सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको सक्रियता : ४८ घण्टामा ३१२ गस्ती, १,८४४ चेकप्वाइन्ट

समाधान संवाददाता २०८२ वैशाख २५ गते १६:४८

काठमाडौं । सीमा क्षेत्रमा पछिल्लो समय देखिएको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले सीमामा सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ। पछिल्ला ४८ घण्टाको अवधिमा ३ सय १२ वटा गस्ती (पट्रोल) र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

Advertisement

वैशाख २३ गते मंगलबार बिहानदेखि २५ गते बिहीबार बिहानसम्मको ४८ घण्टामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा ८४ वटा संयुक्त गस्ती तथा २ सय २८ वटा एकल गस्ती गरिएको हो।

सशस्त्र प्रहरी बलका अनुसार वैशाख २३ गते २०, २४ गते १६ र २५ गते ४८ वटा गरी कुल ८४ वटा संयुक्त गस्ती गरिएको हो। यस्तै, एकल गस्ती क्रमशः ८९, ६४ र ७५ गरी २ सय २८ वटा सञ्चालन गरिएको थियो।

यही अवधिमा सीमा क्षेत्रमा १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट स्थापना गरिएको छ। वैशाख २३ मा ५६४, २४ मा ६४० र २५ मा ६४० चेकप्वाइन्ट राखिएको हो।

सशस्त्र प्रहरी बलका अनुसार देशका विभिन्न सीमा क्षेत्रमा क्रमशः नं. १ बराह बाहिनी सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी महोत्तरी, नं. ३ गढिमाई बाहिनी मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी कैलालीका मातहतबाट १० हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

Advertisement

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना आदान–प्रदान तथा निगरानी कार्यलाई तीव्र बनाइएको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार, अवैध गतिविधि नियन्त्रण गर्दै परम्परागत आवतजावतलाई सहज बनाउन सचेत रूपमा काम भइरहेको छ। ‘‘सीमामा कडाईका साथ सुरक्षा व्यवस्था मिलाइएको छ, तर परम्परागत सामाजिक, सांस्कृतिक सम्बन्धलाई असर नपरोस् भन्नेमा पनि हामी संवेदनशील छौँ,’’ उनले भने।

यसबाहेक, शहरी क्षेत्रमा पनि सम्भावित संवेदनशील स्थानमा निगरानी र सुरक्षा सतर्कता बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाईको प्रतिक्रिया