कोरला सडकमा तीव्र निर्माण : भुक्तानी नपाएर योजना अड्कने चिन्ता

सुन्दरकुमार थकाली २०८२ जेठ २७ गते १३:१४

जोमसोम ।
उत्तर–दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको समग्र भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुवातदेखि हालसम्मको ८ वर्षको अवधिमा ४३ वटा योजनाका लागि ७ अर्ब ९० करोड ७० लाख रुपैयाँ ठेक्का सम्झौता गरिसकेको छ, जसमध्ये ६ अर्ब ६४ करोड १८ लाख अर्थात् ८१ प्रतिशत बजेट खर्च भइसकेको छ ।


आयोजना प्रमुख धुव्र झाका अनुसार आयोजनाले पर्वतको मालढुंगादेखि कोरला नाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा योजनाहरू कार्यान्वयनमा ल्याइसकेको छ । सडक र पुल दुवैमा करिब ८५ प्रतिशत भौतिक प्रगति भइसकेको जनाइएको छ ।
सडकतर्फ जोमसोम–कोरला ११० किलोमिटर ग्राभेल मार्गअन्तर्गत ६ वटा खण्ड आयोजनालाई हस्तान्तरण भइसकेका छन् ।

चराङ–छोसेर २५ किलोमिटर सडक निर्माण अन्तिम चरणमा रहेको छ । बेनी–गलेश्वर ३ किलोमिटर कालोपत्रे र बेनी–जोमसोम तेस्रो खण्ड (कैकु–खन्ती) को कालोपत्रे सडक पनि आयोजनालाई हस्तान्तरण भइसकेको छ । गलेश्वर–तातोपानी, तातोपानी–घाँसा र खन्ती–जोमसोम गरी तीनवटा खण्डमा कालोपत्रे कार्य अन्तिम चरणमा रहेको छ ।

Advertisement

गलेश्वर–तातोपानी, तातोपानी–घाँसा र खन्ती–जोमसोम गरी तीन खण्डमा कालोपत्रे कार्य अन्तिम चरणमा छ


बेनी–जोमसोम ७४ किलोमिटर सडकअन्तर्गत तेस्रो खण्ड (कैकु–खन्ती) सडक सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण भइसकेको छ । सो ७४ किमी सडकमध्ये २० किमि सम्पन्न भइसकेको छ भने बाँकी ५४ किमी निर्माणाधीन अवस्थामा छन् ।

Advertisement


२३ वटा पुलपुलेसा योजनामध्ये कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलाका पुलहरू अन्तिम चरणको निर्माणमा छन् । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले विनियोजन गरेको ९० करोड रुपैयाँमध्ये ३१ करोड अन्य योजनामा रकमान्तर गरिएको थियो । बाँकी ५९ करोडमध्ये शतप्रतिशत खर्च भइसकेको र थप ३० करोडभन्दा बढीको बिल भुक्तानी दिन बाँकी रहेको सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।


उनका अनुसार अर्थ मन्त्रालयले १४ करोड थप गरेको भए पनि अझै बजेट अपुग भएकाले थप माग गरिएको छ ।
‘भौतिक प्रगति भइसकेका योजनाको भुक्तानी दिन बजेट पर्याप्त छैन । अर्थ मन्त्रालयले चाँडै सम्बोधन गर्छ भन्ने आशा गरेका छौं, नभए आगामी वर्षका लागि दायित्व बढ्न सक्छ,’ चापागाईंले भने ।


आयोजनाअन्तर्गत पर्वतको मालढुंगा–बेनी १३ किलोमिटर कालोपत्रे सडकको भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर–तातोपानी सडक ९९ प्रतिशत र खन्ती–जोमसोम सडकको प्रगति ९० प्रतिशत छ ।


प्रमुख झाका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्ममा मालढुंगा–कागबेनी १०५ किलोमिटरमध्ये ८५ किलोमिटर सडक कालोपत्रे भइसक्नेछ । राष्ट्रिय गौरवको यो आयोजनाअन्तर्गत आगामी आर्थिक वर्षभित्र थप ८० किलोमिटर सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिने लक्ष्य रहेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया