किन प्रयोग हुँदैन भोटिङ मेसिन ?

समाधान संवाददाता २०७६ मंसिर १० गते ११:५२

समाधान संवाददाता
पोखरा

सफल मानिएको इलेक्ट्रिक भोटिङ मेसिन (इभिएम) आसन्न उपनिर्वाचनमा बेवास्तामा परेको छ । डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्ने भनिए पनि जनताले अनुभूत गर्ने प्रत्यक्ष सुविधामा सरकारले ध्यान नदिँदा भोटिङ मेसिनको प्रयोग निरुत्साहित भएको हो । आसन्न उपनिर्वाचनमा भोटिङ मेसिनको प्रयोग नहुने निर्वाचन आयोगले यसअघि नै जानकारी दिइसकेको थियो । तर कुन आधारमा मेसिनको प्रयोग हुन सकेन भन्ने जिज्ञासामा आयोगले ‘दलहरुको अनिच्छाका कारण’ भनेको छ ।

पेपर लेस, मत गणना गर्न सहज, सुरक्षा लगायत विविध दृष्टिले छरितो इभिएमको प्रयोग यसअघिका संविधान सभा उपनिर्वाचनमा सफल भइसकेको छ । २०६४ को उपनिर्वाचनकै क्रममा कास्की १ मा भोटिङ मेसिनको प्रयोग भएको थियो । कागजी मतपत्रमा मतदाताले छाप लगाउँदा बदर हुने सम्भावना अधिक रहन्छ । त्यसैकारण पनि भोटिङ मेसिनको प्रयोग गरेर बदर हुने मत संख्या कम गर्न प्रविधि विज्ञले आयोगलाई सुझाव दिँदै आएका थिए ।

Advertisement

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने भोटिङ मेसिनलाई निरुत्साहित नै गरेको भन्ने अर्थ नलगाउन आग्रह गरे । आयोगमा रहेका मेसिन केही पुराना भएकाले परिमार्जित गर्न समय लाग्ने कारण उपनिर्वाचनमा प्रयोगका लागि सम्भव नभएको बताए ।

‘भारत लगायत देशमा प्रयोग भएका मेसिन आधुनिक र परिमार्जित छन्,’ उनले भने, ‘हामीसँग उपलब्ध मेसिनको अवस्था बुझ्दा प्राविधिकले परिमार्जित गर्न दिएको सुझाव र राजनीतिक दलहरुसँगको सहमतिमा उपनिर्वाचनमा मेसिन प्रयोग नगर्ने भएका हौं ।’

Advertisement

आयोगले आउँदा निर्वाचनमा भने व्यवस्थित मेसिनको प्रयोग गर्ने तयारीमा रहेको उनले बताए । भोटिङ मेसिन प्रयोग गरेपछि त्यसको विश्वस्नीयता महत्वपूर्ण हुने हुँदा आयोगले यसबारे पूर्व सचेतना अपनाएको उनको भनाइ छ ।

‘मतदान केन्द्रमा मेसिनमा केही समस्या आयो भने तत्काल समाधान गर्ने प्राविधिक सहयोग चाहिन्छ । त्यसका लागि हामीसँग प्राविधिक जनशक्ति पनि नभएको र भएका मेसिन परिमार्जन गर्नैपर्ने देखिएकोले उपनिर्वाचनमा मेसिन प्रयोग हुन सकेन,’ उनले भने । मतदाता शिक्षामा समेत कठिनाइ देखिने आयोगको बुझाइ छ । कागजी नमुना मतपत्र घरघरमा पुगेर स्वयंसेवकले सिकाउन जस्तो मेसिन बोकेर पुग्न छोटो समयमा सम्भव नरहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । आगामी निर्वाचनहरुमा भने पर्याप्त तयारीका साथ मेसिनको प्रयोग गर्न आयोग अग्रसर हुने उनले सुनाए ।

तपाईको प्रतिक्रिया