पोखरामा २ करोडको तरबुजा बिक्री

गण्डकी ।
पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।
बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवं स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजाखेती सम्बन्धमा धेरै कुरा सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिए ।
किसानले समूहगत रूपमा १४ रोपनीमा सामूहिक तरबुजाखेती गरेका छन् भने व्यक्तिगत रुपमा पनि ठाउँठाउँमा तरबुजाखेती गरिएको छ । यस वर्ष लगाइएको तरबुजाखेतीले किसानलाई उत्साहित बनाएको तथा खेतीको सम्भावना बढाएको बताउँदै उनले आगामी वर्ष यहाँका धेरै किसानले तरबुजाखेती गर्ने विश्वास व्यक्त गरे ।
महानगरपालिकाकी कृषि प्राविधिक उमा पुनका अनुसार तरबुजाखेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक आइतबार यहाँका किसानसँग कृषि प्राविधिकसहित स्थलगत अध्ययन–अनुसन्धान भइरहेको छ ।
आइपिएम कृषक पाठशालामा फलेका तरबुजामध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र बाँकी पनि बजार लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिए ।
महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रुपमा मात्र गरिएको तरबुजाखेती यस वर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले किसानलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।
महानगरपालिका वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उनले यस वर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर)को तरबुजा उत्पादन भएको जानकारी दिए ।
महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि ‘स्टिकर’ तयार गरेको उनले जानकारी दिए । पोखरामा तरबुजाखेती एउटा विकल्पका रूपमा प्रमाणित भएको बताउँदै उनले यसले रोजगारी अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जातको तरबुजा पनि परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा र आसपासका क्षेत्रमा सरस्वती जातको तरबुजा उपयुक्त भएको जानकारी दिए । अन्य जातकोभन्दा यो स्वादिष्ट भएको उनको कथन छ ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया