यस्तो पोखरा चाहन्छ कास्की कांग्रेस

पोखरा ।
पोखराको दीर्घकालीन, समावेशी र नवप्रवर्तनमुखी विकासका लागि नेपाली कांग्रेस, कास्कीले अवधारणा सार्वजनिक गरेको छ ।
कांग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी बिहीबार सो अवधारणा सार्वजनिक गरेको हो । पोखरा महानगरपालिका नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको थियो ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले वडा कार्यसमितिका सभापति, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पर्यटन तथा उद्योग व्यवसायी लगायत विभिन्न क्षेत्रसँग छलफल गरी अवधारणा तयार गरिएको बताए । यो अभियान नेपाली कांग्रेसको नभई समग्र पोखरेलीको भएकाले यसलाई राजनीतिभन्दा माथि उठेर बुझ्न उनको सुझाव छ ।
पाँच सयभन्दा बढी व्यक्तिहरूको प्रत्यक्ष र परोक्ष सहभागिता रहेको छलफलले पोखराको भविष्य निर्माणमा सहकार्य, सुझाव र सहभागिताको उदाहरण प्रस्तुत गरेको सभापति बरालले बताए । शिक्षाको क्षेत्रमा कांग्रेसले ‘एक विद्यालय, एक उद्यम’ भन्ने अवधारणालाई अघि सारेको छ । यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप सिकाउने लक्ष्य राखेको छ । त्यस्तै ‘जीवन सीप प्रयोगशाला’ मार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने दृष्टिकोण लिइएको छ। ‘त्रिकोण शिक्षा परियोजना’ ले शिक्षा, सीप र अवसरबीचको समन्वय कायम गर्ने उनले बताए ।
स्वास्थ्य सेवा पहुँचमा अभाव रहेका क्षेत्रलाई लक्षित गर्दै मोबाइल क्लिनिक नेटवर्कको विषय अवधारणामा उल्लेख छ । पोखरालाई स्मार्ट, हरित र सुशासित सहर बनाउन अवधारणामा स्मार्ट यातायात योजना प्रस्तुत गरेको छ । यस अन्तर्गत नो–कार जोन, इलेक्ट्रिक सवारीसाधनको प्राथमिकता, साइकल र पैदल यात्रुलाई प्रोत्साहन, तथा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रस्ताव गरिएको छ ।
सहरी कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यले वडा स्तरमा कम्पोष्ट मल केन्द्रहरू स्थापना गरिने अवधारणा रहेको छ । यसले फोहोरको उपयोग, हरियाली सहर र पोषणीय कृषि उत्पादनलाई साथ–साथ अघि बढाउने अपेक्षा गरिएको छ ।
पोखराको मौलिक पहिचानलाई जोगाउने क्रममा सांस्कृतिक डिजिटलीकरण, ज्ञान, नवप्रवर्तन र संस्कृति केन्द्रको स्थापना लगायत कार्यक्रमको अवधारणा तयार गरिएको सभापति बरालले बताए । यसले परम्परा र प्रविधि बीचको सहकार्यलाई संस्थागत गर्दै आर्थिक रूपान्तरणमा उद्योग–संस्कृतिको जोड दिने लक्ष्य लिएको छ ।
कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा उत्साह थप्न मेडिकल र वेलनेस टुरिजम केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तथा पोखरा साहसिक खेल महोत्सवजस्ता कार्यक्रम प्रस्ताव गरिएको छ । यी योजनाले पोखराको अन्तर्राष्ट्रियकरण, स्थानीय रोजगारी र साहसिक पर्यटनको प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
फेवातालमा नेपाल सरकार र सर्वोच्च अदालतको आदेशले तोकेको मापदण्ड कार्यान्वयन गर्दा दीर्घकाल देखि ताल किनारमा व्यवसाय गर्दै आएका स्थानीय आधिकारिक व्यवसायिहरुको सामाजिक र आर्थिक अधिकार तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । तालको आकर्षण, पारदर्शिता, सौन्दर्यता र पर्यावरणीय सन्तुलनलाई नविगार्ने गरी नियन्त्रित संरचना भित्र इको रेष्टुरेन्ट, लेक भ्यू डेस्क, ग्रीन क्याफे, सोलार बोटिङ स्टेशन जस्ता सेवाहरु पुनः डिजाइन गरेर संचालन गर्न दिने नीति अवलम्वन गर्नु सभापति बरालले बताए ।
‘गाउँ–सहर साझेदारीमा आधारित उत्पादन चक्र परियोजना’ अवधारणामा अघि सारिएको अर्को महत्वपूर्ण कार्यक्रम रहेको उनले बताए । कास्की कांग्रेसले सार्वजनिक गरेको अवधारणा अध्ययन कुनै औपचारिक रिपोर्टमा सीमित नभई कार्यान्वयनमुखी र दीर्घकालीन सोचमा आधारित रहेको उनले सुनाए ।
यो अवधारणा पोखरा महानगरपालिकालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सघाउने उनले विश्वास गरे । ‘कास्की पोखरा महानगरपालिकासंग सहकार्य गर्न तयार छ । तर सोच बिनाको खर्च, परामर्शविनाको निर्णय र योजना विनाको बजेटको विरुद्ध भने नेपाली कांग्रेसले सशक्त रुपमा आवाज उठाउने छ,’ उनले भने, ‘जनताको कर, जनताको विश्वास र सहरको भविश्यलाई ध्यानमा राखी नीति निर्माण गरिनु पर्दछ । लोकतन्त्रमा सहभागिता आवश्यक छ, निर्णयमा दृष्टिकोण र योजनामा भविष्य देखिनुपर्छ ।’







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया