रुपामा हावाहुरी प्रभावितलाई रेडक्रस र पालिकाको सहयोग

पोखरा । भूमरीसहितको हावाहुरी पछिको अविरल वर्षातको कारण प्रभावित रुपा गाउँपालिका ५ का परिवारलाई नेपाल रेडक्रस सोसाइटी कास्की र पालिकाले त्रिपालसहित खाद्यान्न प्रदान गरेको छन ।
सोमबार साँझको हावाहुरीले घरको धुरी र छाना उडाएर वर्षात हँुदा रुपा ५ देउरालीफेदी र डाँडा गाउँमा १८ घर परिवार प्रभावित भएका छन् । पालिकाका अध्यक्ष नवराज ओझाको नेतृत्वमा वडाध्यक्ष राजन खनाल, रेडक्रस कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्का, कर्मचारी नवराज भण्डारी सहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण संकलनपश्चात राहत वितरण गरिएको हो ।
पालिका अध्यक्ष ओझाले पालिका र रेडक्रसले त्रिपाल र खाद्यान्य सहयोग गरेको जानकारी दिए । ‘हावाहुरीले छाना उडाएपछि वर्षात हुँदा घर भित्रको खाद्यान्न लत्ता कपडा भिजेर नष्ट भएको छ,’ उनले भने, ‘वर्षातले चामल लगायतका खाद्यान्न भिजेर खानयोग्य छैन । धानचावर हाल्ने बेलाको मकैबारी पूरै नष्ट भएको छ ।’
उनले नेपाल प्रहरी र कृषि ज्ञान केन्द्रले क्षतिको मुचुल्का तयार गरेपछि घर मर्मत र थप राहत प्रदान गर्ने बताए । रेडक्रस कास्की कोषाध्यक्ष खड्काले प्रभावित घरपरिवारलाई पालिका र रेडक्रसले त्रिपाल राहत खाद्य सामग्री स्थलगत रुपमा नदोहोरिने गरी वितरण गरेको जानकारी दिए ।
उनले पहिलो चरणमा रेडक्रसले ३ परिवारलाई खाद्यान्य वितरण गरेको बताए । उनका अनुसार हावाहुरी र वर्षातको कारण घर गोठको अलवा खेतीपाती, फलफूल नष्ट भएको छ । सोमबार साँझदेखि त्यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ ।
नेपाल विद्युत प्राधिकरण र कृषि शाखाको टोलीसमेत स्थलगत अवलोकनको लागि घटनास्थल पुगेको उनले जनाए । रेडक्रसका कर्मचारी भण्डारीले हावाहुरी र वर्षातको कारण रूपा ५ का १० परिवारको घर पूर्ण क्षति र ८ परिवारको मध्यम क्षति भएको बताए । यसैगरी यही वैशाख २४ र २५ गतेको अविरल वर्षका कारण पोखरा वडा नम्बर ४ फिर्के पुलमुनीको समुदाय ढुबानका कारण ९ परिवार प्रभावित भएका छन् । ढुबानमा प्रभावित ५ परिवारलाई तत्काल गैरखाद्य सामग्री र खाद्य सामग्री सहितको राहत प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले समग्र विपद् व्यवस्थापनको लागि गर्ने १० क्लस्टरको काम मध्ये रेडक्रसको जिम्मेवारीमा अस्थायी आवास तथा गैर खाद्य सामाग्री व्यवस्थापनको क्षेत्रमा काम पर्छ । रेडक्रस कास्कीले हरेक वर्ष मनसुन जन्य लगायत सवै प्रकारका विपद् प्रभावितलाई तत्काल खाद्य तथा गैर खाद्य, नगद सहित राहत सहयोग गर्दै आएको छ ।
विपद् व्यवस्थापनका लागि पूर्व तयारी, न्यूनीकरण, विपद् प्रतिकार्य र उद्दार तथा राहात सेवा कायलाई समेत रेडक्रसले निरन्तर रुपमा अगाडि बढाएको छ । रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपद्बाट प्रभावितहरुको राहात तथा उद्दारको लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको छ । रेडक्रस कास्की अन्तर्गतका ४८ उपशाखाले समेत आ आफ्नो क्षमता अनुसार विपद् राहत कोष खडा गरेर काम गरेका छन् ।
तपाईको प्रतिक्रिया