आमाको काखमा छोराको चौरासी पूजा

समाधान संवाददाता २०८२ वैशाख २९ गते ५:४२

पोखरा । उमेरले ४ बिसे ४ टेकेपछि छोराछोरीले बाबुआमाको ८४ पूजा गरिदिने चलन छ । तर, सबैलाई यो अवसर जुर्दैन । पोखरा ७ माछापुच्छ्रे टोलकी ईन्द्रकला गौतमलाई भने अनौठो सौभाग्य मिलेको छ । उनी जेठा छोरा डण्डपाणि गौतमको चौरासी पूजा गर्ने तयारीमा छिन् ।

Advertisement

सोमबार हुने पूजाका लागि १ सातादेखि नै तयारी सुरु थालिएमो थियो । घर सजाउनेदेखि पूजाका लागि रोटी पकाउने, कसार बटार्ने, जग्गे बनाउने काम चलिरहेको छ । ईन्द्रकलामा यी सबै गतिविधि छतबाटै नियाल्छिन् । उनलाई हिँडडुल गर्नै समस्या छ । आँखा कम देख्छिन् अनि काम कम सुन्छिन् । तर, उनको अनुहारमा छुट्टै कान्ति छ ।

भन्छिन्, ‘छोराको चौरासी गर्न पाउँदा निकै खुसी छु ।’ उनका २ छोरा र २ छोरी छन् । त्यहीबाट छोरातिरका छोरीतिरका गरी दर्जन हाराहारीमा नातीनातिनी, पनातीपनातिनी र खनाति खनातिनी छन् । ईन्द्रकलालाई भने आफ्नो उमेर ठ्याक्कै थाहा छैन । उमेरको अंक तल–माथि भए पनि छोराको चौरासी पूजा गर्ने तयारीमा रहेकी उनी राम्रैसँग बोलचाल गर्छिन् ।

अलि चर्को गरी बोल्यो भने जवाफ फर्काउन सक्छिन् । परिवारका अनुसार उनलाई खानपिनमा समस्या छैन । बुढेस कालमा थलिएर ओछ्यानमा बस्नु परेको छैन । जेठा छोराको चौरासी पूजा गर्ने आमाको उमेर कति होला ? उनी नेपाली नागरिकताको प्रमाणपत्र अनुसा १ सय ७ वर्षकी भइन् । धार्मिक मान्यता अनुसार, १ हजार पूर्णचन्द्र देखेपछि चौरासी पूजा गरिन्छ । जेठा छोरा र बुहारी दुवै ८३ वर्षमा छन् । यो सौभाग्य कमै आमाले पाउने उनको भनाइ छ ।

आमाको काखमा चौरासी पूजा गर्न पाउँदा डण्डपाणि नै दंग छन् । ‘मैले त सोंचेको पनि थिइनँ । यस्तो मौका पाइएला भनेर,’ उनले भने, ‘आमाको चौरासी गर्दा जति खुसी थिएँ, त्योभन्दा बढी अहिले खुसी छु ।’ ८ वर्षको उमेरदेखि नै आमाको एक्लो संघर्षले आफू यो ठाउँमा आएको उनको भनाइ छ ।

Advertisement

‘म ८ वर्षको हुँदा नै मेरो बाबा बित्नुभयो । त्यसपछि दुवै बाबाआमाको दायित्व दुवै आमाले निभाउनुभएको हो,’ उनले भने, ‘म राजनीतिसँगै समाजसेवाको काममा व्यस्त हुँदा आमाले सधैं साथ दिनुभएको हो ।’ दण्डपाणि २ पटक वडाध्यक्ष बने । एक पटक सुकुम्बासी आयोगको सदस्य बने । गाउँकै विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भए ।

पार्टी राजनीतिमा पनि २ पटकसम्म महाधिवेशन प्रतिनिधि बने । टोल सुधार समितिको अध्यक्ष भएर समाजसेवामा लाग्दा आमाको राम्रो साथ पाएको उनले सुनाए । आमाको साथ यो उमेरसम्म पनि पाएकाले अझै धेरै वर्ष सँगै हुनेमा उनी विश्वस्त छन् । ‘अजम्बरी जीवन त कसैले लिएर आएको हुँदैन । तर, मेरो हरेक सुखदुखमा आमा साथमै हुनुहुन्छ,’ उनले भने, ‘भगवानले माथिबाट हेरेका छन् । लामो समय उहाँ हामीसँगै हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

दण्डपाणिकी श्रीमति डासीमाया पनि बयोवृद्ध सासूको साथले यो सबै सम्भव भएको सुनाउँछिन् । ‘म ११ वर्षको हुँदा सासुआमा ३२ वर्षकी हुनुहुन्थ्यो । मैलै ससुरालाई त देखिनँ,’ उनले भनिन्, ‘त्यो बेला ठूलो घरपरिवार थियो, सासूलाई धान्न गाह्रै थियो । त्यस्तो दुःखका बिच पनि उहाँ हाम्रै अघिल्तिर हुनुहुन्छ ।’ यो अवस्थामा आएर आमाले छोराको चौरासी पूजा गरिदिनु भनको आश्चर्य र भाग्य भएको उनको भनाइ छ । ‘म ८३ वर्ष लागें । मेरा छोराछोरी, नातिनातिना गरेर ६३ जना जहान भएका छन्,’ उनले भनिन्, ‘मेरा छोराहरुले मेरा सासूआमाको काखमा पूजा गरिदिन लागेका छन्, म खुसी छु ।’

अहिले छोराछोरीलाई स्वास्थ्यमा समस्या छ तर ईन्द्रकलालाई त्यति ठूलो समस्या छैन । लौरी वा अरुको सहारामा हिड्नु परे पनि अझै धेरै खुसी देख्ने उनको इच्छा छ । छोराको मात्र होइन, नातिनातिनाकै चौरासी पूजामा सहभागी हुने उनको चाहना छ ।

तपाईको प्रतिक्रिया