राष्ट्रपति भएपछि उपराष्ट्रपति चाहिँदैनः थापा

समाधान संवाददाता २०८२ जेठ ५ गते १२:०४

पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रुपा गाउँपालिकाको दोस्रो अधिवेशनमा पार्टीभित्रको फोहोर मेट्ने र देशको विकासमा कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । सम्मेलनमा थापाले कांग्रेस आइतबार देशको मुख्य शक्ति रहेको दाबी गर्दै पार्टीको कमजोरी र जनताको असन्तुष्टिप्रति गहिरो आत्मसमीक्षा गर्नुपर्ने जनाए ।

Advertisement


‘कांग्रेस आज पनि बलियो शक्ति हो, तर पार्टीभित्र फोहोर छ, दाग लागेको छ, त्यो मेट्नुपर्छ,’ उनले भने, ‘हामीले गरेको गल्ती कसैले बोक्न हुँदैन । पार्टी सदस्यहरूको भरोसालाई दुरुपयोग गर्न दिनु हुँदैन । अब समय आएको छ कि जिम्मेवारीका साथ अघि बढ्नुपर्छ ।’


थापाले संविधान निर्माणदेखि संघीयता लागूसम्म कांग्रेसको भूमिका स्मरण गर्दै भने, ‘माओवादी आन्दोलनका बेला सबैभन्दा बढी मान्छे कांग्रेसकै मरेका थिए, तर कांग्रेसले नै हिंसाबाट देशलाई बाहिर निकालेको हो ।’ उनले नेपाली कांग्रेसले गनगन गरेरमात्र बस्न नहुने र देश निकासको बाटो देखाउनुपर्ने बताए ।


महामन्त्री थापाले नेपाली समाज रिसाएको जनाउँदै परिवर्तन भए पनि अवस्था किन बदलिएन भन्ने जनताको गुनासो रहेको उल्लेख गरे । उनले भने, ‘हाम्रो जीवनस्तर, आय र सोच २० वर्ष पहिलेभन्दा फरक छ । त्यो परिवर्तनको चेत कांग्रेसले नै दिएको हो ।’


उनले निजीकरणको पक्षमा कांग्रेसले जोखिम उठाएको उल्लेख गरे । ‘४८ सालमा सरकारको जुत्ता, चिनी, कपडा उद्योग सबै घाटामा थिए, कांग्रेसले निजीकरणको जोखिम लियो । अहिले एमालेले प्रचार गरिरहेको छ कि कांग्रेसले बेचेर खायो, जुन सरासर गलत हो ।’ उनले टेलिकम, बुद्ध एयर, वृद्धभत्ता लगायत कांग्रेस नेतृत्वमा भएका महत्वपूर्ण नीतिगत निर्णयको चर्चा गरे ।

Advertisement


‘१२ खर्बको राजस्व तीन गुणा बढाएर ३६ खर्ब बनाइएको हो । त्यो कांग्रेसको नेतृत्वमा सम्भव भएको हो,’ उनले भने । देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै थापाले संविधान संशोधनको आवश्यकता औंल्याए । ‘अहिले जसरी देश चलिरहेको छ, त्यसरी चल्दैन ।

खर्च कटौती गर्नुपर्छ । राष्ट्रपति भएपछि उपराष्ट्रपति चाहिँदैन । बरु सांसदको संख्या घटाउनुपर्छ, संघदेखि प्रदेशसम्म,’ उनले भने । थापाले कांग्रेसले अब विकास र समाधानमुखी राजनीति गर्नुपर्ने स्पष्ट पारे । ‘अब समय आएको छ, कांग्रेसले देश चलाउने गरी नयाँ दिशा दिनुपर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया