डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारीको जित

समाधान संवाददाता २०८२ जेठ १८ गते १९:०१

पोखरा ।
फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली पहिलो भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ ताल पारी ‘बी’ सर्वाेत्कृष्ट भयो ।

प्रतियोगितामा पुरुषतर्फ बाराही डुंगा घाट र स्विमिङ पुल घाट क्रमशः दोस्रो र तेस्रो बन्दा फिस्टेल घाटको समूह सान्त्वना भयो । महिलातर्फ गौरीघाट, पहारीघाट र जलारी दिदीबहिनी समूह क्रमशः दोस्रो, तेस्रो र सान्त्वना बने । महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले समान नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वनाले १० हजारसहित ट्रफी, मेडल, प्रमाण–पत्र पाएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षण अपरिहार्य भएकोमा जोड दिए । उनले शनिबारबाट फेवाको सीमामा पोल गाड्न थालिएको स्मरण गर्दै योजनावद्ध रुपमा तालको संरक्षण गरिने उल्लेख गरे । भने, ‘फेवाताल यहाँको मुख्य प्रर्यटकीय स्थल हो, यसको संरक्षणमा तीन तहकै सरकार मिलेर काम हुन्छ ।’

Advertisement

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख पहिचान भएको जनाए । उनले यसको संरक्षण र सौन्दर्यकरणमा महानगरले यथोचित ध्यान दिएको उल्लेख गरे ।

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले तालको महत्व बुझाउँदै भावी योजना बनाउन प्रतियोगिताले सघाउने उल्लेख गरे । ‘फेवातालको सौन्दर्य र यहाँ हुन सक्ने भवितव्य दुवैबारे सरोकारवाला जानकार बन्नु आवश्यक छ । त्यसैका लागि प्रतियोगिता आयोजना गरिएको हो । यसले यहाँको पर्यटन प्रवर्धनमा पनि सघाउँछ,’ उनले भने ।

Advertisement

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालको देश, विदेशका प्रचार र प्रवर्धन गर्न प्रतियोगिता सहायक हुने बताए । फेवाका आठ घाटमा डुंगा व्यवसायी समिति आवद्ध सात सय १२ डुंगा छन् । बेला बेलामा हेलचेक्रयाई र भवितव्यका कारण तालमा दुर्घटनासमेत हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया