पोखरा उच्च बारको सबै पदमा निर्विरोध

समाधान संवाददाता २०८२ जेठ २२ गते २०:३७

पोखरा ।


पोखरा उच्च अदालत बार एसोसिएसनको आगामी कार्यकालका लागि सबै पद निर्विरोध भएको छ । पोखरामा क्रियाशील ४ संगठनकाबीच सहमति जुटेपछि निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता भएको थियो । बुधबार उम्मेदवारी फिर्ता लिने कार्यसूची रहेकामा बिहीबार सबै पदमा निर्विरोध घोषणा गरिएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले जानकारी दिए । सहजरुपमा निर्वाचन सम्पन्न गराउन सहयोग पुर्‍याउने सबैलाई उनले धन्यवाद दिए ।
नेपाली कांग्रेस निकट डिएलए, एमाले निकट पिपिलए, माओवादी केन्द्र निकट आरपिएलए र नेकपा समाजवादी निकट एसपिएलएको सहमतिमा पदाधिकारी र सदस्यमा उम्मेदवारी दर्ता भएको छ । पदाधिकारीमा एकल उम्मेदवारी परे पनि सदस्यमा १ जना बढीको उम्मेदवारी परेकामा अर्जुन पौडेलले बुधबार फिर्ता लिएका हुन् ।

निर्वाचन संयोजक थापाका अनुसार आगामी कार्यकाल २०८२/८४ को कार्यसमितिका अध्यक्षमा शालिग्राम भट्टराई, उपाध्यक्षमा यामबहादुर खत्री र सचिवमा प्रकाश शर्मा निर्विरोध भए । सहसचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा सुजाता ढकाल निर्वाचित भएका छन् ।

Advertisement

अध्यक्ष, सचिव र कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउने कांग्रेस निकट डिएलए आबद्ध कानुन व्यवासयी हुन् । उपाध्यक्ष र सहसचिव भने एमाले निकट पिपिएलए आबद्ध हुन् । सदस्यमा डिएलएका ४, आपिएलएका २, पिपिएलएका १ र एसपिएललका भागमा १ जना पर्नेगरी बाँडफाँड गरिएको छ । निर्वाचन समितिका अनुसार लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी र घनश्याम बराल सदस्यमा निर्वाचित भए । महिला सदस्यमा राधा शर्मा (पौडेल) चुनिएकी छन् ।

उच्च अदालत बारमा अहिले ४ सय ५६ जना मतदाता छन् । वरिष्ठ अधिवक्ता थापा संयोजकत्वको निर्वाचन समिति सदस्यमा अनिता गुरुङ र शिवराज वाग्ले छन् ।

Advertisement

तपाईको प्रतिक्रिया