पुल छ, बाटो छैन, शव लैजान सास्ती

समाधान संवाददाता २०८२ वैशाख २३ गते ३:४४

लेखनाथ । कुनै जमानामा शिशुवा–शिशाघाट सडक हुँदै तत्कालीन राजा महेन्द्रले देउराली बजारसम्म जिप हुइकाएर यात्रा गरेका थिए। पृथ्वीराजमार्ग निर्माण हुनु अघि, पोखराबाट काठमाडौँसम्मको वैकल्पिक सडक यही शिशुवा–शिशाघाट हुँदै हालको मध्यपहाडी राजमार्गसम्मको सडक थियो। यही सडकको किनारमा देउराली बजार त थियो नै, बीचमा सातमुहाने र माथिल्लो भागमा शिशुवा पुरानो बजारका रूपमा रहेको थियो।

Advertisement

पृथ्वीराजमार्ग बनेपछि सातमुहानेका केही व्यापारी खुदीखोला पारि सरे र गगनगौंडालाई व्यापारिक केन्द्र बनाए। राजमार्ग बन्नुअघि सानो बजार रहेको गगनगौंडा, सुविधाका कारण फस्टायो। तर सातमुहानेले भने आफ्नो धर्म निभाइरह्यो—कास्कीको पूर्वी भेगमा लत्ता–कपडा, नुन, तेल र रासन पुर्‍याउँदै। तनहुँको थप्रेक, चौविसना, सेरावेसीसम्मका बासिन्दा सातमुहानेमै बस्तु किन्न आउँथे।

तर राजमार्ग पारि विस्तार हुँदा सातमुहाने सुस्ताउँदै गयो र गगनगौंडाले व्यापारिक रौनक लियो। गगनगौंडा र सातमुहानेको सम्बन्धमा अवरोध बने तीनवटा खोला, जसले वर्षायाममा धेरैलाई निल्यो। तीजमा माइत आएकी चेली समेत खोलाले बगाएको घटना स्मरणीय छ। खोला तर्ने अस्थायी संरचनाबाट हिउँदमा सवारीसाधन चल्थे तर बर्खामा अवस्था उस्तै हुन्थ्यो।

हाल गगनगौंडा बजार पनि खुम्चिएको छ, खोलाले पनि त्यति दुःख दिँदैन। खोलामाथि करोडौं रुपैयाँ खर्चेर पुल त बनेका छन् तर सातमुहाने–गगनगौंडा सम्बन्ध अझै घुमाउरो छ। दुई वर्षअगाडि आएको बाढीले सातमुहानेको तिसको डिलदेखि झन्डै ५० मिटर सडक निल्यो। अहिले त्यस ठाउँमा भंगालो परेको छ।

भंगालो पार गर्न सकिने अवस्था छैन। पुल बनेका छन् तर त्यसमा गाडी जान सक्दैन। खुदीखोलाले बनाएको भंगालो बाधक बनेको छ। रुपा गाउँपालिका हुँदै सातमुहाने, चैनपुरका मानिसको निधन हुँदा शव दाहसंस्कार गर्न सेती नदी लैजानु पर्ने हुन्छ, तर भंगालोले शव लैजान समेत समस्या बनाएको छ।

Advertisement

स्थानीय ध्रुव थापा भन्छन्, “हामीलाई शव बोकेर जान समेत कठिन छ। भंगालोबाट झर्न सकिन्न। तावाको मुख, खुदी, ढुंगेपाटन, बरालथर हुँदै गगनगौंडाबाट सेतीमा झार्नुपर्छ। जिउँदै दुःख पाइयो, शव लैजान पनि हैरानी छ।”

स्थानीयले वडालाई, महानगरलाई, प्रदेश र संघीय सांसददेखि मुख्यमन्त्रीसम्म गुहारेका छन्, तर कतै सुनुवाइ भएको छैन। गगनगौंडाबाट आउँदा खुदीखोलाको पुल तर्ने भए पनि भंगालोका कारण सातमुहाने पुग्न सकिंदैन। हेर्दा पुल त छन्, तर बाटोसँग जोडिएका छैनन्।

वडा नं. ३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी भन्छन्, “पुलको टेण्डर पहिले भयो र बन्यो। अहिले हेर्दा लाग्छ—बाटो नबनाई पुल बनाएका जस्ता छन्। अब प्राथमिकतामा पर्नु पर्छ। पुल त मेरो कार्यक्षेत्रमा पर्छ, तर भंगालो परेको बाटो अर्कै वडामा पर्छ।”

तीन तहका सरकार अहिले बजेट निर्माणको तयारीमा छन्। स्थानीय आशामा छन्—”कहिँकतै भंगालोको समस्या सम्बोधन होला कि?”

स्थानीय थापा भन्छन्, “आश त गरेका छौं, तर कसले बुझिदिन्छ हाम्रो पीडा? लौन, भनसुन नगरी केही हुने हो कि?”

पहिला बजार थियो, बाटो थियो, पुल थिएन। अहिले बजार छैन, पुल छ, तर बाटो छैन।
सहज यातायात नहुँदा गगनगौंडा बजार पावरहाउसतिर सरेको छ, सातमुहाने भने उस्तैको उस्तै छ।

तपाईको प्रतिक्रिया