पोखरा बनाउन पत्रकारसँग कांग्रेस कास्कीको छलफल

पोखरा । नेपाली कांग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन अभियानलाई निरन्तरता दिएको छ ।
सोही अभियान अन्तर्गत मंगलबार पोखराका पत्रकारहरुसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो ।
नेपाली कांग्रेस कास्कीमा भएको कार्यक्रममा पत्रकारहरुले भौतिक विकाससँगै मानवीय विकास हुनुपर्ने, नेतृत्व जवाफदेही र उत्तरदायी हुनुपर्ने, पोखराको भूगोल बुझेर विकास गर्नुपर्ने, भू उपयोग नीति बनाउनुपर्ने, थिंक बैंक बनाउनुपर्ने, सम्पदा संरक्षण, फोहोर व्यवस्थापन, नागरिक सुरक्षा, आर्थिक समृद्धि, सुशासन, बलियो संस्थागत संयन्त्र हुनुपर्नेमा जोेड दिएका थिए ।
कांग्रेसका सभापति किशोरदत्त बरालले वडा कार्यसमितिका सभापति, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गरी सुझाव संकलन गरिसकेको बताए । आगामी दिनमा उद्योगी व्यावसायी, युवासँगै अन्य क्षेत्रका व्याक्तिहरुसँग छलफल गर्ने तयारी भइरहेको उनले सुनाए ।
छलफलबाट आवश्यकता बुझ्ने र सुझावका आधारमा यहाँको भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकताबारे निष्कर्षसहित कार्यान्वयनका लागि तीन तहका सरकारसँग पहलकदमी गरिने सभापति बरालले बताए । यो अभियान नेपाली कांग्रेसको नभई समग्र पोखरेलीको भएकाले यसलाई राजनीतिभन्दा माथि उठेर बुझ्न उनको सुझाव छ ।
तपाईको प्रतिक्रिया