पोखरामा ठाउँ खोज्दै नेपाल विश्वविद्यालय

समाधान संवाददाता २०८२ जेठ ११ गते १९:३३

पोखरा ।

नेपालको १४ औँ विश्वविद्यालय नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्न सकिने सम्भावनाको खोजीका लागि पोखरा आइपुगेको विश्वविद्यालयको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ । नगर प्रमुख आचार्यसँगको छलफलमा टोलीले विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि आवश्यक पर्ने जग्गा महानगरपालिका क्षेत्रमा उपलब्ध हुनसक्ने केही सम्भावित स्थानहरूका बारेमा चासो राखेको थियो ।

सो क्रममा नगर प्रमुख आचार्यले विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा राख्ने विषयमा आफू सकारात्मक रहेको बताए । पोखरा महानगरपालिकाका केही स्थानहरू विश्वविद्यालयका लागि उपयोग गर्न सकिने भए पनि त्यसको यथार्थ अवस्था यकिन गर्नुपर्ने भएकाले प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र नेपाल विश्वविद्यालयको तर्फबाट एक जना प्रतिनिधिलाई त्यसको जिम्मेवारी तोकिएको छ । छलफलमा कुलपति डा.अर्जुन कार्की, रजिस्ट्रार डा.सूर्यराज आचार्य, इन्जिनियर लाल के.सी, डा.पूर्णकान्त सिलवाल र आर्किटेक ब्रिजेश शाहको सहभागिता थियो ।

Advertisement

अन्तर विधात्मक अवधारणामा आधारित बहुविषयगत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सृजनशील र प्रतिस्पर्धी मानव स्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउन विश्वविद्यालय स्थापना गर्न लागिएको उक्त समूहले बताएको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार योसँगै अब नेपाल १४ वटा विश्वविद्यालय हुनेछन् ।

यो विश्वविद्यालयमा अब प्रधानमन्त्री वा मन्त्रीहरू कुलपति बन्ने छैनन्। नेपाल विश्वविद्यालय सम्बन्धी ऐनअनुसार विश्वविद्यालयको नेतृत्व न्यासिक अथवा संरक्षक परिषद्ले गर्नेछ। परिषद्मा शिक्षाविद्, उद्योगपति, किसान, अनुसन्धानकर्ता, रोजगारदाता लगायत विविध पृष्ठभूमिका सदस्यहरू रहनेछन्। सोही परिषद्बाट कुलपति चयन गरिएको छ भने उपकुलपति र रजिष्ट्रार खुला प्रतिस्पर्धाबाट नियुक्त भएका छन् ।

Advertisement

यस विश्वविद्यालयमा सम्बन्धन नदिइकन आफ्नै शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ र लिबरल आर्ट्स अवधारणामा आधारित अन्तरविधात्मक शिक्षा प्रदान गरिनेछ। विश्वविद्यालयले पारदर्शिता, जवाफदेहिता र प्राज्ञिक स्वतन्त्रतामा आधारित शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ। पदाधिकारीहरूले आचरणविपरीत कार्य गरेमा संरक्षक परिषद्ले आवश्यक अनुशासनात्मक कारवाही गर्ने प्रावधानसमेत विधेयकमा राखिएको छ। यस विश्वविद्यालयलाई उच्च शिक्षामा गुणस्तरीयता र संस्थागत सुधारको उदाहरणीय मोडेलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया