पोखरामा उच्च बारमा ४ संगठनको सहमति

अध्यक्षमा डिएलएका शालिग्राम भट्टराईको एकल उम्मेदवारी

समाधान संवाददाता २०८२ जेठ २० गते १५:५२

पोखरा ।
पोखरा उच्च अदालत बार एसोसिएसनमा सहमतिबाट नेतृत्व चयन हुने भएको छ । पोखरामा क्रियाशील ४ संगठनकाबीच सहमति जुटेपछि निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस निकट डिएलए, एमाले निकट पिपिलए, माओवादी केन्द्र निकट आरपिएलए र नेकपा समाजवादी निकट एसपिएलएको सहमतिमा पदाधिकारी र सदस्यमा उम्मेदवारी दर्ता भएको छ । पदाधिकारीहरुमा एकल उम्मेदवारी परे पनि सदस्यमा १ जना बढीको उम्मेदवारी परेको छ । त्यसलाई पनि बुधबार उम्मेवदारी फिर्ता लिने अवधिसम्म मिलाइने संगठनहरुले बताएका छन् ।

निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाका अनुसार आगामी कार्यकाल २०८२/८४ को कार्यसमितिका अध्यक्षमा शालिग्राम भट्टराई, उपाध्यक्षमा यामबहादुर खत्री र सचिवमा प्रकाश शर्माको उम्मेदवारी परेको छ । यसैगरी सहसचिवमा ईश्वरी पौडेल र कोषाधध्यमा सुजाता ढकालको उम्मेदवारी परेको छ । अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउने कांग्रेस निकट डिएलए आबद्ध कानुन व्यवासयी हुन् । उपाध्यक्ष र सहसचिव भने एमाले निकट पिपिएलए आबद्ध हुन् ।

सदस्यमा डिएलएका ४, आपिएलएका २, पिपिएलएका १ र एसपिएललका भागमा १ जना पर्नेगरी बाँडफाँड गरिएको छ । निर्वाचन समितिका अनुसार अर्जुन पौडेल, लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दिपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी र घनश्याम बरालको उम्मेदवारी परेको छ । महिला सदस्यमा राधा शर्मा (पौडेल)ले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

उच्च अदालत बारमा अहिले ४ सय ५६ जना मतदाता छन् । त्यसमा कांग्रेस निकट डिएलएको वाहुल्य छ । पहिलाका निर्वाचनमा मतदान हुँदा सबै पदमा डिएलएका उम्मेदवार विजयी हुन्थे । बारलाई सबैको साझा थलो बनाउने प्रयास अनुसार चालु कार्यकालमा सहमतिका आधारमा कार्यसमिति चयन गरिएको थियो । आगामी कार्यकालका लागि समेत यसले निरन्तरता पाएको छ । पोखरामा कास्की जिल्ला बार पनि छ । जसमा १ सय ११ सदस्य छन् । कास्की बार सदस्यमा भने एमाले निकट पिपिएलएको वाहुल्यता छ ।

निर्वाचन कार्यतालिका अनुसार जेठ २४ गते मतदान कार्यक्रम छ । तर बुधबार नै उम्मेदवारी फिर्ताको कार्यतालिका रहेकाले १ जना सदस्यको नाम फिर्ता भएपछि सबैजना निर्विरोध हुनेछन् ।

Advertisement

वरिष्ठ अधिवक्ता थापा संयोजकत्वको निर्वाचन समिति सदस्यमा अनिता गुरुङ र शिवराज वाग्ले छन् ।

तपाईको प्रतिक्रिया