बंगलादेशका सहकारीकर्मीे पोखरा रोयल सहकारीमा

पोखरा । बंगलादेशको बचत तथा ऋण केन्द्रीय सहकारी संघको नेतृत्वमा नेपाल आएको सहकारीकर्मीको टोलीले पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको भ्रमण गरी अवलोकन तथा अनुभव आदानप्रदान गरेको छ ,
पोखरा रोयल सहकारीको उपाध्यक्ष क्या चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले टोलीलाई स्वागत गर्दै नेपाल–बंगलादेशबीचको सहकार्यले सहकारी पर्यटन र आपसी सिकाइमा योगदान पुगेको बताए ।
टोलीको नेतृत्व बंगलादेशको सहकारी संघका कोषाध्यक्ष नोरेशचन्द्र विश्वासले गरेका थिए । टोलीमा बंगलादेशका सहकारी विभागका एडिसनल रजिस्ट्रार, उपरजिस्ट्रार, विभिन्न सहकारीका सञ्चालक र व्यवस्थापकसहित २० जना सहभागी थिए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) का सञ्चालक कमलादेवी गिरी, संघका वरिष्ठ अधिकृतहरू, पोखरा रोयलका सञ्चालक समिति, लेखा समिति, उपसमिति संयोजकहरू र कर्मचारीहरूको उपस्थिति थियो ।
संस्थाका व्यवसाय विकास अधिकृत अभिषेक गुरुङले पोखरा रोयल सहकारीको समग्र गतिविधिको प्रस्तुति दिएका थिए । सूचना प्रविधि विभागका अधिकृत अविनाश पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । सहभागीले गरेका प्रश्नहरूको उत्तर उपाध्यक्ष गुरुङ, प्रमुख कार्यकारी अधिकृत गुरुङ र अन्य वरिष्ठ अधिकारीहरूले दिएका थिए ।
कार्यक्रममा संस्थाका कर्मचारीहरूबाट नेपाली र बंगाली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। पोखरा रोयल सहकारीमा बंगलादेशी टोलीको यो तेस्रो भ्रमण हो ।
संस्थाका प्रमुख प्रबन्धक तथा सूचना अधिकारी मिलन ढकालका अनुसार हालसम्म ६ सयभन्दा बढी सहकारी संघ–संस्थाबाट १० हजारभन्दा बढी सहकारीकर्मीले अध्ययन अवलोकन भ्रमण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया