वेटिङ सिएम अधिकारी भन्छन् : स्थायित्वका लागि कांग्रेस–एमालेको गठबन्धन

समाधान संवाददाता २०८२ जेठ ११ गते २०:२३

पोखरा ।
गण्डकी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले वर्तमान गठबन्धन सरकार राजनीतिक स्थायित्वको उद्देश्यका साथ बनेको स्पष्ट पारेका छन्। आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीय सरकार र प्रदेश दुबै तहमा स्थायित्वसँगै विकास निर्माणमा गति आएको दाबी गरे।

“सरकार गठनको क्रममा कतिपय अवस्थामा राजनीतिक मूल्य मान्यता छाडिएको हुन सक्छ, सांसदको संख्या जसरी पनि पुर्‍याउने प्रयास पनि भएको होला, त्यो गल्ती थियो,” उनले भने, “तर अहिले सरकार जनअपेक्षाअनुसार आफ्नै गतिमा अघि बढिरहेको छ। जनतामा निराशा छरिएको भन्ने आरोपहरू आधारहीन छन्।”

Advertisement

अधिकारीले संविधान संशोधनजस्ता गम्भीर विषयहरू सबै दलको सहमतिमा अघि बढ्ने बताउँदै गण्डकी प्रदेशमा भएको तीनदलीय सहमति अनुसार अघि बढ्नुपर्नेमा जोड दिए। उनले प्रदेशसभा समितिहरूको गठनमा एमालेमाथि आरोप लगाइएकोप्रति असन्तोष व्यक्त गरे।

“कुनै पनि समितिमा कसैलाई नराख्ने भन्ने कुरा गरिएको होइन,” उनले भने, “तर भद्र सहमतिको उल्लंघन गरेर आरोप एमालेमाथि लगाउनु अनुचित हो। जे चाहनुहुन्छ, लैजानुहोस्, तर सहमतिबाट आफू नभाग्ने अनि दोषचाहिँ एमालेलाई दिने प्रवृत्ति उचित होइन।”

Advertisement

एमाले नेता अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको सार्वजनिक लेखा समिति सभापतिमा विपक्षी दललाई नदिइएको भन्ने अभिव्यक्तिप्रति पनि प्रतिक्रिया दिए।

राजनीतिक विषयको क्रममा उनले गणतन्त्रको मूल्य र महत्वबारे धारणा राख्दै राजतन्त्र फर्कने आशंकालाई खारेज गरे। “गणतन्त्रको स्वाद चाख्ने अनि त्यसलाई लुटतन्त्र भन्ने मिल्दैन,” उनले भने, “हिजो लुटतन्त्र भन्दै झन्डा फर्फर्याउनेहरू आज के हेरेर समर्थन गर्दै छन्?” उनले राप्रपा सांसद पंचराम गुरुङप्रति संकेत गर्दै भने, “पत्रकार हत्या, आगजनी र तोडफोड गर्नेहरूले फेरि आगजनी निम्त्याउने प्रयास गरिरहेका छन्, तर राजावादी आन्दोलनबाट गणतन्त्रलाई कुनै खतरा छैन।”

उनले गण्डकी प्रदेशको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। “राजनीतिक मतभेद स्वाभाविक हो, तर विकासका मुद्दामा हामी एक भएर काम गर्नुपर्छ,” उनले भने।

तपाईको प्रतिक्रिया