ‘धाँधलीरहित चुनाव सम्पन्न गर्न सबै दल मिलेर सकारात्मक सन्देश दिनुपर्छ ।’
बैठकमा साझा पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कांग्रेस (बिपी)का तर्फबाट सहभागी प्रतिनिधिले आचारसंहिता पालना गर्न ठूला दल नै गम्भीर हुनुपर्ने बताएका थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा ११ गते राति १२ बजेदेखि मौन अवधि लागु हुन्छ । उक्त मौनअवधिमा प्रचार गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया