जनप्रिय क्याम्पसमा लैंगिक हिंसा सम्बन्धी सचेतना

समाधान संवाददाता २०८२ जेठ ५ गते १६:५०

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैंगिक हिंसा विरुद्ध सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार भएको छ ।

Advertisement


क्याम्पस सञ्चालक समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैंगिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना हुने बताए । यसबाट परिवार र समाजलाई गम्भीर असर पर्ने भएकाले हिंसाका विरुद्ध सशक्त आवाज उठाएर कानुनी उपचार खोज्न सुझाए ।


क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पस परिसरमा लैङ्गिक हिंसाका कारण कार्यसम्पादनमा प्रतिकुल असर नपरोस् भनेर सचेतना कार्यक्रम राखिएको जानकारी दिए । समस्या आएपछि पछुताउनुभन्दा समयमै होसियारी अप्नाउनु बुद्धिमता भएको उनले बताए ।


कार्यक्रममा स्रोत व्यक्ति उपप्राध्यापक तथा अधिवक्ता दिनेश आचार्यले लैङ्गिक हिंसाको परिचय, परिभाषा, प्रकार, कारण र निवारणका उपायहरूमा प्रशिक्षण दिएका थिए । आचार्यले मानसिक, आर्थिक, सामाजिक, साँस्कृतिक, यौनिक र यौन हिंसाका बारेमा सहभागीहलाई अन्तरक्रियात्मक रुपमा समेटदै लैङ्गिक समानताको प्रवर्धनका लागि सबैले जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल डा. भावना पोखरेल, सुरेश रानाभाट, डा.विष्णुप्रसाद शर्मा, टंक बराल, गणेश चालिसे, टोपलाल खनाल लगायतका वक्ताले लैङ्गिक संवेदनशीलता र समानताको महत्वका बारेमा आफ्ना धारणा राखेका थिए ।

Advertisement


कार्यक्रममा शिक्षक, कर्मचारीको सक्रिय सहभागिता रहेको सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।


क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवीनराज खनालले धन्यवाद ज्ञापन गरेका थिए भने उपप्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया