विद्या र खेमराजकाे शिष्ट र शालीन प्रचारशैली

समाधान संवाददाता, पाेखरा
कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । हेलिकोप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि उक्त क्षेत्र खाली थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रवीन्द्रकी पत्नी विद्या भट्टराईलाई टिकट दिँदा प्रतिपक्षी दल कांग्रेसले पार्टीमा लामो समय योगदान पुर्याएका खेमराज पौडेललाई चुनावी मैदानमा उतारेको छ । विद्यार्थी राजनीतिबाट खारिएकी विद्या र राजनीतिमै ६ दसक बिताएका खेमराज आआफ्ना चुनावी एजेन्डा लिएर मतदातामाझ पुगेका छन् । प्रचारप्रसारको अन्तिमसम्म आइपुग्दा सम्म २ उम्मेदवारको प्रचारशैली शिष्ट र शालीन छ । पार्टीवृत्तमा गालीगलोज चले पनि यी २ उम्मेदवारले त्यो शैली अपनाएनन् । प्रस्तुत छ दुवै उम्मेदवारसँग चुनावी अभियान केन्द्रित अन्तर्वार्ताः
अरुलाई गाली नगर्ने राजनीतिको पक्षमा छु
विद्या भट्टराई, नेकपा उम्मेदवार (कास्की २)
— पहिलोपटक चुनाव लड्दाको अनुभूति कस्तो भाछ ?
स्ववियु चुनाव त लडेकी थिएँ । यस्तो चुनाव पहिलो नै हो । म नलडे पनि पटकपटक नजिकबाट अनुभूति गरेकी थिएँ । फरक खालको माया, जनताको सद्भावचाहिँ आफैंले अनुभूति गर्न पाएकी छु ।
— मतदाताको प्रतिक्रिया कस्तो छ ?
नसोचेको घटना भयो । रवीन्द्र अधिकारीलाई गुमायौं । राम्रो नेता हुनुहुन्थ्यो, त्यसको कसरी पूर्ति होला भन्ने चिन्ता छ । ५ वर्षका लागि चुनिएको नेकपाको सरकारले काम गरोस् भन्ने छ । जनअपेक्षा धेरै छ । सरकारले धेरै काम गर्नुपर्नेछ । मतदाताहरु रवीन्द्र अधिकारीलाई सम्झेर भावविह्वल हुने गरेको पाएकी छु । यति धेरै माया रवीन्द्रजीले कसरी सम्हाल्नुभएको रहेछ भनेर मलाई ऊर्जा प्राप्त भएको छ । मेरो आत्मविश्वास बढेको छ ।
— मतदाताको प्रतिक्रिया कस्तो छ ?
रवीन्द्रजी सम्झेर आमाबुवाहरु भाव विह्वल हुनुभएको हुन्छ । त्यसले मलाई बढी जिम्मेवार बन्नुपर्ने अनुभूति गराएको छ । उहाँहरुको सद्भाव, प्रेम र मायाले मलाई ठूलो आत्मविश्वास दिएको छ । धेरै जनताको माया रवीन्द्रजीलाई रहेछ । त्यो मायालाई मैले पनि कायम गरेर जानुपर्छ भन्ने लागेको छ । सम्बन्ध राखेर जानुपर्छ भन्ने लागेको छ ।
— के भनेर भोट मागिरहनुभएको छ ?
