बिमा प्राधिकरणको कार्यक्रममा ८४ युनिट रगत संकलन

पोखरा । नेपाल बिमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव तथा बिमा दिवसको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ८४ युनिट रगत संकलन भएको छ ।
बुधबार प्राधिकरणको गण्डकी प्रदेश कार्यलय पोखराको आयोजनामा भएको कार्यक्रममा रक्तदाता केदारनाथ अधिकारीलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापती उर्मिला खड्काले बल्ड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गरेको प्राधिकरणका गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले जानकारी दिए ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्काले रक्तदानको महत्वमाथि प्रकाश पार्दै रक्तदान किन र कसले गर्ने भन्ने बारेमा धारणा राखेकी थिइन् ।
नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्रको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै मिश्रले रक्तदान जीवनदान भएकाले रक्तदान गरेर पुण्य कमाउन सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारी, निप्स च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल, सर्भेयर एसोसियसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारीले बिमा प्राधिकरणले गरेका गतिविधिहरूको प्रशंसा गर्दै वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा जीवन, लघु तथा निर्जीवन बिमा का कर्मचारी, बिमा अभिकर्ता, सर्भेयर लगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको सञ्चालन नेपाल बिमा प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।
प्राधिकरणले ५७ औं वार्षिकोत्सवको अवसरमा बैशाख २६ गते मानव आश्रममा भोजन वितरण, २९ गते फुटसल प्रतियोगिता, ३० गते जिल्ला ट्राफिक कार्यलय कास्कीको समन्वयमा सार्वजनिक यातायातमा स्ट्रिकर टासेर बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ भने जेठ १ गते प्रभातफेरी र शुभकामना आदान प्रदान तथा समीक्षात्मक कार्यक्रम गरिने जनाएको छ ।
तपाईको प्रतिक्रिया