गोरखामा मनास्लु आरोहण दिवस

गोरखा ।
गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो ।
टान गण्डकीको आयोजनामा गोरखा नगरपालिका ५ पस्लाङगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्दै ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको हो । सन् १९५६ मे ९ तारिखका दिन जापानका पर्ततारोही तोसिओ इमानिसी र नेपालका पर्वतारोही ग्लाल्जेन नोर्वु शेर्पाले पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका थिए ।
आरोहण दिवसको अवसरमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गोरखामा इतिहास पढ्न नभएर हेर्नका लागि पर्यटक आउने गरेको बताए । ‘गोरखा नेपालको इतिहास बोकेको ठाउँ हो, नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले नेतृत्व गरे, गोरखाका जनताले साथ दिए’, मेयर रानाले भने, ‘नेपाल एकीकरण समय किताबमा पढेका आधारमा आन्तरिक पर्यटक गोरखा आउँछन्, गोरखा इतिहास पढ्न होइन, इतिहास हेर्न पर्यटक गोरखा आउँछन् ।’
उनले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपालको राजधानी काठमाडौं सारेपछि गोरखा छायाँमा परेको गुनासो गरे । ‘नेपाल एकिकरणपछि पृथ्वीनारायण शाहले नेपालको राजधानी काठमाडौं सारेपछि गोरखा छायाँमा पर्दै आएको छ, उनले भने, ‘गोरखा सबै क्षेत्रबाट छायाँमा परेपछि पर्यटक प्रवद्र्धनमार्फत गोरखालाई लयमा फर्काउन गोरखा भ्रमण वर्ष घोषणा गरेको छौं, सबैलाई गोरखा घुम्न आउन निम्तोसमेत दिन चाहन्छु ।’
उनले गोरखा धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भएकाले गोरखाको समृद्धि पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । गोरखा नगरपालिका उपप्रमुख सपना पुनले पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखा घुम्न पठाउन आग्रह गरिन् ।
‘पोखरा आउने पर्यटकलाई गोरखा पठाउने काम पर्यटन व्यवसायीले गर्नुपर्छ’, उपप्रमुख पुनले भनिन्, ‘गोरखा आउने पर्यटक मनास्लु पदयात्रा, लार्के पाससम्म पर्यटक पुर्याउन सके गोरखाको मात्र नभएर देशमो समृद्धिमा सहयोग पुग्छ ।’ उपप्रमुख पुनले मनास्लु, चुमभ्याली पदयात्रा जाने पर्यटक धादिङको मलेखु, आरुघाट जाँदा गोरखा छायाँमा पर्दै आएको बताए ।
अन्नपूर्ण पदयात्रा सडक सञ्जालले जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकले मनास्लु पदयात्रालाई रोज्दै आएका छन् । पर्यटन बोर्ड गण्डकीका प्रदेश प्रमुख मणिराज लामिछानेले गण्डकीका तीन पालिकाले पर्यटन वर्ष घोषणा गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको बताए ।
‘पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका तीन पालिका, पोखरा महानगरपालिका, गोरखा नगरपालिका र बन्दिपुर नगरपालिकाले सन् २०२५ लाई पर्यटन भ्रमण वर्षका रुपमा अगाडि बढाएका छन्’, प्रमुख लामिछानेले भने, ‘पर्यटन भ्रमण वर्षले ग्रामिण पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ ।’
उनले मनास्लु हिमाल आरोहणको ७० औ वर्ष भव्य रुपमा मनाउन जापानीज राजदुतावाससँग छलफल गरिरहेको बताए । ‘जापनी नागरिकले मनास्लु हिमाललाई जापान हिमालको रुपमा मान्छन् । त्यसैले ७० औ मनास्लु हिमाल आरोहण दिवस सामागाउँ नै गएर जापानी राजदुतावासको उपस्थितिमा मनाउने गरी छलफललाई अगाडि बढाएको छु,’ उनले भने ।
संसारको ८ हजार मिटरको अग्लो उचाईमा रहेको मनास्लु हिमाल संसारको आठौं र नेपालको सातौं अग्लो हिमाल हो । टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले ग्रामीण पर्यटन प्रवद्र्धन गर्नु नै संस्थाको उद्देश्य भएको जनाए ।
‘टानले स्थापना कालदेखि नै ग्रामीण पर्यटनको प्रवद्र्धनमा काम गर्दै आएको छ, पछिल्लो समय पदमार्ग सडक सञ्जालले जोडिदा पर्यटन व्यवसायमा मर्कामा परेका छन्,’ अध्यक्ष आचार्याले भने, ‘टानको नेतृत्वमा पहिलो पटक गोरखामा मनास्लु हिमाल आरोहण दिवस मनाउँदै गर्दा ग्रामीण पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित आएका छौं ।’
तपाईको प्रतिक्रिया