गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनको राजीनामा चेतावनी

समाधान संवाददाता २०८२ जेठ ११ गते ७:०३

पोखरा ।

सत्ता टिकाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फरक दलका सांसदलाई मन्त्री पद दिएर सत्ता टिकाउन गणित मिलाएका छन् । तर आफ्नै दलका सदस्यहरुलाई भने बेवास्ता गर्ने गरेको आरोम मुख्यमन्त्रीमाथि लाग्दै आएको छ । यस्तै आरोपका बीच एक जना प्रदेश सभा सदस्यले राजीनामाको  चेतावनी दिएका छन् ।

गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका हुन्। शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमुना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन्।

Advertisement

शेरचन आइतबार बसेको संसदीय दलको बैठकबाट बिचैमै बाहिरिएका थिए। बैठकमा कुरा राख्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनी बैठकबाट बाहिएका थिए । मुख्यमन्त्रीले बर्ख् अधिवेशन सुरु हुने अघिल्लो दिन शनिबार बिहान दलका पदाधिकारीको बैठक र दिउँसो दलको पूर्ण बैठक डाकेका थिए ।

सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामापत्रमा शेरचनले लेखेका छन्, श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाका सदस्य मा. विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।”

Advertisement

उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,” शेरचनले लेखेका छन्।

उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ।

राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो। यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,” उनले स्पष्ट पारेका छन्।

नेपाली कांग्रेसका नेता शेरचन मुस्ताङ (ख) क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनले बजेट विनियोजनमा भौगोलिक न्याय नहुनु मुख्य असन्तुष्टि भएको उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया