मिडिया समिटमा प्रेस स्वतन्त्रता र जलवायु संकटको चिन्ता

समाधान संवाददाता २०८२ वैशाख २९ गते ५:३०

पोखरा । नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि सुरु भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटमा प्रेस स्वतन्त्रता र जलवायु परिवर्तको चिन्ता व्यक्त गरिएको छ ।

Advertisement

समिटको अधिकाशं सत्रमा मिडिया र जलवायु परिवर्तन समेटिएका छन् । सोही अनुरुप आईतबार भएको ‘पोखरा सेसन’ का क्रममा बोल्ने बक्ताहरुले पनि सोही विषयमा जोड दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रता आजको आवश्यकता भएको बताए । कतिपय छाडा मिडियाका कारण मुलधारका मिडियालाई समस्या परेकाले त्यस्ता मिडियाको नियमन गर्न जरुरी रहेको उनले सुनाए ।

आम नागरिकको हातमा प्रविधिको पहुँच बढ्दै जाँदा पछिल्लो समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यामलाई एकै रुपमा बुझ्ने प्रवृति समेत बढीरहेको मुख्यमन्त्री पाण्डेले बताए । यस्ता सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा आएका विषय फरक हुन् भन्ने कुरालाई बुझाउन समेत मुल धारका मिडिया नै लाग्नुपर्ने उनको जोड थियो ।

मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय मिडिया समिटले विश्वमाझ पु¥याउन सघाउने बताए । ‘जलवायु परिवर्तनले नेपाल र हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय समिटले धैरे विषयमा जानकारी दिने विश्वास लिएको छु’, उनले भने, ‘जलवायु परिवर्तनका कारण मुस्ताङ र मनाङका धेरै स्थानमा पानीका मुहान सुक्दै छन्, पानी नपर्ने क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ, यसको बारेमा यस मिडिया समिटले धेरै कुराहरु बुझाउने छ ।’ सोही अवसरमा मिडियामा पछिल्लो समय मिडियामा समस्या देखिएकाले यो समिटमा त्यसका बारेमा पनि छलफल हुनुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय जलवायु परिवर्तनको असर पर्दै जाँदा मानव जीवनमा पनि उल्लेखनिय प्रभाव परेको बताए । यस अन्तर्राष्ट्रिय सम्मेलनले आम नागरिकमा यसको सन्देश प्रवाह हुने उनको भनाई थियो । जलवायु परिवर्तनको असर पोखराले पनि भोगिरहेको छ, केही वर्ष अगाडि घाम लागिरहेको समयमा सेती नदीमा एक्कासी बाढी आयो’, मेयर आचार्यले भने । आगामी हुनसक्ने असर न्यूनिरकरणका लागि सजग हुनुपर्नेमा उनको जोड थियो ।

Advertisement

पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा विश्व पर्यटन बजारमा यहाँको चिनारीसँगै त्यसका माध्यमबाट विभिन्न कामहरु अघि बढीसकेको उनले बताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भैसकेको अवस्थामा यहाँबाट अन्तराष्ट्रिय उडानको पहल निरन्तर भैरहेको र यसैका प्रयासस्वरुव व्यवसायिक चाटर्ड उडानको थालनी भैसकेको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघका उपाध्यक्ष सविना इन्दरजितले प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सबै एकै ठाउँमा भएको बताए । प्रेस स्वतन्त्रता, जलवायु परिवर्तन लगायतका विषयमा मिडिया केन्द्रित हुनु सकरात्मक पक्ष रहेको उनको भनाइ छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गरेको जानकारी दिए । सम्मेलनमा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौतिका साथै मिडिया क्षेत्रले भोग्नुपरेका समस्या आदिमा महत्वपूर्ण भएको बताए । नेपाली पत्रकारितामा पत्रकारले भोग्नु परेका विभिन्न कठिनाइ अवसर र चुनौती विषयमा महत्वपूर्ण छलफल सहित निष्कर्ष तय गरिने उनको भनाइ छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य लोकराज अवस्थी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, होटल एसोशियन नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायतले मिडियाका चूनौति र जलवायु परिवर्तनका असरका बारेमा बोलेका थिए ।

औपचारिक कार्यक्रमपछि ‘जलवायु संकट र पत्रकारिता’ शिर्षकमा पहिलो सत्रमा छलफल भएको थियो । दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल भएको थियो ।

सेसनमा नेपाली तथा विदेशी पत्रकार, विश्लेषकहरु सहभागी थिए । सेसनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, राष्ट्रिय समाचार समितका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, आईएफजेका उपाध्यक्ष सविना ईन्दरजित, बंगलादेशका पत्रकार खैरजमान कमल, भुटानका पत्रकार संजय राबटेन,वरिष्ठ पत्रकार किरण नेपाल, हरिबहादुर थापा नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्ष बाला अधिकारीलगायतले सेसनमा छलफल गरेका थिए ।

समिटको चौथो दिन पोखरादेखि मुस्ताङसम्म मिडिया यात्रा र पाचौं दिन जोमसोममा स्थानीयले जलवायु परिवर्तनबाट खेपेका संकटबारे अन्तरक्रिया हुनेछ । सोही दिन लोमान्थाङमा लोमान्थाङ घोषणा पत्र जारी गरिने प्रेस युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिए । समिटमा अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधिसहित देशभरका १ सय ४० भन्दा बढी पत्रकार सहभागी छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भएको समिट अन्तर्गतको ‘पोखरा सेसन’ को सञ्चालन महासचिव दिलिप पौडेलले सञ्चालन र नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंक अधिकारीले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया