प्रदेश सभामा शून्य समय
बर्खा लायो, सरुवा रोगमा सतर्कता अपनाउन ध्यानाकर्षण

पोखरा ।
गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकमा सांसदहरूले आफ्ना क्षेत्रका विविध समस्यामाथि सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै उनीहरूले पूर्वाधार विकास, स्वास्थ्य सेवा, धार्मिक पर्यटन र बजेट अभावजस्ता विषयहरू उठाए । आइतबारबाट सुरु भएको बर्खे अधिवेशनका क्रममा ३ दिन लगातार शून्य समय राखिएको छ । शून्य समयमा बोल्ने सांसद भने प्राय दोहोरिएका छन् ।
एमालेकी सांसद सीताकुमारी सुन्दासले वर्षायामसँगै गमीसमेत सुरु भएको र त्यससँगै झाडापखाला, डेंगुजस्ता संक्रामक रोगहरूको जोखिम उच्च भएको बताउँदै प्रदेश सरकारले तत्काल स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिइन् । उनले प्रदेश सरकारद्वारा खरिद गरिने औषधी गुणस्तरीय हुनुपर्ने स्पष्ट गर्दै औषधीको गुणस्तरमा कुनै पनि सम्झौता नगरिनुपर्ने माग राखिन् ।
यसैगरी, एमालेकी सांसद देवका पहारी त्रिपाठीले पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको भए पनि आवश्यक पूर्वाधार नबनेको भन्दै असन्तुष्टि जनाइन् । उनले पोखराको लेकसाइड क्षेत्रमा सुविधासम्पन्न सार्वजनिक शौचालयको व्यवस्था नभएको बताउँदै, बाराहीचोकस्थित पार्कलाई स्मार्ट चर्पी, पर्यटन प्रहरी बिट, सूचना केन्द्र र नेपाली कलाकृति झल्किने सामाजिक भवनसहितको आधुनिक पार्कका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
एमालेकै निर्मला थापाले कालीगण्डकी गाउँपालिकाको बारीचौर लिफ्टिङ खानेपानी योजना बजेटको अभावमा अधुरो रहेको बताउँदै, मात्र २० लाख रुपैयाँ भए योजना सम्पन्न हुने अवस्थामासमेत बजेट उपलब्ध नगरिएकोप्रति गुनासो गर्दै सरकारसँग तत्काल बजेटको माग गरिन् ।
कांग्रेसका प्रकाश बरालले सहिदचोकदेखि मालपोत कार्यालयसम्मको सडक जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै कर तिर्न गएकाहरू खाल्डोमा परेर घाइते हुने अवस्था आएको भन्दै व्यंग्यपूर्वक सरकारको ध्यानाकर्षण गराए । उनले “यो बाटो कहिले र कसले बनाउने हो?“ भन्दै प्रश्नसमेत गरे ।
त्यस्तै, एमालेका बेदबहादुर गुरुङले सडक ग्राभेल उठाउने कार्यमा उपकरण प्रयोग गर्न दिनुपर्ने माग राखे । भीमबहादुर कार्कीले अघिल्लो वर्षका लागि डिपीआर बनाइएका केही योजनाहरू बजेट अभावकै कारण अघि नबढेको भन्दै चालू वर्षको बजेटमा ती योजनाका लागि आवश्यक विनियोजन गर्न आग्रह गरे ।
सांसद श्यामराजा महतले तनहुँका ढोरबराही मन्दिर, गोदुमकोट, भुजीकोट, मानुङकोट, थर्पुकोट, अकला मन्दिर, तीनखोले देवी, दर्गाम र राइबीर कोटजस्ता धार्मिक स्थलहरूलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया