पोखरा १३ मा तरबुजा महोत्सव

पोखरा । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिका वडा नम्बर १३ मा तरबुजा मेला २०८२ भएको छ । पोखराका तरबुजा खेती कृषकलाई सिधैं उपभोक्तासँग भेट गराउनका लागि बिहीबार पोखरा १३ को प्रांगणमा मेला आयोजना गरिएको हो ।
जहाँ कृषक र स्थानीय बिच तरबुजा किनमेल भएको थियो । मेलामा उपस्थित स्थानीय तथा किसान दुबै खुसी देखिएका थिए । मेलामा ५० रुपयाँ प्रति किलोमा तरबुजा बिक्री गरिएको थियो । कार्यक्रममा पोखरा १३ को विजयपुर फाँटसँगै पोखराका अन्य क्षेत्रमा पनि गत वर्षदेखि व्यावसायिक रुपमा तरबुजा खेती भइरहेको पोखरा महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
गत वर्ष १०/१२ रोपनीमा भएको तरबुजा खेती अहिले लगभग २ सय रोपनीमा खेती भएको छ,’ उनले भने, ॅपोखरा महानगरको अन्तर्गतको सुरौंदीको तल्लो भागदेखि पामे, वडा नम्बर ३२, अर्मलासम्म व्यावसायीक तरबुजा खेती भएको छ ।’
महानगरको सबै क्षेत्रमा परीक्षण गरिसकेपछि कृषक हौसिएको उनले बताए ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाले विभिन्न समयमा प्राविधिक सहायतासमेत उपलब्ध गराएर कृषकहरूले लगाएका तरबुजा खेतीको नियमित अनुगमन र रेखदेखसमेत गरिरहेको छ । पोखरामा उत्पादन भएका तरबुजा पोखरामा नै खपत हुने उनको अनुमान छ । यसको प्रवद्र्धनका लागि महानगरपालिकाले बजारीकरणमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको छ ।
पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले आफ्ना वडाका तरबुजा कृषकलाई हौसला प्रदान गर्न मेला आयोजना गरिएको बताए । कृषक हौसिएर यो क्षेत्रमा लागेकाले आफ्नो वडाबाट मात्र ५० लाखभन्दा बढीको तरबुजा बिक्री हुने उनको अनुमान छ । वडा कार्यालयको आयोजनामा बिहीबार तरबुजा मेला नै आयोजना गरिएको उनले जानकारी दिए । बरालले कृषकको मेहनत र पसिनाको फललाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको बताए ।
तरबुजा खेती गर्नेहरुसँग बिचौलियाहरु खेल्न नपाओस् अनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न मेला आयोजना गरिएको हो,’ उनले भने, ॅमेलामा ४/५ हजार यहाँका स्थानीयले स्थानीय उत्पादन किन्न पाए । मेलामा सस्तोमा ताजा तरबुजाको किनबेच भएको थियो ।’ मेलाकै कारण कृषकहरुमा तरबुजा खेती सम्बन्धी अनुभव आदानप्रदान र उत्पादनका बारेमा जानकारी लिने माहोल मिलेको उनले बताए ।
वडा स्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापनमा र पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा मेला सञ्चालन भएको हो । मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविरसमेत समावेश गरिएको थियो ।
तपाईको प्रतिक्रिया