शिक्षकमाथि पटक पटक बेइमानी

सायद बाबाटै बेइमानी संस्कारको दीक्षा प्राप्त भएरै होला, हरेक झट्केला छोराहरूले देखाउने व्यवहार अत्यन्त छुद्र, असहिष्णु, दम्भी हुनुको सँगसँगै प्रष्ट रूपमा बेइमानी हुने गर्दछ । केही दिन अघिको लक्ष्मी किशोर सुवेदीको नेतृत्वको शिक्षक आन्दोलनमा सामूहिकता, जवाफदेहिता र पारदर्शितापूर्ण प्रयास हुँदाहुँदै पनि अधिकांश झट्केलाहरुले देखाएको व्यवहारले उनीहरूको संस्कार, संस्कृति र सक्कली अनुहारलाई थप उदांगो देखाइदियो । लक्ष्मी किशोरजीले देखाउनुभएको तार्किकता, नेतृत्व क्षमता र सामूहिकताको पवित्र भावलाई आन्दोलनमा लतारिएर लाजै काजै सहभागिता सम्म जनाएका झट्केलाहरूको—‘केही भइहाल्यो भने हामी पनि थियौं है’ भनी मुख चुच्च्याउन पाइने अवसरवादिताले—हरेकको अनुहारमा पोतिएको मोसो र आत्मामा बोकिएको कपट स्पष्ट भएको छ ।
नजाउँ भने आन्दोलनको जस नेतृत्वले लिने, जाऊँ भने बाबुको खप्की खानु पर्ने धर्मसंकटले निम्त्याएको दुर्दशाले झट्केलाहरुको मर्मस्पर्शतालाई झल्काउँथ्यो । गाउँघरका सिधा साधाहरूलाई देश र जनताका लागि भनी फकाउनसम्म फकाउने, फकाएर भएन भने धम्क्याउने, सदा हिंसाको साहारा लिएर बाबुको समूहलाई संजीवनी सञ्चार गर्ने, जुरेलाले गुँडै पो लगाउने हो कि जस्तो झुस्सको दारी पालेर माक्र्स वा लेनिनको पर्यायवाची मै हुँ भन्ने तर्सो देखाउने समूहले—अरू त परै जाओस्—वर्गीय हित वा भलाइका लागि गरिएको आन्दोलनको महत्वलाई समेत वेवास्ता गरेको देखियो ।
सर्वेसर्वा, सर्वविज्ञ, सर्वव्यापी बाबुको गुणगान, बखान वा प्रशंसा नै सबैभन्दा ठूलो कुरा हो भन्ने ठान्नेहरू—बाबुको आशीर्वाद प्राप्त भएमा सातै खतबाट छुटकारा पाउन सकिन्छ, न्याय वा कानुन त बाबुले किनिदिएका खेलौना हुन् तसर्थ सामूहिक आन्दोलनको औचित्य छैन भन्नेहरु—र आन्दोलनबाट ५० कोस टाढा भाग्नेहरू अहिले अध्यक्षले गरेको सम्झौता धोखा हो भन्दै उल्टो अध्यक्षमाथि खनिएको देखिन्छ ।
बाबुका अगाडि कानुन, न्याय, तर्क, पेशाजस्ता सबैखाले हत्कण्डाहरू फिक्का सावित हुन्छन् । अरू कुनै तर्क वा दृष्टिकोणको पनि औचित्य रहँदैन । दबाव आन्दोलनको त कुनै अर्थ वा औचित्य समेत रहँदैन, दबाव आन्दोलनको सट्टामा त बाबुको आशीर्वाद नै सर्वोपरि रहन्छ भन्ने झट्केलाहरू शिक्षक महासंघका अध्यक्षमाथि खनिनुलाई कुनै नौलो वा अनौठो मान्नुपर्ने देखिँदैन ।
स्मल थिंकिङ समूह नेपालको शैक्षिक इतिहासदेखि आफ्नो व्यवसायका लागि कहिल्यै इमानदार रहन सकेन
गलत मनोविज्ञान !
मन, मस्तिष्क वा विचारले जे निक्र्यौल गर्दछ, सो नै कसैका लागि सर्वोपरि रहन्छ । हिंसात्मक मनोविज्ञानबाट प्रेरित हुनेहरू, अपराधीहरूलाई गुरु मान्नेहरुको मनोविज्ञान पनि स्वभावतः अपराधपूर्ण नै रहन्छ । यस्तो मनोविज्ञान बोक्नेहरु कहिल्यै पनि तर्क गर्न सक्ने क्षमतामा हुँदैनन् ।
लक्ष्मी किशोरजीलाई सडकमा छाडेर आफू लुसुक्क भाग्नेहरूले गाउँठाउँका सोझा मतदाताहरूको चेतनामा बन्धक तुल्याएर बाबुको समूहलाई तर मार्ने अवश्य बनाएका हुन् । तर अहिले त्यही बाबुको समूहले यीनै धूर्तहरूको स्वार्थका लागि उभारपूर्ण रूपमा ल्याइएको आन्दोलनमा कसरी सहयोग पुर्याए वा असहयोग गरे भन्ने कुराको चेत खुल्न आवश्यक देखिन्छ ।
यो समूह जसले लक्ष्मी किशोरजीलाई सडकमा एक्लै छाडेर रमिता हेर्ने रणनीति अपनायो, यो समूह कहिल्यै पनि नागरिक अधिकार, विधिको शासन र न्यायको पक्षमा उभिन जानेन । वर्गीय हित वा पेशागत सुरक्षाका लागि नेतृत्वलाई साथ वा आड भरोसा दिने कुरा त परै जाओस्, नेतृत्व प्रतिको धोखा र बेइमानी प्रदर्शन गरेर आफ्नो सक्कली अनुहार देखाइसकेको छ ।
यो समूहले नेतृत्वलाई असहयोग मात्र गरेन, आपराधिक डिजाइन गरेर शिक्षकको नेतृत्वमाथि शारीरिक आक्रमणको असफल प्रयास समेत ग¥यो । लक्ष्मी किशोरजी आवाजविहीन शिक्षकहरूको आवाज हुनुहुन्छ, धर्मछाडाहरूबाट अलग्गै रहनुभएको छ । शिक्षकहरूको आन्दोलनलाई उपलब्धिमूलक निष्कर्षमा पुर्याउन सक्नुभएको छ, त्यसकारण उहाँ बधाई र धन्यवादका पात्र पनि हुनुहुन्छ ।
त्यत्तिको सालिन नेतृत्वलाई मन, वचन र कर्मले साथ दिनुको बदला आन्दोलनले बाबु नानीहरूको पढाइ विग्रियो, विद्यालय खोलौँ पनि भन्ने—उता नेतृत्वले सरकारसँग गरेका उपलब्धिमूलक सम्झौताहरूको विरोध वा आलोचना पनि गर्दै गर्ने दलाल प्रवृत्तिले—उहाँहरूको मुखमा राम–राम तर बगलीमा छुरा प्रवृत्तिको उजागर भएकै छ ।
झण्डै २८/२९ दिन लामो शिक्षक आन्दोलनलाई सफल तुल्याउने नाममा काठमाडौंमा एकत्रित समूहभित्र सडकको शिक्षक आन्दोलनलाई सफल तुल्याउनेहरूको मात्र उपस्थिति थिएन, त्यहाँ माथि उल्लेख गरिएअनुसारका आन्दोलनलाई कुनै न कुनै रूपमा विचलित तुल्याउने, शैक्षिक आन्दोलनलाई निस्तेज तुल्याउने, आन्दोलनको रीत वा अनुशासनलाई विथोल्ने, शिक्षकहरूको आन्दोलन प्रतिको उत्साहलाई निरुत्साहित तुल्याएर बाबुको आज्ञाकारी दास हौं भन्ने पहिचान दिने उद्देश्य पनि लुकेको रहेछ ।
त्यहाँ यस्ता पनि मानिसहरूको उपस्थिति देखियो कि, उनीहरूको मस्तिष्क समाजप्रति पटक्कै जवाफदेही थिएन । त्यसैले त उनीहरूमा रहेको हेटफुल इनसाइट/स्मल थिंकिङको मनस्थितिलाई सहजै पहिचान गर्न सकिन्छ । स्मल थिंकिङ समूह नेपालको शैक्षिक इतिहासदेखि आफ्नो व्यवसायका लागि कहिल्यै इमानदार रहन सकेन । इतिहासमा यो समूहले केवल बाबुका लागि अस्वस्थ र असन्तुलित राजनीतिलाई अँगाल्ने काम गर्यो ।
आन्दोलनबाट भाग्न पाइँदैनः
यदि बाबुका झट्केलाहरू लक्ष्मी किशोरको आन्दोलनप्रति इमानदार हुन्थे भने, आन्दोलनलाई लाञ्छित गरी विज्ञप्ति निकाल्ने, विद्यार्थीको पढाइ बिग्रेको भनेर आन्दोलनविरुद्ध समुदाय उचाल्नेहरू अब केही उपलब्धि भए—‘हाम्रै कारणले भएको हो’ भन्न, र केही नहुँदा ‘अध्यक्षले गरेनन्’ भन्दै सरोकारवालाहरूको बुद्धि भुट्न उद्यत हुने नै छन् ।