५ वर्षका लागि हामीले जुन घोषणापत्र बनाएका थियौं, त्यसैलाई आधार बनाएकी छु । घोषणापत्रका प्रतिबद्धता केही पूरा भइसकेका छन् । केही बाँकी छन् । बाँकी प्रतिबद्धता पूरा गर्छु भनेकी छु । पूर्वाधार विकास अन्तर्गत क्षेत्र नम्बर १ र ३ सँग जोड्ने सडक पूर्वाधार बनाउने काम पूरा भएको छ । पोखरा चक्रपथ निर्माण गर्नुपर्ने छ । पोखरा विमानस्थल निर्माण पूरा गर्न सघाउनु छ । पहिलो कुरा पूर्वाधार विकास र त्यसमा पनि सडक पहिलो प्राथमिकता छ । पोखरा महानगरपालिकाको २१, ३३, १६ र २० जस्ता वडाहरु अझै दुर्गम जस्ता छन् । तिनमा सडक पूर्वाधार अझै पूरा भएको छैन । नयाँ सडक निर्माण गर्नुपर्ने छ । पुराना सडकलाई स्तरोन्नति गर्नुपर्नेछ । दोस्रो कुरा भनेको हामी पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्नुपर्छ भनेर लागिरहेका छौं । त्यसका लागि पोखरा विमानस्थल समयमा पूरा गर्नुपर्छ । प्रदेश सरकार र संघ सरकार त्यसका लागि उत्तरदायी भएर लाग्नुपर्छ । त्यसका लागि हामी लाग्छौं भनेर मैले भनेकी छु । पोखरामा पर्यटन विद्यालय आवश्यक छ । वन विज्ञान क्याम्पस छ, त्यसलाई स्तरोन्नति गर्नुपर्छ । प्रविधिसँग जोडेर सामुदायिक विद्यालयलाई स्तरोन्नति गर्नुछ । जस्तोसुकै उपचारका लागि काठमाडौं जानु नपर्ने गरी पोखराकै क्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्नुपर्छ भनेर म लागेकी छु ।
उत्पीडितहरुका समस्या छन् । श्रमिकका समस्या छन् । महिलाका समस्या छन् । पेसागत समस्या छन् । तिनलाई सम्बोधन गर्ने गरी ऐन नीति नियम बनिरहेको छ र त्यसलाई कार्यान्वयन गर्न म लाग्छु । युवाहरुलाई सार्वजनिक र निजी क्षेत्रमा कसरी रोजगारी उपलब्ध गराउने भनेर म लाग्नेछु ।
— तपाईं सांसद हुने नीति निर्माण गर्न कि विकास ?
हाम्रो निर्वाचन क्षेत्रको धेरै ठाउँमा जनताको पहिलो आवश्यकता विकास हो । सांसद भएर नीति निर्माणमा लाग्ने कुरा छँदैछ । तर मैले मेरो निर्वाचन क्षेत्रको आवश्यकतालाई ध्यान दिनुपर्छ । विकास निर्माणका लागि पहल गर्नुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर मैले विकास निर्माणमा पनि भूमिका खेल्नुपर्छ भन्ने ठानेकी छु ।
— चुनाव जित्ने आधार के छ ?
कम्युनिस्ट पार्टीको जनमत र जनाधार नै मैले चुनाव जित्ने आधार हो । जनतासँग जोडिएको रवीन्द्र अधिकारीको सम्बन्ध । उहाँले ३÷३ पटक जित्नुभएको हो । उहाँले भोटको सम्बन्धमात्रै जनतासँग राख्नुभएन । छोराको सम्बन्ध, भाइको सम्बन्ध, साथीको सम्बन्ध, अभिभावकको सम्बन्ध, गुरुको सम्बन्ध, चेलाको सम्बन्ध र अभिभावकको सम्बन्ध थियो । अहिले ३ तहमा कम्युनिस्ट पार्टीको सरकार छ । त्यसले जनतामा राम्रो सम्बन्ध बनाएको छ । जनतालाई थाहा छ कि राम्रो काम गर्ने भनेको कम्युनिस्टले नै हो । अझै राम्रो काम पनि कम्युनिस्टले गर्छ भन्ने जनतामा विश्वास छ । अब चुनाव जितेर कम्युनिस्ट सरकारसँग समन्वय गरेर जनताका काम गर्न सक्ने कम्युनिस्ट उम्मेदवारले हो भन्ने जनतालाई थाहा छ । अर्काे पार्टीकोले जित्नुभयो भने त केबल सरकारले गरेन भन्नेमात्रै त हुन्छ नि ।
— रवीन्द्र अधिकारीको श्रीमती हुनुका नाताले उम्मेदवार हुनु तपाईंको सबल र दुर्वल दुवै पक्ष हो भन्ने छन् । विपक्षीका नेताले रवीन्द्र अधिकारी गणतन्त्रवादी हुनुहुन्थ्यो, वंशवादी हुनुहुन्थेन भनेर आलोचना गरेका छन् नि ?
म पनि गणतन्त्रवादी हुँ । गणतन्त्रको योद्धा हुँ । हिजो गणतन्त्रको आन्दोलनमा म पनि थिएँ । चर्चा मेरो भएन होला । गणतन्त्रको आन्दोलनलाई सफल बनाउने कुरामा म पनि संलग्न थिएँ । लामो समयदेखि राजनीतिक आन्दोलनमा थिएँ । सायद म अनेरास्ववियुमा थिइनँ, आन्दोलनमा थिइनँ भने रवीन्द्रजी र मेरो प्रेम नहुन पनि सक्थ्यो, विवाह नहुन पनि सक्थ्यो । हाम्रो सम्बन्ध भनेको आन्दोलनले बनाएको हो, राजनीतिले बनाएको छ । आन्दोलनकारीका रुपमा भएको सम्बन्ध हो । मैले प्रचार गरिनँ तर लामो समयदेखि राजनीतिमै थिएँ । तर म प्राज्ञिक क्षेत्रमा भएको हुँदा राजनीतिको कुरा प्रचार गरिनँ । म ४७ सालदेखि नै पार्टीको संगठित सदस्य थिएँ । लगातार छु । पार्टीको विभागमा बसेर काम गरें । बुद्धिजीवी फाँटमा बसेर काम गरें । तर मैले आफ्नो प्राज्ञिक मर्यादालाई असर गर्ने गरी आफूलाई राजनीतिक कार्यकर्ताको रुपमा प्रचार गरिनँ । मलाई रवीन्द्र अधिकारीको श्रीमती हुनुमा गर्व छ । किन कि एउटा उचाइ बोकेको, जनताले सम्मान गरेको व्यक्तित्वको श्रीमती हुनुमा मलाई गर्व छ । तर श्रीमती भएरमात्रै आएको हो कि हैन भन्ने भोलि देखिन्छ नि । भन्नेहरुले जे भने पनि म त्यता जान्न । गाली गर्ने र आरोप लगाउने राजनीतिक परम्पराको पक्षमा म छैन । रवीन्द्र अधिकारी पनि हुनुहुन्थेन ।
— तपाईंले रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमात्रै गर्नुभयो भनेर पनि आलोचना भयो नि ?
मैले किरिया गरिनँ होइन, परिमार्जित तरिकाले काजकिरिया गरें । रवीन्द्र अधिकारी पर्यटन, नागरिक उडड्यनमात्रै होइन संस्कृति मन्त्री पनि हुनुहुन्थ्यो । संस्कृतिमन्त्रीका हैसियतमा उहाँले धेरै संस्कृतिविद्सँग छलफल गर्नुभएको थियो । हाम्रा संस्कृतिलाई कसरी रुपान्तरण गर्ने, सरल सहज बनाउने भनेर सल्लाह गर्नुहुन्थ्यो । उहाँमा नवीन विचार थियो । उहाँको भावनालाई सम्मान गर्दै किन परिमार्जन नगर्ने भनेर घर परिवारमा सल्लाह भयो । आमाबाबा, भाइहरु, बैनीहरु, छोराहरु र नातागोता सबैले ठिक छ भनेरै सल्लाहमा हामीले त्यति दिन किरिया गरेका थियौं । कास्की त्यस्तो ठाउँ हो, जहाँ एकल महिलाले रातो पहिरन लगाउने अभियान सुरु भएको थियो । उनीहरुको आत्मविश्वास कार्यक्रम गरेको ठाउँ हो । यस्तो ठाउँमा पनि ममाथि यस्तो आरोप लगाउने कुरा कहाँबाट आयो ? त्यो केवल चुनावी मसला मात्रै हो ।
— चुनाव जित्दा कति मतान्तर होला ?
पहिलेभन्दा मत बढ्छ । मात्रात्मक कुराभन्दा पनि जनतासँगको सम्बन्धको कुरा हो । ३ तहका कम्युनिस्ट सरकारले जनतासँग मजबुद सम्बन्ध बनाएका छन् । जनताका धेरै काम गरेका छन् । त्यस कारण हिजोको भन्दा मत बढ्छ नै । जनताका अपेक्षा धेरै छन् । हो, सरकारले ती धेरै अपेक्षा पूरा गर्न अझै धेरै काम गर्नुपर्नेछ ।
आक्षेप लगाउने होइन जनमत जित्नुपर्छ
खेमराज पौडेल, नेपाली कांग्रेस उम्मेदवार
कांग्रेसमा जीवनको ऊर्जा खर्चिनुभयो । पहिलो पटक चुनावी मैदानमा होमिनु भएको छ । ६० वर्ष लाग्यो है सांसदको टिकट पाउन ?
हो, म पहिलो पटक चुनावमा उठेको छु । त्यसैले मसँग संसदमा पुगेर पनि जनताको माझ केही गर्न नसकेको लज्जा छैन । मसँग संसद पुगेर कुनै अनियमिततामा मुछिएको दाग पनि छैन । मसँग राजनीतिमा लागेर कसैमाथि अन्याय गरेको अनुभव पनि छैन । मसँग छ त जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ इच्छा । अर्को कुरा टिकट पाउनुलाई मात्रै पार्टीको राजनीतिको सफलता मानिनु हुँदैन । सांसद बन्नका लागिमात्रै राजनीति गरिनु हुँदैन । यदि त्यसरी गरिन्छ भने त्यहाँ स्वार्थ जोडिएको हुन्छ । जब स्वार्थ जोडिन्छ, तब इमान्दारिता र निष्ठा हराउँछ । १६÷१७ सालदेखि हरेक गतिविधि र आन्दोलनमा संलग्न हुँदै आएँ । टिकटको सवालमा जहिले पार्टीको नजरमा परें र उपयुक्त देख्यो, यतिबेला खेमराजको आवश्यकता छ भन्ने महसुस गर्यो तब टिकट दिएको छ । अब म पार्टीको निर्णयलाई न्याय गर्दै संसद पुगेर जनताको वकालत गर्नुपर्छ भन्ने मान्यतासहित चुनावी मैदानमा होमिएको हो ।
-चुनावी मैदानमा होमिँदा र घरदैलोमा पुग्दा के भनिरहेका छन् त कास्की–२ का मतदाताले ?
उम्मेदवारी मनोनयनसँगै जनताको घरदैलोमा पुगें । जति मतदाताले भेटें, उहाँले हौसला थपिरहनुभएको छ । म अझ ऊर्जाशील हुँदै गइरहेको छु । सबैले सद्भाव नै राखेको पाएँ । कांग्रेसले राम्रो उम्मेदवार उठायो भन्ने प्रतिक्रिया आइरहेको छ । जतिलाई भेटें, भेटिरहेको छु, सबैको भनाइ छ, खेमराज गुरु जित्नुपर्छ है । मैले जीत नजिक पुगेको महसुस गरेको छु ।
लालकिल्ला मानिएको यो क्षेत्रमा तपाईं आफैं चाहिँ कति सुरक्षित देख्नुहुन्छ ?
जनताले २ तिहाई बहुमत दिएर बनेको जुन कम्युनिस्ट सरकार, राजनीनिक क्रान्ति पूरा भएर समृद्धितिर जानुपर्ने सरकार गलत बाटोतिर हिँडिरहेको छ । अहिले देखमा कुशासन व्यस्त छ । भ्रष्टाचार मौलाएको छ । जनताहरु निराश छन् । सरकार जुन दिशामा जानुपर्ने थियो, त्यता जान नसक्दा जनतामा निरासा छ । त्यसैले पार्टीमा पनि अब यो बेला कांग्रेसले गर्नुपर्छ, एक हुनुपर्छ भनेर लागेको छ । जनताको निरासालाई चिरेर सरकारलाई सही दिशामा लैजानुपर्छ । सरकारलाई खबरदारी गर्न कांग्रेस अहं भूमिका खेल्नुपर्छ भनेर पार्टी १ ढिक्का भएको छ ।
अर्को कुरा कुनै क्षेत्र कुनै पार्टीको स्थायी वा अस्थायी पकड हुन्छ भन्ने हुँदैन । १ पटक १ पार्टीले जितेको ठाउँमा अर्को पार्टी सजिलै आउन सक्छ । लालकिल्ला मानिएको कास्की क्षेत्र नम्बर २ सधैं लालकिल्लै रहन्छ भन्ने कुनै पनि आधार छैन । प्रत्येक निर्वाचनहरुमा फरक आवश्यकता र नयाँ व्यक्तिको खोजी हुन्छ र त्यस्तै व्यक्तिलाई जिताउँछ । पहिले रवीन्द्रको आवश्यकता देखे र जनताले जिताए । अब पनि उही पार्टीको आवश्यकता छैन भन्ने जनताले बुझिसके ।
सधैं गुटउपगुट र प्रतिघातको बिम्ब बनेको कांग्रेस अहिले चाहिँ १ भयो भन्ने आधार के त ?
सबै कांग्रेसीले महसुस गरे । जुन रुपले जानुपर्ने थियो, त्यसरी नहिँड्दाखेरी लोकप्रिय पार्टी कांग्रेसलाई जनताले रुचाएनन् । कांग्रेसजत्तिको लोकप्रिय पार्टी अरु छैन । त्यही पार्टी एक भएर नजाँदा जनताले साइजमा राख्न खबरदारी गरेका थिए । अब एकजुट भएर जाउँ, राष्ट्रका निम्ति तिमीहरुको आवश्यकता छ भनेर जनताले भनिराखेको केन्द्रदेखि जिल्लासम्मका सबै नेताले महसुस गरेका छन् । त्यसरी नै सबै नेता र आकांक्षीसमेत जनताको घरआँगनमा पुगिरहनुभएको छ ।
यो उपनिर्वाचनमा जनताको घरआँगनमा गएर के भनेर भोट मागिरहनुभएको छ ? के हुन्, चुनावी एजेन्डा ?
१ त सरकार गलत बाटोमा गयो, यसरी नै जान दिने हो भने अझै गलत बाटोमा जान्छ भनेर जनतालाई बुझाएका छौं । दोस्रो निर्वाचन भइसकेपछि विकास निर्माणका कुरा पनि हुन्छन् । जनताका चाहानामा निरासा छाइरहेको छ । विकास र सुशासनले बाटो बिराएको छ । यो क्षेत्रमा ११ वटा वडाहरु छन् । त्यसमा कतिपय ग्रमिण क्षेत्र छन् । तिनले महानगरको सुविधा पाउन सकेका छैनन् । गाउँ र सहरबीचको खाडल घट्नुपर्नेमा अझ बढिरहेको छ । महेन्द्रपुल, पृथ्वीचोकवासी जुन सहरी सुविधा पाएका छन्, निर्मलपोखरी, भरतपोखरी, कृस्ती, मौजा, भलामका नागरिकले पाएका छैनन् । पर्यटकीय केन्द्र पोखरा ती ठाउँसम्म बिस्तार हुनै सकेको छैन । ती क्षेत्रको विकाससँगै विश्व पर्यटकीय गन्तव्य पोखरा अझ दरिलो बनाउन सकिन्छ । कृषिको अधुनिकीकरण, अव्यवस्थित सहरको व्यवस्थापन गर्नु अर्को आवश्यकता हो । मैले यिनै कुरासँगै भ्रष्टाचार, अनियमितता र कुशासनकाविरुद्ध संसदमा उभिएर आवाज राख्छु ।
सुकुम्वासी आयोगको अध्यक्ष हुँदा गर्न नसकेको लालपुर्जा दिने काम अब सांसद भएर सक्नुहुन्छ त झन् ?
सुकुम्वासी आयोगको अध्यक्ष हुँदा सकेको, नसकेको भन्दा पनि समयका अभावले गर्नै पाइएन । २०५५ सालमा आयोगको अध्यक्ष हुँदा काम गर्दागर्दै निर्वाचन आइहाल्यो । ७ महिनामा के गर्न सक्नु ? गर्नै पाइएन नि । नापी नक्सा लिन बर्खाले असर ग¥यो । निर्वाचनका बेला आयोग नै खारेज नै भयो । त्यसैले सुकुम्वासीलाई पूर्जा दिलाउन लगत संकलन भएर पनि पूरा काम गर्न पाइएन । अब सांसद बनाउनुस्, तपाईंहरुको पक्षमा लड्छु भनेको हुँ ।
यो उपनिर्वाचनमा व्यक्तिगत लाञ्छना लगाउनेसम्मका काम भए भन्ने सुनिन्छ नि ?
यो निर्वाचन कुनै पार्टी वा व्यक्तिसँग नभएर विषयसँग सम्बन्धित निर्वाचन हो । सरकारले जुन किसिमले काम गरेको त्यो विषयसँग प्रतिस्पर्धा हो । हाम्रो प्रतिस्पर्धा पछौटे पनसँग हो । जनताको दुर्दशालाई न्यूनीकरण गर्ने मुख्य एजेन्डा हो । त्यसकारण मैले न कुनै हत्कन्डा अपनाएको छु, न कुनै व्यक्तिलाई प्रतिस्पर्धीको रुपमा हेरेको छु । निर्वाचनमा मबाट कुनै गालीगलोज र कसैलाई अपमान गरेको छैन ।
कतै पार्टीका नेता तथा कांग्रेसका साथीहरुबाट कुनै व्यक्तिमाथि केही कुरा आए होलान् तर मैले कसैमाथि लाञ्छना लगाएको छैन । बरु विपक्षी पार्टीका साथीहरुले निर्वाचन आचारसंहिता मिचेको उजुरी परेको सुनेको छु । मैले न नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई गाली गरेको छु न अरु कुनै मान्छेलाई चोट पुग्ने कुरा गरेको छु । कांग्रेसका नेताहरुले भनेका रहेछन् भने त्यसको जवाफ उहाँहरुले नै दिनुहोला । म त निर्वाचन स्वच्छ हुनुपर्छ, कसैमाथि आक्षेप लगाएर होइन, जनताको मन जितेर जानुपर्छ भन्ने मान्यता राख्छु ।
विद्या भट्टराईले रवीन्द्र अधिकारीको सपना पूरा गर्छु भनेर लाग्नुभएको छ । अनि तपाईंलाई जित्न सजिलो होला ?
रवीन्द्र अधिकारीलाई ३ पटकसम्म यो क्षेत्रका जनताले जिताएकै हुन् । सांसद र मन्त्री भएकै कारण विकास निर्माणको नेतृत्व गरे भन्ने कुरा होला । तर, ती विकासका योजनामा त सरकारकै लगानी हुने हो । अनि विकास गर्छु भनेर गएपछि गर्ने त्यही नै होला । साढे १२ वर्ष उहाँ सांसद हुनुभयो । १२ वर्ष भनेको लामो समय हो । खास परिवर्तन देखिएन । भन्न त रवीन्द्रको उत्तराधिकारी भनेर उम्मेदवार प्रस्तुत गरिएको छ । गणतन्त्रमा कोही उत्तराधिकारी हुँदैन । रवीन्द्र अधिकारीले के सपना देख्नुभयो, थाहा छैन । तर, उहाँहरुले रवीन्द्रको सपना पूरा गर्ने कुरा गरिरहनुभएको छ । सपना पूरा गर्ने त जनताको हो । म त जनताको सपना पूरा गर्छु भनेर हिँडेको छु । मैले त ३ देखि ४ हजार मतान्तरले चुनाव जित्ने हिसाब गरेको छु ।







पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया