पोखरा २६ का सम्भावनाको खोजी

समाधान संवाददाता २०८२ जेठ ११ गते १२:५२

लेखनाथ ।
हाम्रो वडालाई राम्रो वडा बनाउनका लागि आम वडावासीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै हातेमालोका साथ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका वडा नं २६ ले शनिबार आयोजना गरेको ‘नीति, योजना तथा कार्यक्रम र वडा विकासमा सम्भावनाका आधारहरु’ विषयक छलफल कार्यक्रममा सहभागीहरुले आगामी दिनमा भौतिक पूर्वाधारका कामभन्दा पनि उत्पादनसँग जोडिँदै आयआर्जन र युवा लक्षित स्वरोजगार योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

Advertisement


‘हाम्रो वडालाई कस्तो वडा बनाउने ?’ भन्ने मुख्य उद्देश्यका साथ आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्वदेखि वर्तमानसम्म उच्च पदमा रहेका व्यक्तित्व, राजनीतिकर्मी, उद्योग व्यवसायी तथा सामाजिक व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रमका वक्ताहरूले यहाँ रहेका प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गर्दै दीर्घकालीन योजनाका बारेमा जानकारी गराएका थिए ।


कार्यक्रममा बोल्दै पूर्वमन्त्री यज्ञबहादुर थापाले वडाको विकासमा जनप्रतिनिधिहरूलाई सबैले आफू जहाँ छौं, त्यहीँबाट आवश्यक र प्राथमिकताको आधारमा सहयोग गर्ने हो भने हाम्रो वडालाई राम्रो मात्र होइन, देशकै नमुना वडा बनाउन सकिने विश्वास व्यक्त गरे ।


सोही अवसरमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईले विकास निर्माणका योजना बनाउँदा वातावरणलाई ध्यानमा राखी वास्तविक आवश्यकता र सम्भावनाको खोजी गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए ।


त्यसैगरी कार्यक्रममा गण्डकी प्रदेशका सचिव बद्रीनाथ अधिकारीले विकास भन्नाले भौतिक पूर्वाधार मात्र नभई गुणस्तरीय शिक्षामार्फत नैतिकवान र अनुशासित नागरिक निर्माणमा पनि ध्यान दिनुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव विनोद बिन्दु शर्माले जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरी योजना बनेकाले आगामी दिनमा प्रदेशस्तरीय आयुर्वेद अस्पताल निर्माणका लागि जग्गाको खोजी भइरहेको जानकारी गराए ।

Advertisement


सशस्त्र प्रहरी बलका नायब उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले आफू बस्ने वडाको विकासका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र पहल गर्ने हो भने विकास असम्भव नरहेको बताउँदै, सशस्त्र प्रहरी बलले विद्यालय सञ्चालनका लागि ठाउँको खोजी गरिरहेको हुँदा उपयुक्त स्थानको खोजीमा आफू रहेको बताए ।


कार्यक्रममा लायन्स क्लब ३२५ ‘आई नेपाल’का गभर्नर विनोद ढुंगानाले ‘म मेरो वडा बनाउन के गर्न सक्छु?’ भन्ने सोचका साथ एकजुट हुन सुझाव दिए । गण्डकी प्रदेश नीति योजना आयोगका अधिकृत सन्तोष ढुगाना र उपसचिव प्रकाशचन्द्र ढुंगानाले उद्यमशीलता, उत्पादन र रोजगारसँग जोडिने योजनालाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।


सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले समग्र वडाको विकासका क्रममा आफ्नो कार्यकालमा ७५ करोडभन्दा बढीको काम भएको तथ्यांक प्रस्तुत गर्दै, हामी जो जहाँ छौं, त्यहीँबाट सहयोग गर्ने हो भने अझ बढी काम गर्न सकिने र आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय तहका योजनाप्रति सबैले चासोपूर्वक अघि बढ्ने हो भने परिकल्पना गरेको विकास सम्भव हुने ठोकुवा गरे ।

विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूले विकासका मोडेल र आगामी दिनमा गर्न सकिने योजनाका बारेमा सुझाव दिएका कार्यक्रमको सञ्चालन वडा नम्बर २६ का सूचना अधिकारी नवराज सापकोटाले गरे ।

तपाईको प्रतिक्रिया