साँचिकै शिक्षक आन्दोलनले सन्तोषजनक उपलब्धि हासिल गरेकै छ । विद्वान शिक्षकहरूले चाहे जस्तो सबैका सबै मागहरू एकै पटकमा पूरा हुनु अवश्य सम्भव थिएन । निजामति अस्पतालमा छुटसहितको सेवा, अस्थायी वा राहत वा बालविकासमा कार्यरत शिक्षक–कर्मचारीहरूको बिरामी विदा संचिती र भुक्तानी, सेवा निवृत्त हुँदा विदावापतको रकम प्राप्ति, निजामती सरहको ग्रेड कायम, स्थायी तथा अस्थायी शिक्षक तथा कर्मचारीहरूलाई निजामति सरहको दुर्गम भत्ता, निजी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीहरूलाई सामाजिक सुरक्षा योजनामा समावेश जस्ता महत्वपूर्ण सम्झौताहरूले शिक्षक आन्दोलनको ओजलाई थप उचाइमा अवश्य पुर्याएको छ ।
यतिका उपलब्धि हासिल गर्न सक्ने क्षमतावान नेतृत्वको टिंगरी हेर्ने गरी आन्दोलनबाट भाग्नेहरू साँच्चिकै पेशाप्रति इमानदार छैनन् र यिनीहरू सदा सदा लागि बेइमान वा धोखेबाज हुन् भन्ने थप पुष्टि भएको छ ।
दलाल वा दोधारे प्रवृत्तिः
केही दिनका लागि दिनभर माइतीघर मण्डला वा बानेश्वरमा उपस्थिति जनाई लवाक्ने, रात परेपछि खुराफातको कोसेली बोकेर बाबु कहाँ चाकडीमा दौडने, यता गाउँ समाजमा विद्यालय खोल्नुपर्छ भन्दै विद्यार्थी वा अभिभावक उचाल्नेहरूको दलाल वा दोधारे पारा शिक्षक आन्दोलनलाई कमजोर तुल्याउने प्रमुख कारक अवश्य हो ।
यतिका असहयोग हुँदाहुँदै पनि आफ्नो धैर्यशील कार्यशैली, क्षमता र समर्पणले शिक्षक नेतृत्वले चार लाख शिक्षकहरूको हितका लागि आफ्नो पद, प्रतिष्ठा र शरीरको बाजी लगाएको थियो । उहाँको त्यो सामूहिक सोच वा दृष्टिकोणलाई बेइमानहरूको साँघुरो विचारले मूल्यांकन गर्न अवश्य सक्दैन ।
नेता स्वभावैले पनि मार्गदर्शक हुने गर्दछ, उसको दृष्टिकोण, बौद्धिक वा तार्किक क्षमताले समूहलाई निश्चय नै पनि सुरक्षित गन्तव्यतर्फ अग्रसर तुल्याउँछ । यदि लक्ष्मी किशोरको ठाउँमा बाबुका गैरसन्तानमध्ये कसैले नेतृत्व गरेको हुन्थ्यो भने, अवश्य नै पनि उल्लेखित उपलब्धि असम्भव नै रहन्थ्यो । तसर्थ सबै शिक्षकहरूले लक्ष्मी किशोरजीलाई साधुवाद दिनैपर्ने हुन्छ । नेतृत्वको यो क्षमतालाई प्रणालीविहीन, अनुशासनहीन बाबुका झोले दासहरूले बुझ्न सक्ने कुरै रहँदैन ।
सोझालाई नचाहिँदो सपना देखाएर रनभुल्ल तुल्याउने, असहमत हुनेहरूलाई बघिनी वा अरिङ्गालले झैँ झम्टिने, समाजमा गरिबीबाट समृद्धि ल्याउने सपना रटान गरी रहने, यथार्थमा कहिल्यै नटेक्ने झट्केलाहरूको बेइमानी चरित्र यसपटकको शिक्षक आन्दोलनमा थप प्रष्ट भएको छ । आन्दोलनमा सहभागी हुने केही बेइमानहरू आन्दोलनभित्रका सामान्य कमी–कमजोरीहरू वा त्यहाँभित्रको ऊर्जा बाबु कहाँ पु¥याउने दूत मात्र थिए भने सहभागिता पनि नजनाउने, आर्थिक, नैतिक वा भौतिक कुनै पनि खाले योगदानमा पनि समावेश नहुनेहरूले—‘सम्झौता उपलब्धीमूलक भएन, नेतृत्वले घुँडा टेकेको हो’—भनेर भ्रम छर्ने गरेको पाइन्छ ।
वास्तवमा घाती, बेइमानी, छद्मवेशी, धूर्त र ढाँटहरूको यदि प्रतियोगिता नै हुने हो भने तिनीहरूलाई कसैले जित्न सक्दैन । उनीहरूलाई बाबुबाट प्राप्त भएको शिक्षाले जनतालाई राख्नुपर्ने सम्मको गुमराहमा राख्दै आएको पनि थियो । तर अब त अति भइसकेपछि बाबु र जनकजननी थाहा नभएकाहरु दुबैको मुकुण्डो उत्रिसकेको छ ।
अब त बाबु र झट्केला दुबैको अवस्था दयनीय हुने नै छ । त्यो दिन धेरै टाढा छैन—भविष्यको प्रतीक्षामा रहौं ।
पौडेल पूर्व शिक्षक हुन् ।
तपाईको प्रतिक्रिया