पोखरा–को–अपरेटिभ कलेज सहकार्य

समाधान संवाददाता २०८२ जेठ २ गते ११:३१

पोखरा ।
पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र कोअपरेटिभ कलेज अफ मलेसियाबिच सम्बन्ध विस्तार भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा सो कलेजका डाइरेक्टर जनरल दातुक मोहमद अलिविन मन्सुरको निमन्त्रणामा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको नेतृत्वमा सहकारीका सञ्चालक, लेखा समिति र कर्मचारीको एक टोलीले कलेजको औपचारिक भ्रमण गरेको छ ।

Advertisement


यस अवसरमा डाइरेक्टर मन्सुरले सहभागीहरुलाई स्वागत गर्दै कलेज परिसर, कक्षाकोठा, सभाकक्ष, सहकारी पसल आदि स्थानको अध्ययन अवलोकन भ्रमण गराएका छन् । मलेसियाको एकमात्र सहकारी शिक्षा तथा तालिम केन्द्रका रुपमा प्रख्याती कमाएको उक्त कलेज सन् १९५६ मा स्थापना भएको हो ।


हाल सहकारी कलेजलाई कोअपरेटिभ इन्स्टिच्युट अफ मलेसियाको नामबाट सञ्चालन गरिएको छ । कलेजले सहकारी व्यवस्थापनमा एमबिए, लेखा परीक्षण, मानव संसाधन व्यवस्थापन र डेक्सटप प्रकाशनसम्वन्धी, प्रार्थना कक्षा, पुस्तकालय साथै व्यवसाय प्रशासनमा स्नातक डिग्री र अन्तर्राष्ट्रिय स्तरका तालिमहरु चलाएको छ ।


एउटा सहकारी पसलसमेत यसले सञ्चालनमा ल्याएको छ । हाल मलेसियाभर १६ हजार ९ सहकारीमा ७२ लाख सदस्य आवद्ध छन् । मलेसियामा सहकारी संघ, संस्थाले विशेष गरी बैकिङ, बचत तथा ऋण, कृषि, यातायात, उपभोक्ता पसल, हाउजिङ, निर्माण व्यवसाय, उधोग र सेवा क्षेत्रमा काम गरिरहेको कलेजका भाइस चान्सलर प्राडा अजली विन महमदले बताए ।


पोखरा रोयल सहकारीका सञ्चालक हरिबहादुर गुरुङले संस्थाले गरिरहेका असल अभ्यासहरुको संक्षिप्तम प्रस्तुतिकरण गरे ।

Advertisement

भेटमा भविश्यमा अन्तर सहकारी सम्बन्धमार्फत मानव पुँजीको उच्चतम प्रयोग गर्दै उच्च स्तरका तालिम सञ्चालन गर्ने र दुई संस्थाबिच रणनैतिक सम्वन्ध स्थापित गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको पोखरा रोयलका सूचना अधिकारी मिलन ढकालले बताए ।

तपाईको प्रतिक्रिया