माइती सहरमा उषाको मुक्तक लेखन सांगे

पोखरा । २०३४ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना हुँदाकै ताका साहित्यमा सक्रिय हुन आइपुगेकी उषा भट्टचन सोही संस्थाको सामीप्य आफूलाई निर्खादै अघि बढिन् । मूलतः कवि, कथाकार र मुक्तककारका रुपमा प्रसिद्धि कमाएकी उनले ४० वर्षअघि पोखरामा पहिलोपटक आयोजना ‘टिकटमा मुक्तक’ सिर्जना बाचन गरेकी मात्रै थिइनन्, कार्यक्रम आयोजनामा पनि सक्रियता जनाएकी थिइन् ।

पोखरामा जन्मिएर बिहेवारीपछि काठमाडौंकी बासिन्दा भएकी उषा शेरचन (भट्टचन)ले आफू जन्मिएको र सिर्जना यात्रा प्रारम्भ गरेको माइती नगर पोखरालाई विशेष रुपले सम्झिएकी छन् । पछिल्लोपटक लेखेको उनको मुक्तकको संग्रह ‘त्रासदीका हिमनदी’को विमोचनका लागि माइती सहर छनोट गरिन् । जसको शनिबार पोखरामा विमोचन भयो । उषाका दावल साहित्यकारहरु सरुभक्त, तीर्थ श्रेष्ठसहित कार्यक्रमका सहभागी सबैले हातहातमा उनको पुस्तक लिएर विमोचन गरे ।
उषाले पुस्तक पोखरेली युवा सांस्कृतिक परिवारलाई समर्पण गरेकी छन् । संग्रहमा ४५९ वटा मुक्तक संग्रहित छन् । उषाले २०५६ मा अक्षरहरुका शिविरबाट मुक्तक संग्रह सार्वजनिक गरेकी थिइन् । मुक्तकमा विद्यावारिधि गरेका समालोचक डा मुरारि पराजुलीका अनुसार नेपालमा मुक्तकको पुस्तक प्रकाशन गर्ने मुक्तककार महिला उषा नै पहिलो हुन् ।

डा पराजुलीले उषाका मुक्तकमा जीवनका विविधि आयामहरुको अनुभूति पाइने जनाए । ‘सामाजिक जीवनको कष्टसाध्य नियतिको चित्रणमा यिनी कुशल देखिन्छिन्,’ उनले भने, ‘देशमा विद्यमान राजनीतिप्रति यिनमा घृणा, आक्रोश र व्यंग्ययुक्त टिप्पणी पाइन्छ । यिनका मुक्तकमा शिष्ट प्रणयको भावुकता भेटिन्छ ।’ युगीन जटिलताको चित्रण, युद्धको त्रासदी, मानवमूल्यको अधपतन, महिलामाथिको व्यििवचार र त्यसप्रतिको विद्रोही चेतना उषाका मुक्तकका विषयहरु भएको पराजुलीले बताए ।
उषाले आफ्नो पछिल्लो पुस्तकसँगै मुक्तक लेखनको सांगे गरेको घोषणा गरिन् । त्यसो त उनका नजन्मेका आस्थाहरु (फुटकर कविता संग्रह), अक्षरहरुको शिविरबाट (मुक्तक संग्रह), सर्वकालीन पीडा र जागृहितको शंखघोष (कविता संग्रह) सँगै कथा संग्रह तेस्रो रङ, बेग्लै म र आँधी (उपन्यास) पनि प्रकाशित छन् ।
विमोचन समारोहमा साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले पोखरेली युवा सांस्कृति परिवारको स्थापनाकालीन समय र उषाको साहित्यिक सक्रियता स्मरण गरे । उपन्यासकार सरस्वती प्रतीक्षासहित लेखक, साहित्यकारहरु कुमारी लामा, लक्षमण थापा, केशु शर्मा, एमडी काफ्ले, हरिदेवी कोइराला लगायतले भनाइ राखे । रुपिन्द्र प्रभावी कटु, ईश्वरमणि अधिकारी, अमृत क्षेत्री, केशु शर्मा, र सरस्वती श्रेष्ठ सरुले उषाका मुक्तक बाचन गरेका थिए ।
तपाईको प्रतिक्रिया