
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने थाक पाँच गाउँ जोड्ने रिङरोड सडकको ठिनी खोलामा निर्माणधिन मोटरेबल पुलले गति लिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको रिङरोड जोड्ने ठिनी खोलामा मोटरेबल पुल निर्माण सुरु गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय (गण्डकी) अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले घरपझोङ रिङरोड सडक जोड्न ठिनी खोला पुल निर्माणका लागि चालु वर्षको २९ साउनमा अमित अषेश जेभी कन्ट्रक्सनसँग बहुवर्षीय ठेक्का सम्झौता गरेको हो ।
दुई वर्षको सम्पन्न सम्झौता अवधि तोकिएको ठिनी खोलामा निर्माणधिन प्रिस्टेज पुल निर्माणको ठेक्का सम्झौता लागत ४ करोड ४६ लाख रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी ईन्जिनीयर घनश्याम रोक्कामगरले जानकारी दिए । ठिनी खोलामा जेभी पार्टनर अमित विल्डर्सले धमाधम पुल निर्माणको काम अघि बढाईरहेको ईन्जिनीयर रोक्कामगरको भनाई छ ।
ठिनी खोला पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालु वर्ष एक करोड बजेट विनियोजन भएको ईन्जिनीयर रोक्कामगरले बताए । सम्झौता अवधि आगामी आर्थिक वर्ष २०८३ को २८ साउनसम्म ठिनी खोलामा पुल निर्माण सम्पन्न हुने ईन्जिीनीयर रोक्कामगरले उल्लेख गरे । ‘ पुल निर्माणको लागि बहुवर्षीय ठेक्का हो, चालु वर्षको बजेटले तिब्र गतिमा काम अघि बढेको छ’, ईन्जीनीयर रोक्कामगरले थपे,‘ बजेट बढी भएको भए धेरै काम अघि बढिसक्थ्यो, अर्को वर्ष पुरै बजेट सुनिश्चित भएमा तोकिएको समयमा पुलको काम सम्पन्न भईसक्छ ।’
मुस्ताङको घरपझोङ रिङरोड सडक जोड्ने ठिनी खोला प्रिस्टेज पुलको लम्बाई ३५ मिटर र पुलको दुबैतर्फको फुटपाथ लेन २ दशमलव ४ मिटर गरी ८ दशमलव ४ मिटर चौडा रहने पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ । ठिनी खोलामा निर्माणधिन पुलको भौतिक प्रगती ४५ प्रतिशत र वित्तिय प्रगती ३७ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।
हालसम्म निर्माण कम्पनीले ठेक्का मोबिलाईजेसन वापत ७७ लाख र वित्तिय पहिलो किस्ता ९१ लाख रकम गरी एक करोड ६८ लाख भुक्तानी भईसकेको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ । ठिनी खोलामा निर्माणधिन पुलको चालु वर्षको असारसम्ममा दुबैतर्फ फाउन्डेसन, पिल्लर र पिल्लरको क्याप लेवलसम्मको काम सकिने कार्यालयले जनाएको छ ।अर्को वर्षमा पुलको स्ल्याप ढलान ,फुटफाथ, एप्रोज रोड र पुल फिनिसिंङका कार्य हुनेछ ।
घरपझोङ रिङरोड सडक जोड्ने ठिनी खोलामा पक्की पुल नहुँदा बर्खायामको समयमा हेभी प्रकारका सवारी साधनलाई आउजाउमा निकै समस्या भएको थियो । निर्माण कम्पनीले ठिनीको खोलामा डाईभर्सन गरी अस्थायी काठेपुल स्थान्तरण समेत गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रदेस सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँ अन्तर्गत जोमसोम, ठिनी, ढुम्बा,स्याङ, छैरो—चिमाङ र मार्फा जोड्ने गरी १० दशमलव ५ किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ । रिङरोड सडक अन्तर्गत जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी कालोपत्र र ढुम्बादेखि छैरो—चिमाङसम्म चट्टान काटेर ५ किलोमिटर ग्राभेल सडक विस्तारको काम निर्माणधिन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
घरपझोङ रिङरोेड सडक सम्पन्न हुने र रिङरोड जोड्ने ठिनी खोलामा पुल निर्माण सम्पन्न भएमा ढुम्बाताल जाने पर्यटकलाई बाह्रै महिना सहज हुने वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिए । सडकसँगै पुल बनेपछि घरपझोङ गाउँपालिकाको थाक पाँचमा उत्पादन हुने स्याउ,उवा,फापर,आलु लगायतका अन्नबालीको सहज बजारिकणमा टेवा पुग्ने वडाध्यक्ष थकालीको भनाई छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
एकता माविमा शैक्षिक प्रदर्शनी
एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया