धाराले बदल्यो दैनिकी

कृष्ण न्यौपाने, दमौली
तनहुँको ऋषिङ गाउँपालिका १ गैह्राखुदीकी ६६ वर्षीया खगीमाया आले झिसमिसे हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कन्थिन् । गाउँमा खानेपानी चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो । ‘उठ्न नपाउँदै कसरी खानेपानी व्यवस्थापन गर्ने भन्ने पीरले साह्रै सताउँथ्यो,’ आलेले भनिन्, ‘घरबाट ३ घण्टा हिँडेर डोकोमा पानी बोक्नुपर्ने दुःख शब्दमा बयान गर्न सक्दिनँ ।’
अहिले घरमै खानेपानी धारा जडान भएपछि आलेको दैनिकी बदलिएको छ । खानेपानी व्यवस्था गर्न डोको बोकेर ३ घण्टा हिँड्नुपर्ने दुःखका दिन अब सकिए । घरमै भएको धारा खोलेपछि पानी आएको देख्दा आलेलाई सपनाजस्तै लागेको छ । ‘घरमै पानी आउला र जस्तो लाग्थ्यो,’ आलेले भनिन्, ‘घरमै धारा जडान भएपछि साह्रै खुसी लागेको छ ।’
घरमा खानेपानी धारा जडानपछि सोही ठाउँका ५८ वर्षीया सिरमाया थापाको मुहारमा पनि खुसी छाएको छ । खानेपानी अभावले बिहानै कुवामा पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था अन्त्य भएपछि थापाले भनिन्, ‘खानेपानीका लागि जे जस्तो दुःख गरियो, अब त्यस्तो दुःखको दिन नआओस् ।’
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत् डाँडाखुदी गैह्राखुदी खानेपानी आयोजना निर्माणपछि यहाँका स्थानीय हर्षित छन् । सरकारको ५९ लाख ९२ हजार र स्थानीय उपभोक्ताको १३ लाख ८० हजार गरी ७३ लाख ७२ हजार लागतमा खानेपानी आयोजना निर्माण भएको डिभिजन प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
आर्थिक वर्ष ०७०÷७१ मा डिपिआर भएको उक्त आयोजना ०७१÷७२ मा निर्माणको चरणमा गएको थियो । आयोजनाको डिपिआर तयार गर्दा ९९ लाख ९६ हजार १ सय २० लागत लाग्ने अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण भएको हो । आयोजनामार्फत ७७ घरधुरी, १ विद्यालय र १ संस्थामा खानेपानी सुविधा पुगेको छ । आयोजनाबाट ५ सय ७६ जना लाभान्वित भएको खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष दीपक रानाले जानकारी दिए ।
घर घरमै धारा जडान भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । उनले भने, ‘खानेपानीको सुविधा पुगेपछि स्थानीयवासीलाई खानेपानीको सुविधासँगै करेसाबारीमा पनि पानी प्रयोग गर्न पुगेको छ ।’ दीपक निम्न माध्यमिक विद्यालयका शिक्षक देवबहादुर थापाले विद्यालयमा धारा जडानपछि विद्यार्थीलाई खानेपानी सहज भएको जानकारी दिए । खानेपानी सुविधा नहुँदासम्म शिक्षकले नै डोकोमा बोकेर विद्यालयमा खानेपानी व्यवस्था गर्दै आएका थिए । विद्यालयका पूर्व प्रधानाध्यापक डम्बरसिं थापाले सपनामा पनि डोको बोकेको देख्ने यहाँका स्थानीयलाई खानेपानी सुविधा आएपछि यस्तो दिन पनि आउँछ र भन्ने लागेको सुनाए ।
लिफ्ट प्रविधिमा आधारित यो खानेपानी आयोजनाका लागि २० हजार लिटर क्षमताका २ ट्यांकी निर्माण गरिएको छ । ७ सय ५० मिटर प्रशारण लाइन रहेको आयोजनाको उचाइ मुहानदेखि पानी ट्याङ्कीसम्म १ सय ५० मिटर छ भने वितरण लाइन ४ हजार १ सय ५० मिटर छ । लिफ्ट प्रविधिमा आधारित खानेपानी आयोजना भएकाले मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख तिमिल्सिनाले बताए ।








थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया