सम्पादकीय—पोखरामा तरबुजा खेतीले देखाएको सम्भावना

पोखराका फाँटहरुमा यतिबेला हरियो सुन फलिरहेको छ, तरबुजाको रुपमा । खडेरीले तोरी नउम्रेपछि त्यसको विकल्पमा लगाइएको तरबुजाले पोखराका किसानलाई सफलता दिएको छ । तरबुजा अहिले कृषिमा क्रान्तिको संकेत बनेको छ । विजयपुरदेखि ढाँडबेंसी, सुरौंदीदेखि अर्मलासम्म फैलिएको हरियो लहरले देखाएको छ, सही योजना, प्रविधिको सहायतामा कृषिमा सम्भावनाको समुद्र लुकेको छ ।
पोखरा महानगरपालिकाको प्राविधिक सहयोग र एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशालाको समन्वयमा पोखरा—१३ र १४ मा गरिएको प्रयासले ठूलो सफलता दिएको छ । दुई सय रोपनीमा जग्गामा ४०० टन तरबुजा उत्पादन भएको छ । जसबाट दुई करोड रुपैयाँ भन्दा बढीको तरबुजा बिक्री गरिएको छ । यो किसानको लगावले फलाएको उपलब्धि हो ।
पोखरामा तरबुजाखेती एउटा विकल्पका रुपमा प्रमाणित भएको छ । यसले रोजगारी अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान पुग्नेछ । पोखरा १३ आर्वाका रोशनराज बराल र पोखरा २८ की पार्वती अधिकारीजस्ता कृषकहरुका कथा पोखराको खेतबारीबाट उब्जिएका प्रेरणाका बीज हुन् । खडेरीलाई नै चुनौती दिने हिम्मत देखाएको छ तरबुजाले । कृषकका हातमा माटो मात्र होइन, भविष्य पनि हुर्किन्छ ।
तरबुजा खेतीमा युवाले देखाएको अग्रसरताले अन्य युवालाई खेतीतर्फ आकर्षित गर्ने प्रेरणाको स्रोत बन्न सक्छ । खेती अब हिलो गोडमेल मात्रै नभई, प्रविधिमैत्रिक, व्यवस्थित र नाफामूलक व्यवसाय बन्न थालेको छ । स्मार्ट सिँचाइ प्रणाली, मल्चिङ प्लास्टिक, जैविक प्रविधि, कृषि परामर्श जस्ता आधुनिक उपायले खेतीलाई शिक्षित युवाको रोजगारीको उपयुक्त विकल्पको रुपमा स्थापित गर्न सक्छ ।
युवालाई कृषिमा ल्याउन तालिम, सहुलियत ऋण, बीमा, बजार पहुँच जस्ता आधारभूत संरचना निर्माण गर्नु अत्यावश्यक छ । खेतीलाई परम्परागत पेशा होइन, सम्भावना र सम्भावित नवप्रवर्तनको क्षेत्रको रुपमा व्याख्या गर्न थाल्नुपर्छ । युवाले खेतीलाई आत्मसम्मानसहितको व्यवसायिक जीवनको हिस्सा ठान्ने वातावरण तयार गरिनु आजको आवश्यकता हो ।
महानगरले बीउ, मल्चिङ प्लास्टिक र तालिम प्रदान गरेको कार्य प्रशंसनीय छ । तर त्यत्तिले मात्र पुग्दैन । उत्पादन बढ्दै जाँदा बजार व्यवस्थापन अझ सुदृढ हुनुपर्छ । बिचौलियाको जालो काटेर कृषक र उपभोक्ताबीच प्रत्यक्ष पुल बनाउनु अहिलेको आवश्यकता हो । कोल्ड स्टोरेज, कृषि एम्बुलेन्स र स्थानीय ब्रान्डिङको सुरुवात जस्ता कुरामा ध्यान दिनुपर्छ । तरबुजा खेतीले किसानमा आशा जगाएको छ—तर यो प्रयास निरन्तर र संस्थागत बनाइनु अत्यावश्यक छ ।
बिउ, मल, प्रविधिमा अनुदान र प्राविधिक सहयोगले पनि खेतीप्रति आकर्षण बढाएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘आइपिएम कृषक पाठशाला’ले व्यवहारिक तालिममार्फत युवालाई ज्ञान र सीपको सहजीकरण गरिरहेको छ । यस्ता कार्यक्रमलाई अझ सुदृढ गर्दै, समूहगत कृषि स्टार्टअप, सहकारी र व्यवसायिक खेतीलाई प्रोत्साहन गर्न सके युवा कृषकको संख्या बढाउन सकिन्छ ।
अब चुनौती हो, यसलाई क्षणिक सफलता बनाइनु होइन, दिगो प्रणालीमा रुपान्तरण गर्नु । अन्य स्थानीय तहहरुले पनि पोखराको यो उदाहरणबाट सिक्नुपर्ने बेला आएको छ । माटोले जति दिन्छ, त्यो बिउ र विश्वासले निर्भर गर्छ । पोखरामा तरबुजा खेतीले देखाएको सम्भावना केवल आर्थिक होइन, सामाजिक रुपान्तरणको संकेत पनि हो । युवाहरु कृषि पेसाप्रति फर्कन थालेका छन् । फाँटमा पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोज्न थालेका छन् । यिनै बाटाहरु देशको समृद्धिको लय कोर्न सक्छन् ।
तपाईको प्रतिक्रिया