मादीमा सार्वजनिक सुनुवाई, पानी नपाएर ३ वडाका बासिन्दा काकाकुल

पोखरा ।
कास्कीको मादी गाउँपालिले प्रवाह गरेको सेवा प्रवाह र विकास निर्माणबारे सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । शुक्रबार गाउँपालिकाको आयोजना एवं नेल्सन मिडिया प्रालिकोे सहजीकरणमा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय टोल विकास संस्था, आमा समूह लगायतका प्रतिनिधिलगायत पालिकाका स्थानीय व्यक्तिहरुको उपस्थिति थियो । मादी गाउँपालिका वडा नं. ९ मा आयोजित उक्त कार्यक्रममा उपस्थित स्थानीयहरुले मादी गाउँपालिकाभित्र रहेको खानेपानी समस्या, पशु नश्ल सुधारका लागि पालिकाले गर्नुपर्ने प्रयासहरु, सडकहरुको अवस्था, मादी नदीले गरेको क्षति, जग्गाको कित्ताकाट लगायतका विषयहरुमा पालिकाको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा पालिका अध्यक्ष देवीजंग गुरुङले पालिकावासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनु पालिकाको कर्तव्य भएकाले त्यसका लागि आवश्यक काम भइरहेको बताए । वडा नं. ८, ९ र १२ मा बढी मात्रामा देखिएको खानेपानी समस्याबारे बोल्दै उनले गण्डकी प्रदेश सरकारको आयोजनामा मिजुरे खानेपानी वृहत खानेपानी योजना सञ्चालनमा रहेकोमा यो वर्षदेखि उक्त योजना खारेज गरेर संघीय खानेपानी मन्त्रालय अन्तर्गत लगिएको जानकारी दिए । उनले हाल उक्त खानेपानी योजनाको करिब ४० लाखको लागतमा डिपिआर तयार भएर गईसकेको जानकारी गराए ।

कार्यक्रममा गाउँपालिकाभित्र नश्ल सुधार कार्यक्रमका लागि पालिकाले मागको आधारमा यसैवर्षदेखि घुम्ती सेवा समेत प्रदान गर्ने गुरुङको भनाइ थियो । यस्तै जग्गासम्बन्धी काम गर्नुपर्दा झन्झटिलो र खर्चिलो हुने गुनासो आएपछि अध्यक्ष गुरुङले जग्गाको कित्ता नंम्बर र कित्ता लिएर सँधियारहरु सहित पालिकामा आउन आग्रह गरे । पालिकाको कुनै वडामा लामो समयसम्म पनि वडाध्यक्ष उपस्थित नभएको गुनासो सम्बोधन गर्दै उनले अर्को कार्यपालिका बैठकले आवश्यक निर्णय गरेर कार्यवाहक वडाध्यक्ष तोक्ने बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले हरेक ४ महिनामा पालिकाले सेवा प्रवाह र विकास निर्माणबारे जानकारी दिने र जनताको गुनासो र सुझावहरु सुन्ने हेतुले सार्वजनिक सुनुवाई गर्दै आएको जानकारी गराइन् । यसअघि मादी १ सिक्लेसमा यो कार्यक्रम गरिएकोमा जनताको पाहेक पर्ने हिसाबले वडा नं. ९ मा सार्वजनिक सुनुवाई गरिएको उपाध्यक्ष गुरुङको भनाइ छ ।
कार्यक्रममा सहभागीहरुले पालिका भित्र भइरहेको विकास निर्माणका कामहरुको अनुगमन नियमित नहुने गरेको गुनासो गरेका थिए । यस्तै मादी नदीमा अवैध रुपमा माछा मार्नेक्रम बढेकोले उक्त कार्य विरुद्ध पालिकाले कडा कदम चाल्नुपर्ने लगायतका विषय उठेको थियो । त्यस प्रकारका गुनासोहरुको जवाफ दिँदै वडा नं. ९ का वडा अध्यक्ष मनोज गुरुङले जनप्रतिनिधिमात्र होईन स्थानीय जनताले पनि आफ्नो टोल र गाउँमा भइरहेको विकास निर्माणका कार्यहरुको अनुगमन गर्नुपर्ने बताए । उनले सकेसम्म गलत कार्य हुन नदिने गरि आफूहरुले काम गरिरहेको बताउँदै कुनै अनियमितता भइरहेको पाएमा गोप्य सूचना दिन समेत आग्रह गरेका छन् ।
मादी गाउँपालिकाले चालु आर्थिक वर्षमा अनुमानित ७१ करोड ३८ लाख ५७ हजार ५ सय रुपैयाँको विनियोजन गरेको छ । वैशाख मसान्तसम्म आइपुग्दा अनुमानित आयको जम्मा ५७ प्रतिशतमात्र उपलब्धि भएको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा यो आर्थिक वर्ष हालसम्म जम्मा ४० करोड ८० लाख ७० हजार ८ सय २५ रुपैयाँ आय देखिएको छ ।
आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा गाउँपालिकालाई लक्ष्य भेट्टाउन अझै ३० करोड बजेट नपुग रहेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सञ्चारकर्मी अनिशा श्रेष्ठले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले मुंग्रीेवेशी मिजुर, मुंग्रीवेशी बगैंचा सडक डिपिआर गर्नुपर्ने र मोटरेबल पुल र झोलुंगे पुल बनाउन पहल गर्नुपर्ने लगायतका सुझावहरु राखेका थिए ।









सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया