
जोमसोम ।
कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने मुस्ताङ डोल्पा सडकको अवस्थाबारे जानकारी लिइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत संघीय सडक डिभिजन कार्यालय बागलुङको टोलीले निर्माणाधीन सडक स्थलगत अनुगमन गरेको हो ।
सडकको अहिलेसम्म ३५ किलोमिटर ट्याक खुला भइसकेको छ । उक्त सडकको गत वर्ष भएको सडक खण्डको भौतिक प्रगति र चालु आर्थिक वर्षमा गरिने नयाँ ट्याकका लागि डिभिजन सडक कार्यालयले अवलोकन गरेको हो । डिभिजन सडक कार्यालय बाग्लुङबाट सुपरभाइजर एबिन्द्र पराजुली, सबइन्जिनियर प्रतीक तिवारी र ल्याब टेक्निसियन चन्द्रसिंह बोहोरा, वारागुङ मुक्तिmक्षेत्र ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङ लगायतको टोली अनुगमनमा सहभागी थियो ।
चालु वर्ष सडक डिभिजन कार्यालय बागलुङले ७ औं खण्डको सडकमा चट्टान फोरेर नयाँ ट्याक खोल्नका लागि निर्माण कम्पनीलाई कार्यस्थलमा पठाइसकेको छ । उक्त सडकको भेरुलदेखि याकखर्कतर्फ नयाँ ट्याक खोल्ने योजना छ ।
मुस्ताङ डोल्पा सडकमा यो वर्षको बजेटबाट करिब ११ सय मिटरमा नयाँ ट्याक खोल्ने लक्ष्य
मुस्ताङतर्फको भेरुलबाट भिरालो सतहको चट्टान काटेर नयाँ ट्याक खोल्न र पहिरो पन्छ्याउनका लागि चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन भएकोमा ५२ प्रतिशत घटेर ४७ लाख ३८ हजार लागतमा काङ्ग्री निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए ।
निर्माण कम्पनीले सीमावर्ती क्षेत्रको भुरुलदेखि उपल्लो डोल्पाको याकखर्क जोड्ने सडकमा १६ हजार २ सय घनमिटर चट्टान काटेर नयाँ ट्याक खोल्ने र ४ सय २० घनमिटर पहिरो सफा गर्ने सम्झौता भएको डिभिजन सडक कार्यालयका अर्का इन्जिनियर भण्डारीले बताए । मुस्ताङ डोल्पा सडक अन्तर्गत चालु वर्षको बजेटले करिब एक हजार एक सय मिटरमा नयाँ ट्याक खोल्ने लक्ष्य छ ।
तिवारीले हिउँद यामको चिसो, हिमपात र प्रतिकूल मौसमका कारण मुस्ताङ—डोल्पा सडकमा चालु वर्षको काम ढिलो हुन पुगेको जनाए । सरकारले मुस्ताङ—डोल्पा सडकलाई पर्याप्त बजेट विनियोजन गर्न नसक्दा ट्याक खुला गर्न समस्या परेको छ । चालु वर्षको नयाँ ठेक्का सम्झौता अनुसार सम्बन्धित निर्माण कम्पनी उपकरणसहित कार्यस्थलमा पुगेको सबइन्जिनियर तिवारीले जानकारी दिए ।
‘यो सालबसाली ठेक्का हो, यसैले द्रुत गतिमा काम अघि बढाउनुपर्ने छ’, सबइन्जिनियर तिवारीले भने, ‘चालु वर्षको नयाँ ट्याक खोलेपछि मुस्ताङ—डोल्पा सिमाना याकखर्क जोडिन करिब ४ किलोमटरमात्रै बाँकी रहन्छ ।’ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ पाक्लिङदेखि फल्याक, साङ्ता गाउँ हुँदै मुस्ताङ र डोल्पाको सिमाना याकखर्कसम्म करिब ४० किलोमिटर सडक पहुँच जोड्ने गरी डिभिजन कार्यालय बागलुङले २०७५ देखि सडक निर्माणको कामलाई निरन्तरता दिँदै आएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले मुस्ताङ—डोल्पा सडकको काम एक/दुइ दिनभित्रै सुरु हुने जानकारी दिए । ‘डोल्पा सीमाना जोडिन अब ५ किमीमात्रै बाँकी छ’, वडाध्यक्ष गुरुङले थपे, ‘यो वर्षको बजेटले केही माथिसम्म जान्छ, यो सडकलाई टुक्रे बजेटले काम चल्दैन, ठूलै बजेट विनियोजन गरेर काम सक्नुपर्ने हुन्छ ।’
समुद्री सतहको ४ हजार ५ सय मिटरको स्थानबाट मुस्ताङ डोल्पा सडक विस्तार हुँदै छ । सडक डिभिजनले अख्तियारी लिएको यो सडक निर्माण ७ वर्ष बितिसक्दासमेत पूरा हुन नसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न र पोखरा काठमान्डौं आउजाउ गर्नसमेत मुस्ताङ—डोल्पा निकै सहज हुने वडाध्यक्ष गुरुङको भनाइ छ ।
उपल्लो डोल्पाका नागरिकले मुस्ताङको जोमसोमबाट घोडा, खच्चडमा मालसामान बोकाएर मालसामान ढुवानी गर्ने गथ्र्ये । अहिले सडक विस्तार भइरहेकाले विगतको भन्दा मालसामान ढुवानीमा निकै नै सहज भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया