तरबुजा खेतीमा हौसिए पोखरेली

धनबहादुर गुरुङ २०८२ जेठ ४ गते ११:०१

धनबहादुर गुरुङ, पोखरा ।
खडेरीले तोरी पनि नफलेको ठाउँमा अहिले लटरम्म तरबुजा छन् । तोरीबाट भन्दा तरबुजा बेचेर बढी आम्दानी भएको छ । अचेल उनलाई खडेरीको सुर्ता छैन । अघिल्लो वर्ष र यस वर्षको कमाईले निकै खुसी छन्, पोखरा १३ का रोशनराज बराल ।
तरबुजा लगाउनुअघि उनले तोरी फलाउन खोजेका थिए । तर, उम्रिएन । त्यसपछि, महानगरको टोली अनुगमनमा पुग्यो ।

Advertisement

‘धानपछि कृषि महाशाखाको समन्वयमा त्यहाँ तोरी लगाएका थियौं । खडेरीले तोरी उम्रिएन । अनि महाशाखाबाट अनुगमनका लागि प्रमुख नै जानुभयो । हेरेपछि यो माटो त बलौटे छ, यसमा तरबुजा लगाउन भन्नुभयो’, रोशनले सुनाए, ‘परीक्षणका रुपमा पोहोर ३ रोपनीमा लगाएका थियौं । अहिले विस्तार गरी १३ रोपनी पुर्‍याएका छौं ।’


पोखरा १३ स्थित ढाँडबेंसीमा मणिदीप कृषि फर्म स्थापना गरी तरबुजासँगै अन्य खेतीमा तल्लीन भएको रोशनले सुनाए । ‘पोहोर ४ हजार किलो बेचेको थियौं । ६० रुपैयाँ किलोका दरले बेच्दा पनि २ लाखभन्दा बढी आम्दानी गरिएको थियो,’ उनले भने, ‘यो वर्ष १३ रोपनीमा लगाइएको छ । फल हेरेर आंकलन गर्दा सबै खर्च कटाएर १८ देखि २० नाफा हुन्छ भन्ने छ ।’ अहिले फर्ममा ६ प्रकारका तरबुजा रहेको उनले सुनाए ।


पोखरा २८ की पार्वती अधिकारी पनि तरबुजा खेती सफल भएपछि हौसिएकी छन् । उनले विजयपुर खोलाको फाँटमा गत वर्षदेखि तरबुजा रोपेकी हुन् । पोहोरको आम्दानीले लोभ्याएपछि अरु साथीलाई पनि लगाउन आग्रह गर्दै क्षेत्र बढाएको उनले सुनाइन् । काफलघारी पीपलडाली कृषक समूहमा आवद्ध ६ घर परिवारले १० रोपनीमा तरबुजा खेती गरेका छन् ।


‘बगर जस्तो भए पनि जग्गा खाली नराख्नुहोस् । तपाईंकोमा तरबुजा खेती राम्रो हुन्छ भनेर सल्लाह पायौं,’ उनले भनिन्, ‘सहुलियतमा बीउ र प्राविधिक ज्ञान पनि प्राप्त भयो । अहिले राम्रै उत्पादन भयो ।’ अघिल्लो वर्ष १ रोपनीबाट ५० हजार रुपैयाँ आम्दानी गरेको अधिकारीको भनाइ छ । यो वर्ष अझै बढी फाइदा हुनेमा उनी ढुक्क छिन् ।

Advertisement


‘अघिल्लो वर्ष १ रोपनीमा लगाउँदा ५ हजार नाफा भएको थियो । यो वर्ष ३ रोपनीबाट डेढ लाख रुपैयाँ फाइदा हुन्छ कि भन्ने छ,’ उनले भनिन्, ‘पहिलो वर्ष २ जनाले मात्र २ रोपनीमा लगाएका थियौं । हामीले गरेको राम्रो भएपछि यो पालि ६ जना मिलेर १० रोपनीमा खेती गरेका छौं ।’


पोखरा १३ क्षेत्र तरबुजाका लागि उपयुक्त भएकाले कृषक यसप्रति आकर्षित भएको वडा कृषि सञ्जाल अध्यक्ष लालप्रसाद अधिकारी बताउँछन् । ‘नयाँ उत्पादनमा जोड दिनका लागि तरबुजा खेतीमा लागियो । सुरुमा केही आम्दानी पनि भयो,’ उनले भने, ‘पहिलो वर्षको आम्दानीले प्रोत्साहन पनि मिल्यो । हाम्रो वडामा हुने रहेछ, अब खेती विस्तार गर्नुपर्छ भनेर आँट पनि आयो ।

त्यसमा वडाका कृषक, वडाध्यक्ष , महानगर, कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेपछि अहिले वडामा लटरम्म तरबुजा छन् ।’
तरबुजा कृषकलाई ऊर्जा दिने काम गरिरहेको पोखरा १३ वडाध्यक्ष किरण बरालले बताए । कृषक हौसिएर यो क्षेत्रमा लागेकाले वडाबाट मात्र ५० लाखभन्दा बढीको तरबुजा बिक्री हुने उनको अनुमान छ । वडा कार्यालयको आयोजनामा बिहीबार तरबुजा मेला नै भयो ।


‘तरबुजा खेती गर्नेहरुसँग बिचौलिया खेल्न नपाऊन् र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न मेला आयोजना गरिएको हो,’ उनले भने, ‘मेलामा ४÷५ हजारले यहाँका स्थानीय उत्पादन किन्न पाए । मेलामा सस्तोमा ताजा तरबुजाको किनबेच भएको थियो ।’ मेलामा प्रतिकिलो ५० रुपैयाँका दरले तरबुजा बिक्री भएको थियो ।


पोखराभरका कृषक समूहका तरबुजा मेलामा बिक्रीका लागि राखिएको थियो । मेलाकै कारण कृषकमा तरबुजा खेतीसम्बन्धी अनुभव आदानप्रदान र उत्पादनबारे जानकारी लिने माहोल मिलेको उनले सुनाए । पोखरा १३ को विजयपुर फाँटसँगै पोखराका अन्य क्षेत्रमा पनि गत वर्षदेखि व्यावसायिक रुपमा तरबुजा खेती भइरहेको पोखरा महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् । ‘गत वर्ष १०/१२ रोपनीमा भएको तरबुजा खेती अहिले लगभग २ सय रोपनीमा छ,’ उनले भने, ‘पोखरा महानगरको अन्तर्गतको सुरौंदीको तल्लो भागदेखि पामे, वडा नम्बर ३२, अर्मलासम्म व्यावसायिक तरबुजा खेती भएको छ ।’


महानगरका सबै क्षेत्रमा परीक्षण गरिसकेपछि कृषक हौसिएको उनले बताए । आर्थिक विकास महाशाखाले विभिन्न समयमा प्राविधिक सहायतासमेत उपलब्ध गराएर कृषकले लगाएको तरबुजा खेतीको नियमित अनुगमन र रेखदेखसमेत गरिरहेको छ । तरबुजाको उत्पादन खेतीको अनुपातमा उत्साहजनक छ । ‘महानगरले बिउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान दिएका छौं । असिना छेक्ने जाली सबैलाई दिन सकिएन आवश्यकताका आधारमा ५० प्रतिशत अनुदानमै दियौं,’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण पाटो त बिउ दिनुभन्दा पहिल्यै खेती प्रविधि बारेमा तालिम दिएका थियौं ।’


सोही कारण यो वर्ष २ सय रोपनीबाट ५ सय टन तरबुजा उत्पादन भएको उनको अनुमान छ । पोखरामा उत्पादन भएका तरबुजा पोखरामा नै खपत हुने उनको अनुमान छ । यसको प्रवद्र्धनका लागि महानगरपालिकाले बजारीकरणमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको छ ।

‘उत्पादन हेर्दा धेरै भएछ भन्ने हो । तर यो उत्पादनले पोखरामा नै पुग्दैन किनभने यहाँ धेरै खरबुजा र तरबुजा बाहिरबाट पनि आयात भएको छ,’ उनले भने, ‘स्थानीयको उत्पादनलाई ध्यानमा राखेर हामीले होटल, रेस्टुरेन्ट र जुस व्यावसायीलाई स्थानीय उत्पालन खरिद गरिदिनुहोला भनेका छौं ।’ पोखराका विभिन्न ठाउँमा कोल्ड रुम, कोल्ड स्टोर्स अनि कृषि एम्बुलेन्स भएकाले उत्पादन खेर जाने हो कि भन्ने चिन्ता नलिन उनको आग्रह छ ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया