सम्पादकीय—पुरानै लयमा फर्कंदै प्याराग्लाइडिङ

समाधान संवाददाता २०८२ जेठ ११ गते १०:११

पोखराको प्याराग्लाइडिङ पर्यटन उद्योग फेरि एकचोटि आशाको पंख फैलाउँदैछ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोटदेखि खपौंदीसम्मको ऐतिहासिक उडान मार्ग बन्द गरिएपछि प्याराग्लाइडिङ व्यवसायमा देखिएको संकट अब केही हदसम्म टरेको छ । नागरिक उड्डयन प्राधिकरणले खपौंदीस्थित पुरानो अवतरणस्थललाई पुनः सञ्चालनमा ल्याएपछि यो साहसिक खेलले पुरानै लय समात्ने आशा गरिएको छ ।

Advertisement

विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै सराङकोटबाट टेकअफ तथा फेवाताल किनारको खपौंदीमा हुने अवतरणलाई बन्द गरेर उडान क्षेत्र मान्द्रेढुंगा–तोरीपानीतर्फ सारिएको थियो । अवतरणस्थल पनि पामेसम्म सरेको कारण, पर्यटकको आकर्षण घट्यो, व्यवसाय घट्यो र प्यारापाइलटहरू पलायन हुन थाले । दैनिक हजारौं पर्यटक आकर्षित गर्ने पोखराको प्याराग्लाइडिङ व्यवसाय १ सयको हाराहारीमा झरेको थियो । ४ सय प्यारापाइलटमध्ये २ सय ५० मा सीमित हुनुपरेको थियो ।


तर, अब फेरि मान्द्रेढुंगा वा तोरीपानीबाट टेकअफ गरेर फेवाताल माथि उड्दै खपौंदीमा अवतरण गर्ने अनुमति दिइएपछि व्यवसायीहरूमा उत्साह देखिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको संयुक्त पहलबाट सम्भव भएको यो निर्णय पर्यटन पुनरुत्थानतर्फको एक सशक्त संकेत हो । यो साहसिक खेलले पोखराको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय मानचित्रमा चिनाएको थियो । प्याराग्लाइडिङको कारण होटल, ट्राभल एजेन्सी, ट्रान्सपोर्ट, गाइड, र अन्य स्थानीय व्यवसायहरूमा प्रत्यक्ष–परोक्ष प्रभाव परेको थियो । उडान र अवतरण क्षेत्र सारिँदा मात्र ६३ मध्ये १० कम्पनी विस्थापित भए, हजारौं रोजगारी संकटमा परे ।


अब फेवाताल नजिकको खपौंदीबाट अवतरण फिर्ता भएपछि व्यवसायीले पुरानै लय फर्कने आशा राखेका छन् । उडान समय पनि बिहान ११ देखि दिउँसो साढे ४ बजेसम्म बढाइएको छ, जसले पर्यटकको चाप व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ । प्याराग्लाइडिङ व्यवसायलाई दीगो बनाउने हो भने नीति, प्रविधि र प्रशिक्षणमा सुधार आवश्यक छ । नागरिक उड्डयन प्राधिकरणले सुरक्षा प्राथमिकतामा राख्दै अनुमति दिएको उल्लेख छ । यस सन्दर्भमा हरेक पाइलट र कम्पनीले सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने बाध्यता र जिम्मेवारी छ ।


‘ना’ ले आयोजना गरेको प्राविधिक तालिममा एयरस्पेस सीमा, अनुशासन र सुरक्षाका विषयमा पाइलटलाई प्रशिक्षित गरिनु सकारात्मक कदम हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सन् २०२५ भित्र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाउनु र सोलो प्याराग्लाइडिङ खुला गर्न गरिएको माग भविष्यका सम्भावनाहरूको ढोका खोल्ने खालका छन् ।

Advertisement


पोखराको प्याराग्लाइडिङ उद्योग फेरि एकपटक नयाँ ऊर्जा, समन्वय र प्रतिबद्धताका साथ उचाइतर्फ फर्किंदैछ । पूर्वाधार, सुरक्षामापदण्ड, प्रशिक्षण र पारदर्शी व्यावसायिक प्रतिस्पर्धा सुनिश्चित गर्न सकेमा यो उद्योग नेपालकै साहसिक पर्यटनको मेरुदण्ड बन्नेछ । अब आवश्यकता छ– सबै सरोकारवाला पक्षबीच स्पष्ट कार्यनीति, दीर्घकालीन योजना र समर्पित कककार्यान्वयनको ।

तपाईको प्रतिक्रिया