सत्ता गठबन्धन ‘बाध्यात्मक परिस्थिति’को उपजः प्रवक्ता महत

समाधान संवाददाता २०८२ जेठ ५ गते १९:४९

पोखरा ।

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले वर्तमान सत्ता गठबन्धनप्रति आफ्नै पार्टीभित्र असन्तुष्टि रहेको बताएका छन् । सोमबार कांग्रेस कास्की–३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनभित्रको द्विविधि र समन्वय अभावबारे प्रष्ट धारणा राखे । महतले अहिलेको सत्ता गठबन्धनलाई ‘बाध्यात्मक परिस्थिति’ को उपज भनेका छन् ।

‘वर्तमान राजनीतिक संरचना हैरानीको अवस्थामा बनेको हो र यो दीर्घकालीन सोचको उपज होइन,’ उनले भने, ‘गठबन्धनको विकल्प थिएन, त्यसैले बन्यो । यसले दीर्घकालीन राजनीतिक स्थिरता सुनिश्चित गर्न सक्दैनँ ।’ उनले गठबन्धनमा नीति तथा प्राथमिकताको साझा समझदारी नभएको बताएका हुन् । ‘दुई तिहाइ नहुन सक्छ, तर छलफल संविधान संशोधनका कुरा सुरु गर्नुपर्छ,’ उनले भने ।

उनका कांग्रेसले हालैको गभर्नर नियुक्तिमा ‘प्रोफेसनल’ व्यक्ति ल्याउन आग्रह गरे पनि यस विषयमा भएको अन्योलले नकारात्मक सन्देश दिएको बताए । ‘गठबन्धन भनेको एकअर्काको दृष्टिकोण बुझ्न सक्ने संरचना हो,’ महतले भने, ‘तर अहिले हामीले नै उठाएका विषयमा अन्योल छ, जसले राम्रो सन्देश दिएको छैन ।’

Advertisement

उनले संविधान संशोधनको आवश्यकता पनि जोडदार रूपमा उठाए । ‘वर्तमान निर्वाचन प्रणालीले स्थिर सरकारको ग्यारेन्टी दिन सक्दैन,’ उनले स्पष्ट भने, ‘यसैले अब संविधान संशोधनको प्रक्रिया गम्भीर ढंगले अघि बढाउनु आवश्यक छ ।’

महतका अनुसार पार्टी सत्तामा पुगेपछि मात्रै घोषणापत्र कार्यान्वयन सम्भव हुने भन्दै सत्तासँगको सहकार्य आवश्यक रहेको सुनाए । ‘हामीले आदर्शका कुरा मात्र गरेर बाहिरै बस्ने हो भने, हाम्रो नीति, कार्यक्रम र बजेट कसरी कार्यान्वयन हुन्छ, हुँदैन?’ उनले भने ।
सत्तामा नगए पनि कार्यकर्तामाझ गुनासो रहने, सत्तामा गए पनि चुनौतीहरू कायम रहने उनको भनाइ थियो । ‘सत्तामा पुग्दा पनि सबै कुरा तुरुन्तै समाधान हुँदैन,’ उनले अनुभव सुनाउँदै भने, ‘मैले मन्त्री हुँदा पनि सबै कुरा सहज थिएन ।’

बजेट निर्माणको सन्दर्भमा महतले संघीय सरकारले साना योजनामा ध्यान केन्द्रित गर्नुको सट्टा ठूला परियोजनामा मात्र लगानी गर्नु उचित हुने धारणा राखे । ‘कनिका छरेर परिणाम आउँदैन,’ उनले भने, ‘३ करोडभन्दा कम बजेटका योजना राख्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं । तर नयाँ सरकार आएपछि सबै गृहकार्य फालिन्छ ।’ उनले सानो–सानो बजेटमा योजना बनाउने प्रवृत्तिले समग्र विकासमा प्रभाव नपर्ने भन्दै ‘थोरै तर प्रभावकारी’ काम गर्नुपर्नेमा जोड दिए । महतले राजनीति आदर्शको मात्र कुरा नभई व्यवहारमा कार्यान्वयन गर्न सकिने संरचना निर्माणको गर्नुपर्ने बताए । ‘बाहिरै बसौं भनेर आदर्श बोलेर मात्र हुँदैन, नीति लागू गर्न सत्तामा पुग्नैपर्छ,” उनले भने ।

फरक प्रसंगमा उनले बजेट निर्माणको क्रममा संघीय सरकारले ‘दृष्टिगोचर प्रभाव’ पार्ने ठूला योजनामा केन्द्रित हुनुपर्ने बताए । ‘हामीले ३ करोडभन्दा साना योजना नराख्ने भन्ने प्रस्ताव गरेका थियौँ,’ उनले भने, ‘तर सरकार फेरिएपछि त्यसमा कुनै निरन्तरता देखिएनँ ।’ उनले थोरै तर जनतालाई छुन सक्ने, प्रभावशाली योजना अगाडि ल्याउनुपर्ने बताए । ‘साना योजनाको भीड लगाएर परिणाम आउँदैन,’ उनले भने, ‘बरु गम्भीर योजना ल्याएर जनता सन्तुष्ट हुने गरी काम गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया