हरिदेवी कोइरालालाई ‘गण्डकी वाङ्मय पुरस्कार’

पोखरा ।
साहित्यकार हरिदेवी कोइरालालाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमद्वारा प्रदान गरिने पुरस्कार कोइरालालाई प्रदान गर्ने निर्णय गरिएको हो ।
कार्यसमिति सदस्य सुरज उपाध्यायको संयोजकत्वमा गठित सल्लाहकार रघुनाथ अधिकारी र साहित्यकार नारायण परिश्रमीसमेत तीन जनाको समितिले काेइरालालाई सर्वसम्मत सिफारिस गरेकाे हाे ।
साहित्यकार तथा लोकगायिका हरिदेवी कोइरालालाई ९६ औं गोकुल जयन्तीको अवसर पारेर आगामी जेठ १० गते विशेष समारोहका बिच पुरस्कार प्रदान गरिने सङ्गमका अध्यक्ष भीम रानाभाटले जानकारी दिए । उनी करिब पाँच दशकदेखि प्रगतिशील एवम् देशप्रेमले ओतप्रोत गीत–कविताहरुको सिर्जना र लोकगीतको सङ्कलन तथा गायनका क्षेत्रमा निरन्तर साधना गर्दै आएकी छन् ।
गण्डकी साहित्य सङ्गम, पोखराले समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टा–द्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवं सम्मान गर्न २०५२ सालदेखि राष्ट्रिय तहमा ‘गोकुल वाङ्मय पुरस्कार’ ४० हजार र गण्डकी क्षेत्रमा रहेर साधना गर्ने साहित्यकाररकलाकारलाई ‘गण्डकी वाङ्मय पुरस्कार’ २० हजार एक/एक वर्ष बिराएर प्रदान गर्दै आएको छ ।
२०१५ सालमा कास्की जिल्लाको पोखरा महानगरपालिका– ६, बैदाममा जन्मेकी हरिदेवी कोइरालाका कविता सङ्ग्रह ‘मेरो देशको छातिभित्र दुःखेजस्तो लाग्छ’ – २०४५०, ‘तरङ्ग’– २०५४०, कविता सङ्ग्रह– २०५९०, आफ्नै गीतः आफ्नै भाका’ (गीत सङ्ग्रह– २०६२), ‘माइतै रमाइलो’ (गीत सङ्ग्रह– २०६३), ‘सारङ्गीमा भुल्यो मन’ (कविता सङ्ग्रह– २०६७), ‘के छ हजुर हालचाल यता रु’ (कविता सङ्ग्रह– २०६७), ‘कसका जन्ती आए रु’ (बाल कविता सङ्ग्रह– २०७०) लगायतका गीत तथा कविताका कृतिहरु प्रकाशित छन् भने उनले ८०० भन्दा बढी गीतहरु गाएकी छन् ।
उनका ८० भन्दा बढी क्यासेट एलबम तथा म्युजिक भिडियोहरु सार्वजनिक छन् । कोइराला तीजका गीतहरुको सङ्कलन र गायनमा पनि विगत लगभग पाँच दशकदेखि निरन्तर योगदान गर्दै आएकी व्यक्तित्व हुन् ।
उनका ‘पाइन खबर’, ‘ऐना हेरेर’, फूलको बासना’, झिलझिल सितारा’, आमा तिम्रो दूधको भाराले’ लगायतका गीतहरु चर्चित छन् । मुख्यतः जनपक्षीय तथा देशभक्तिपूर्ण गीतहरुको सङ्कलन र गायनका क्षेत्रमा क्रियाशील नारी प्रतिभा कोइरालाले यसपूर्व पनि विभिन्न संघसंस्थाहरुबाट मानसम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेकी छन् । विगतमा सङ्गीत–नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यका रुपमा रहेर काम गरेकी कोइराला विभिन्न साहित्यिक एवम् सांस्कृतिक सङ्घसंस्थाहरुमा पनि आबद्ध छन् ।
‘गण्डकी वाङ्मय पुरस्कार’बाट यसपूर्व भेषजराज शर्मा— २०५३, डा भवानीप्रसाद पाण्डे (भास्कर)– २०५५, दिल साहनी— २०५७, कुलबहादुर केसी— २०५९, नुमराज बराल— २०६१, केदार शर्मा ढकाल— २०६३, कुलप्रसाद खनाल— २०६५, देवेन्द्र लम्साल— २०६७, डा रविलाल अधिकारी— २०६९, पोषराज पौडेल— २०७१, गोपीरमण उपाध्याय— २०७३, रविकिरण निर्जीव— २०७५, चिन्तु गिरी– २०७७ र नारायण परिश्रमी– २०७९ पुरस्कृत वाङ्मयसेवीहरु हुन् ।
गण्डकी साहित्य सङ्गमद्वारा सञ्चालित ‘गोकुल वाङ्मय पुरस्कार’द्वारा यसपूर्व देवीप्रसाद किसान (केवलपुरे)— २०५२, खगेन्द्र सङ्ग्रौला— २०५४, गोविन्द भट्ट— २०५६, श्यामप्रसाद शर्मा— २०५८, रमेश विकल— २०६०, निनु चापागाईँ— २०६२, मोहन वैद्य (चैतन्य)— २०६४, आनन्ददेव भट्ट— २०६६, घनश्याम ढकाल— २०६८, मोदनाथ प्रश्रित— २०७०, हरिहर खनाल— २०७२, जीवन शर्मा— २०७४, डा ऋषिराज बराल– २०७८, र ईश्वरचन्द्र ज्ञवाली— २०८० पुरस्कृत भइसकेको जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिएका छन् ।
तपाईको प्रतिक्रिया