सामुदायिक विद्यालयमा निःशुल्क आवासीय सुविधा

म्याग्दी ।
बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निःशुल्क आवासीय सुविधा उपलब्ध गराउन थालेको छ । आर्थिक रुपमा विपन्न, गरिब र घर टाढा भएका विद्यार्थीलाई विद्यालयमै खानेबस्ने सुविधा उपलब्ध गराएको हो । निःशुल्क आवासीय सुविधा भएपछि विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए ।
“एकातर्फ विद्यार्थी सङ्ख्या न्यून भएर विद्यालयको कक्षा घटुवा हुने अर्कोतर्फ विद्यालय उमेर समूहका विद्यार्थीहरू गरिबीका कारण पढ्न नपाउने समस्या देखिएपछि आन्तरिक स्रोत जुटाएर नयाँ शैक्षिकसत्रको सुरूसँगै आवासीय सुविधा दिन थालिएको हो,” उनले भने, “यसअघि जम्मा १४ जना विद्यार्थी भएकामा आवासीय सुविधा सञ्चालन गरेपछि विद्यार्थी सङ्ख्या बढेर २८ जना पुगेको छ ।”
भर्ना अभियान जारी रहेकाले अन्त्यसम्म विद्यार्थी सङ्ख्या बढ्ने प्रअ पौडेलले बताए । चिप्लेटीका साथै छिमेकी नयाँगाउँ, गान्धे, पैँयुपाटा, डाँडाखेत, थामडाँडा, ज्यामिरेका २५ जना विद्यार्थी छात्रावासमा बस्न थालेका छन् ।
विद्यालय भवनको कक्षाकोठामा फर्निचर गरेर विद्यार्थीहरूलाई सुत्ने व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्ने विद्यार्थीलाई बिहान–बेलुकीको खाना, पोसाक, झोला, शैक्षिक सामग्री, जुत्ता उपलब्ध गराइएको छ । शिक्षकहरुले दैनिक रुपमा पालो गरेर छात्रावासका विद्यार्थीको हेरचाह र रेखदेख गर्ने जिम्मेवारी लिएका छन् । निजी स्रोतका एकजना शिक्षिकालाई थप सुविधा दिएर खाना पकाउने जिम्मेवारी दिएको प्रअ पौडेलले बताए ।
विद्यालयको आन्तरिक कोषबाट छात्रावासको फर्निचर, लत्ताकपडा र खाद्यान्न व्यवस्थापन गरिएको छ । छात्रावासमा बस्ने बालबालिकाहरूमध्ये अधिकांश विपन्न र दलित समुदायका छन् । “पढाइमा राम्रो भएका बालबालिकाहरु पनि अभिभावकको गरिबीका कारण भोकै विद्यालय आउने र दिवा खाजाको भरमा दिन काट्नुपर्ने दयनीय अवस्था भएपछि छात्रावास सञ्चालन गर्ने निष्कर्षमा पुगेका हौँ,” पौडलले भने, “घरको काममा अभिभावकलाई सघाउनुपर्दा गृहकार्य गर्न नपाउने र विद्यालय नै छोड्नुपर्ने अवस्था हटाउन विद्यालयमै राखेर पढाउने व्यवस्था मिलाएका छौँ ।”
चुनौतीपूर्ण भए पनि छात्रावास सञ्चालनका लागि बेनी नगरपालिका, समुदाय र दाताहरूबाट सहयोग पाएमा निरन्तरता दिन सकिने प्रअ पौडेलको भनाइ छ । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा पछिल्लो समय विद्यार्थीको सङ्ख्या घट्दै गएपछि बेनी नगरपालिकाले कक्षा घटुवाको तयारी गरेको थियो ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया