अक्षय कोषबाट विद्यार्थीलाई अंग्रेजी पाठ्यपुस्तक

सुन्दरकुमार थकाली २०८२ वैशाख २३ गते १७:३२

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित मुक्ति नमुना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गरिएको छ । सरकारी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित सो विद्यालयमा पढेका भूतपूर्व विद्यार्थीहरुको अक्षय कोषबाट आइतबार अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गरिएको हो ।

Advertisement


मुक्ति नमुना आधारभूत विद्यालय ठिनीमा कक्षा १ देखि कक्षा ५ सम्मको शैक्षिक पठन–पाठन सञ्चालनमा छ । यसअघिको बालविकास केन्द्र (ईसीडी) कक्षालाई निजी विद्यालयसरह नर्सरी र केजी कक्षा सिर्जना गरी अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने गरी शैक्षिक पाठ्यपुस्तक वितरण गरिएको मुक्तिका भूतपूर्व विद्यार्थी मञ्चकी अध्यक्ष सरिता थकालीले जानकारी दिइन् ।


मुक्ति नमुना विद्यालयका भूतपूर्व विद्यार्थीहरुले आगामी वर्षहरूमा क्रमिक रूपमा कक्षा ५ सम्म नै अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गर्ने योजना रहेको अध्यक्ष थकालीले बताइन् ।

Advertisement


गरिब तथा विपन्न परिवारका बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षाको पहुँच स्थापित गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले घरदैलोमै रहेको सरकारी स्वामित्वको मुक्तिमा पढ्ने नर्सरी र केजी कक्षाका बालबालिकाहरुलाई अंग्रेजी पाठ्यपुस्तक वितरण गरिएको हो । मुक्तिका भूतपूर्व विद्यार्थी मञ्चले खडा गरेको अक्षय कोषबाट त्यहाँको नर्सरी कक्षामा पढ्ने ११ जना र केजी कक्षामा पढ्ने ४ जना गरी १५ जना विद्यार्थीलाई अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गरिएको अध्यक्ष थकालीले उल्लेख गरिन् ।


यस्तै, भूतपूर्व विद्यार्थी मञ्चको अक्षय कोषको रकमबाट खर्चिने गरी ईसीडी कक्षामा अध्यापन गराउने शिक्षक÷शिक्षिकाका लागि पारिश्रमिकको समेत व्यवस्था गरिएको अध्यक्ष थकालीले जानकारी दिइन् । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई अंग्रेजी माध्यमको शैक्षिक पाठ्यपुस्तक वितरण गरिएकोमा विद्यालयका अभिभावक तथा विद्यार्थीहरू निक्कै खुसी भएका छन् ।

Advertisement


यसअघि विद्यालयको स्वर्ण दिवसको अवसरमा सो विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरूको भेलाले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्दै विद्यालयको संरक्षण गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै दश लाख रुपैयाँभन्दा बढीको अक्षय कोष खडा गरेका थिए । मुक्तिका भूतपूर्व विद्यार्थी मञ्चकी अध्यक्ष सरिता थकालीले आफू पढेको विद्यालयलाई आंशिक सहयोग गर्ने उद्देश्यले अक्षय कोष खडा गरिएको बताइन् । उनले गुणस्तरीय शिक्षाको अभावमा विद्यालय नै संकटमा पर्ने अवस्था नआओस् भन्ने आफूहरूले चाहेको जनाइन् ।


सोही अक्षय कोष रकमले शैक्षिक सत्र २०८२ देखि निरन्तर शैक्षिक गुणस्तर सुधारका लागि अंग्रेजी पाठ्यपुस्तक वितरण गरिएको हो । मुक्तिका भूतपूर्व विद्यार्थीहरूले अक्षय कोष रकमलाई वृद्धि गर्नसमेत सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया