‘कम्युनिस्टले जिते नागरिकलाई दुख’

समाधान संवाददाता २०७६ मंसिर १० गते १२:१२

समाधान संवाददाता, पाेखरा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा कम्युनिस्टले नै चुनाव जिते देश भड्खारोमा जाकिने बताएका छन् । कम्युनिस्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई जिताउन आग्रह गरे । सोमबार पोखरामा आयोजित चुनावी सभामा नेता सिंहले कालापानी र लिपुलेकमा गएर लम्पसार परेको ओलीको राष्ट्रवादले मुलुकले धेरै वर्ष दुख पाउने टिप्पणी गरे ।

‘सीमा विवादमा प्रतिपक्षी कांग्रेसले धेरै बोल्यो, जनता आन्दोलनमा उत्रिएर सडकमा आइसक्दा पनि प्रधानमन्त्री ओलीजी झिना मसिना कुरा भन्दै बसिरहनुभएको छ’, उनले भने, ‘उहाँको खोक्रो राष्ट्रवाद अब जनताले पत्याउँदैनन् ।’ यतिबेला विश्वको ध्यान कास्की २ मा रहेको भन्दै उनले यस क्षेत्रबाट कांग्रेसले चुनाव जितेर देश विदेशमा सकारात्मक सन्देश दिन चाहेको बताए ।

Advertisement

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस बसेको हाती भएको भन्दै उठेर मुन्टोमात्र हल्लाउने हो भने सबै तितरवितर हुने बताए । उनले राष्ट्रियताको विषयमा कांग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीसँग सिधा वार्ता गरेर देखाउन चुनौती दिए ।

उनले कास्की २ सहित सवै क्षेत्रबाट कांग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सरकारलाई ल्याउन आवश्यक रहेको बताए । ‘सरकारका २१ महिनामा देखिने र चर्चा गर्न लायक कुनै पनि काम छैनन् । कुर्चीमा बसेरमात्र समृद्धिको भाषण मात्र नखोक्दा हुन्छ’, उनले चुनौती दिँदै भने, ‘सरकारले कम्तिमा निर्मला पन्तको हत्यारा समातेर कार्वाही गरेर देखावस् । कम्तिमा वाइडबडीको काण्ड सही के हो बाहिर ल्याउने हिम्मत गरोस् ।’

Advertisement

पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली कांग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको बताए । उनले जनता करैकरको थुप्रोमा थिचिएर स्वास फेर्न पनि नसक्ने अवस्थामा पुगेको भन्दै यसबाट मुक्ति पाउन पनि कांग्रेसले चुनाव जित्नुपर्ने स्पष्ट पारे ।

कांग्रेस नेता देवराज चालिसेले यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवार बीचको होइन भ्रष्टाचारी सरकार–जनताबीचको लडाइँ भएको बताए । उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफूले जनता सामु गरेका वाचा कहिल्यै नभुल्ने बताए ।

कार्यक्रममा पूर्व मन्त्री भीमसेनदास प्रधान, कास्की कांग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला ‘मधु’, पोखरा ११ का वडा इकाइ सभापति बोधराज घिमिरे, सचिव वसन्त कोइराला लगायतले बोलेका थिए ।

२ हजार ४ सय मत अन्तरले जित्छौंः प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की २ को चुनाव २ हजार ४ सय मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् ।

‘सबै प्रकारले हेर्दा २ हजार ४ सय मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, उनले भने ।

प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधारसमेत प्रस्तुत गरे । ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिस्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिस्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरुको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने ।

उनले राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा होइन, सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘यो हाम्रा लागि ऐतिहासिक अवसर हो ।

उनले भारतले आफ्नो नक्सा सार्वजनिक गरिरहेको अवस्थामा नेपालले पनि छिटो भन्दा छिटो आफ्नो आधिकारिक नक्सा सार्वजनिक गर्नेुपर्ने खाँचो औंल्याए । शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर ३ दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशंका मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिए । नेता शर्माले सीमाको सवालमा सत्तापक्ष, प्रतिपक्ष र जनता सबै एकठाउँमा आएको अवस्थामा समस्या समाधान गर्नमा ढिलाई गर्न नहुने बताए । उनले सीमा समस्या समाधान नभएसम्म कांग्रेसले खबरदारी गरिरहने स्पष्ट पारे ।

स्व. रवीन्द्र अधिकारी गणतन्त्रवादी हुन्
कांग्रेस प्रवक्ता शर्माले पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनसँगै आफूले घनिष्ट मित्र गुमाउन पुगेको बताए । आफू नेविसंघ र रवीन्द्र अनेरास्ववियुको अध्यक्ष बनेर सँगसँगै सहकार्य गरेर अघि बढेको स्मरण गरे ।

‘रवीन्द्र अधिकारी एउटा इमान्दार गणतन्त्रवादी नेता हो, वंशवादी होइनन् । उनी वंशवादमा पनि विश्वास गर्दैनन् र एउटा मान्छे, एउटै जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन सक्दैनन्’, उनले भने ।

ओली सरकार पूर्ण असफलः नेतृ राना
नेपाली कांग्रेस नेतृ एवं सांसद विन्दादेवी रानाले केपी ओली सरकार पूरै असफल भइसकेको बताएकी छन् । पोखरामा आयोजित चुनावीसभामा सांसद रानाले भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहिनता, सुशासन लगायतका विषयमा यो सरकार पूरै असफल भएको र केपी ओलीलाई प्रधानमन्त्रीको पदमा बसिरहने नैतिक हैसियत अब नभएको बताइन् ।

‘गत वर्षको बजेटमार्फत सबै नेपालीको बैंकमा खाता हुन्छ भन्ने तर नागरिकता वितरणमा बखेडा झिक्ने सरकारको यो रवैया के हो, प्रष्ट पार्न आग्रह गर्दछु’, उनको भनाइ थियो । उनले मौलिक हक कार्यान्वयन गर्न पनि सरकारले कानुन नबनाएकोमा आपत्ति जनाइन् ।

पोखरा १५ की चुनावी कमान्डर रहेकी नेतृ रानाले संविधानमा २३ वटा आयोगको व्यवस्था गरिएको तर, सरकार गठन भएको २ वर्ष पुग्दासमेत संविधान कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरिन् ।

सकियो मतदाता भेटघाट
नेपाली कांग्रेस कास्कीले क्षेत्र नं. २ का सबै मतादातासँगको भेटघाट सकिएको जनाएको छ । ३ चरणमा चुनाव प्रचार अभियान चलाएको कांग्रेसले पहिलो, दोस्रो र तेस्रो चरणमा मतदाता भेटघाट पूरा गरेको जनाएको छ ।

१ पटक सवै मतादातासँग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसँग राख्ने काम भएको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । सभापति केसीले चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता सार्वजनिक गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया