समपादकीय—सडक मापदण्डको सवाल

समाधान संवाददाता २०८२ जेठ १ गते ९:२९

संयुक्त राष्ट्र संघले निर्धारण गरेका सडक सुरक्षा सम्बन्धी लक्ष्यहरूको पालनाको स्तर नेपालमा कमजोर छ । जसको कारण नेपालको सडक सुरक्षाको अवस्था भयाभह छ । गण्डकी प्रदेशमा मात्र पछिल्लो ९ महिनाको अवधिमा सवारी दुर्घटनामा १ सय ७९ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा २१७ जना गम्भीर घाइत भए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाका अनुसार गत वर्षभन्दा अहिले सवारी दुर्घटनामा कमी भएता पनि ज्यान गुमाउनेको संख्या बढी छ । यो वर्षको ९ महिनाको अवधिमा २८९ पटक सवारी दुर्घटना भए ।

Advertisement

गत आर्थिक वर्ष २०८०/०८१ यो अवधिमा २९८ पटक सवारी दुर्घटनामा परेर १५० जनाको ज्यान गुमेको थियो । गत आर्थिक वर्षको पुरै अवधिमा भन्दा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै छ ।
संयुक्त राष्ट्रसंघले सडक सुरक्षाका लागि १२ वटा लक्ष्यहरू निर्धारण गरेको छ । राष्ट्रसंघको सडक सुरक्षासँग सम्बन्धित महासन्धिहरूमा आबद्ध हुने बाहेक अन्य सबैमा नेपालको प्रस्तुति कमजोर छ । जसको कारण नेपालको सडक सुरक्षाको अवस्था भयाभह देखिएको हो ।


नेपालले संयुक्त राष्ट्रसंघको सडक सुरक्षा कार्य योजना अनुमोदन गरेको छ । तथापी नेपालको राष्ट्रिय सडक सुरक्षा रणनीति छैन । त्यसैले नेपाललाई सडक सुरक्षा कायम गर्न तत्कालै राष्ट्रिय रणनीति र समयतालिकासहितको कार्ययोजना ल्याउन पर्छ । सडकहरूको सुरक्षा ‘अडिट’ गर्न र दुर्घटनापछिको आपत्कालीन उद्वार सम्बन्धी कार्ययोजना बनाएर लागु गर्न जरुरी छ ।
नेपालले सन् २०२१ देखि २०३० बीचको अवधिमा सडक दुर्घटनामा हुने मृत्यु ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । सन् २०३० भित्र सवारी साधन चलाउँदा मोबाइल प्रयोग गर्न नपाइने देखि चालकहरूलाई आराम गर्ने स्थान र अवधि छुट्याउनेसम्मको कानुनी व्यवस्था गर्र्ने कुनै प्रगति नेपालले गरेको छैन ।


सरकारले पूर्व पश्चिम राजमार्गमा रहेका जोखिमपूर्ण स्थलहरूको पहिचान लगायत कैयौँ कामहरू गरेको छ । तर सडक सुरक्षा सम्बन्धी ऐन र यातायात नीति लगायत निश्चित कानुन र छाता संगठन नहुँदा सडक सुरक्षाको विषयमा नेपाल पछि परेको छ । असजिलो भूगोलमा सडकहरूको विस्तार गरिएकोले अरू देशको तुलनामा नेपाल बढी जोखिममा छ ।


यातायात सम्बन्धी कतिपय नियम पालना नगरिँदा नेपालमा सडक दुर्घटना बढेको छ । सडक सुरक्षा नेपालका लागि संवेदनशील जनस्वास्थ्य सवाल बनेको छ । सडक प्रयोगकर्ताको सुरक्षाका लागि सबैले संयुक्त रूपमा कदम चाल्नु आवश्यक छ । पछिल्लो समयमा नेपालमा बढेका सवारी दुर्घटना र त्यसमा भइरहेको मानवीय क्षतिले नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा नै नकारात्मक सन्देश गएको छ । सडक सुरक्षाको रणनीति अपनाए सडक दुर्घटना बढेको खण्डमा पर्यटन लगायतका क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । अहिले सडकहरू संघ प्रदेश र स्थानीय तहको जिम्मेवारीमा परेकोले तीनै तहको समन्वयमा काम गर्नु पर्ने देखिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया